
नेपाली कांग्रेसले राजावादीहरूको विरोध प्रदर्शनलाई लिएर आत्तिन नहुने निष्कर्ष निकालेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले परिवर्तनका शक्ति र नयाँ दलसमेत परिवर्तित व्यवस्थाको पक्षमा रहेको भन्दै यस्तो निष्कर्ष निकालेको हो ।
परिवर्तनको मुद्दाका रूपमा प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नयाँ दलसँग टाढा नभएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । यसैले तत्काल नै सडकमा उभिएर शक्ति प्रदर्शनको आवश्यकता नभएको निष्कर्ष कांग्रेसको छ । ‘हामीले शक्ति प्रदर्शनको प्रतिस्पर्धा गर्न आवश्यकता ठानेका छैनौं । जनता संविधानको पक्षमा उभिएका छन् । कुनै पार्टीहरूले प्रदर्शनको निर्णय गर्न सक्छन् । तर कांग्रेसले तत्काल सडकमा उभिएर आफ्नो कुरा राख्नुपर्ने ठान्दैन,’ डा. महतले भने, ‘संविधानलाई दृढताको साथ समर्थन गर्ने र पार्टी पंक्तिलाई सुसूचित गर्ने पक्षमा छौं । गणतान्त्रिक संविधानका पक्षमा नयाँ दलले प्रतिवद्धता जाहेर गरेका छन् । सरकारमा बस्ने, विपक्षमा बस्नेले पनि प्रतिवद्धता जाहेर गरेपछि र स्वःस्फूर्त मुद्दा मिलेपछि मोर्चा गठनको आवश्यकता छ भन्नेमा हामी छैनौं । बाहिरबाट परिवर्तन आउन सम्भव छैन ।’
बैठकले संविधानको खिलाफमा कुरा उठे पनि जनता संविधानकै पक्षमा उभिएको निष्कर्ष निकालेको छ ।
‘सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट गणतान्त्रिक संघीय संविधान बनेको हो । कार्यसम्पादन समितिले यसप्रति पूर्ण प्रतिवद्धता जाहेर गर्यो । संघीय लोकतान्त्रिक संविधानमार्फत जनताको आवश्यकता, समस्या, महत्वकांक्षा सम्बोधन गर्न सकिने विश्वास व्यक्त गरेको छ,’ बैठकपछि प्रवक्ता डा. महतले भने, ‘संविधानको खिलाफमा कुरा उठेको छ । जनताले बनाएको संविधान, निर्वाचित गरेको संसद् छ । जे सम्बोधन गर्नुपर्छ । संसद्बाट हुन्छ । बाहिरबाट केही हुँदैन । संविधानको पक्षमा समग्र जनता उभिएका छन् ।’
सहमहामन्त्री महेन्द्र यादवले हालसालै आएको स्ववियु चुनावको नतिजाले पनि युवाहरू संविधान र अहिलेको व्यवस्थाको पक्षमा रहेको सन्देश दिएको बताए । ‘युवाको भावना स्ववियु चुनावमा मुखर भएको छ । देशका युवा संविधान र व्यवस्था, गणतन्त्रप्रति प्रतिवद्ध छन् भन्ने आवाज, आधिकारिक धारणा स्ववियु चुनाव हो । जसमा नेविसंघ पहिलो स्थानमा आएको छ,’ यादवले भने, ‘देशैभर राप्रपाले जम्मा एक ठाउँमा जित्यो । तर, राजावादीहरूले नचाहिँदो हल्ला गरेका मात्रै हुन् भन्ने हाम्रो निष्कर्ष हो ।’
पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पार्टी सभापति शेरबहादुर देउवाले आइतबार नै दिएको अभिव्यक्तिप्रति कांग्रेस कार्यसम्पादन समितिका सदस्यहरूले एक स्वरमा समर्थन जनाएका छन् ।
आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सभापतिको धारणा नै पार्टीको धारणा भएको निष्कर्ष निकालेको प्रवक्ता डा. महतले जानकारी दिए । ‘हाम्रो सभापतिले आइतबार बिहान बागमती प्रदेशको प्रशिक्षणको क्रममा महत्त्वपूर्ण दृष्टिकोण सार्वजनिक गर्नुभएको छ । त्यसलाई सञ्चार माध्यमले गम्भीरताको साथ हेर्नुहोला, मनन गर्नुहोला । त्यसबाट पनि हाम्रो कुरा स्पष्ट हुन्छ,’ प्रवक्ता महतले भने ।

पार्टी सभापतिको भनाइलाई सबैले एकस्वरले समर्थन गरेको बैठकमा सहभागी सहमहामन्त्री यादवले बताए । ‘हाम्रो कार्यसम्पादन समितिका सदस्यहरूले एकस्वरले सार्वभौमसत्ता सम्पन्न नागरिकको मतमा बनेको संविधानको व्यवस्थाप्रति कांग्रेस पूर्णप्रतिवद्ध रहेको बताउनुभएको छ । गणतन्त्र र संविधानका व्यवस्थाप्रति कांग्रेस एकढिक्का छ,’ यादवले भने, ‘आज बिहान हाम्रो सभापतिले ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन् बरु राप्रपाको सभापति बन्न चुनौती दिनुभयो । सभापति बोलेको विषय ठीक हो भने सबै साथीहरूले भन्नुभयो ।’
नेता डा. शेखर कोइरालाले पार्टी अनुशासनको कारवाहीको विषयमा एउटै मापदण्ड बनाउनुपर्ने बताएका थिए । ‘अनुशासनको कारबाही गर्ने हो वा सबैलाई माफी मिनाहा गरेर जाने हो एउटा टुंगोमा पुगौं,' बैठकमा शेखरले भने, ' सधैं अड्काउने कुराले राम्रो भएन ।’
नेता अर्जुनरसिंह केसीले कुरा उठाएपछि सभापति देउवाले महाधिवेशन समयमै हुने बताएका थिए । ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि अलमल नराख्नुस्,’ देउवाले भने, ‘महाधिवेशन समयमै हुन्छ ।’
शक्ति प्रदर्शनको आवश्यकता परे सभापतिले समन्वय गरेर केही ठूला शहरमा आमसभाको कार्यक्रम राख्नेबारे पनि छलफल भएको सहमहामन्त्री यादवले जानकारी दिए । ‘ठूलो शहरमा कांग्रेसले आमसभा गर्ने भन्नेमा पनि छलफल भएको छ । तर सभापतिले यस विषयमा आवश्यक परामर्शपछि टुंगो लगाउनुहुन्छ,’ यादवले भने, ‘विराटनगर, काठमाडौं, जनकपुर, पोखरा, सुर्खेतजस्ता ठूला शहरमा आमसभा गर्ने विषय उठेको छ ।'
बैठकमा सरकारको कामलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । ‘सरकारका कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ । जनताको आवश्यकता सम्बोधन गर्न कहीं कतै कसर राख्न नहुने, सुधार गरेर जानुपर्नेमा कांग्रेस छ,’ प्रवक्ता महतले भने ।
बैठकमा कांग्रेस नेताले केसीले जनतामा देखिएको असन्तुष्टि व्यवस्थाभन्दा पनि अवस्था नफेरिएपछिको स्थिति रहेको बताए । ‘सडकको कोलाहल भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, विधिविहीनता र दण्डहीनताको एकमुस्ट जनआक्रोश हो । यो वर्तमान व्यवस्थाविरुद्ध भन्दा पनि अवस्था विरुद्धको आवाज हो,’ केसीले भने, ‘आक्रोशित जनतालाई आकर्षित गर्न अब भाषण र प्रतिक्रियाले मात्र पुग्दैन, यी विकृतिको कठोरताका साथ अन्त्य गर्ने युद्धस्तरीय कार्यक्रमले मात्र सम्भव छ ।’
कांग्रेस बैठकले अधिवेशन नभएका भ्रातृ संस्थाबारे केही समयमा बस्ने केन्द्रीय समितिले आवश्यक निर्णय लिने पनि जनाएको छ ।
बैठकमा आरजुको खोजी
कार्यसम्पादन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको खोजी भएको थियो । लामो भारत भ्रमणबाट फर्किएपछि आरजुले नेपालमा सरकार परिवर्तनबारे भारतले कुनै चासो नदिएको अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिपछि कार्यसम्पादन समितिमा केही सदस्यले ‘परराष्ट्रमन्त्री पनि आएको भए हुने’ भनेका थिए । ‘परराष्ट्रमन्त्री कार्यसम्पादन समितिमा हुनुहुन्न तर उहाँको अभिव्यक्तिपछि अर्जुनरसिंह केसीले उहाँ पनि बैठकमा आएर बिफ्रिङ गरेको भए हुने थियो भनेर कुरा उठाउनुभयो,’ कांग्रेसका एक नेताले भने ।