
विश्वकप २०२६ को फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि मैदानमा भएका विवाद र हातहालहालका घटनालाई लिएर अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अर्जेन्टिनी खेलाडीहरूविरुद्ध औपचारिक अनुसन्धान शुरू गरेको छ।
सोमबार मेटलाइफ स्टेडियममा भएको तनावपूर्ण फाइनल खेलमा १० खेलाडीमा सीमित अर्जेन्टिना एक्स्ट्रा टाइममा स्पेनसँग पराजित भएको थियो। तर, खेल सकिएलगत्तै स्पेनिस खेलाडीहरूले विजय उत्सव मनाउने क्रममा अर्जेन्टिनी खेलाडीहरूसँग मैदानमै झडप भएको थियो।
भिडियो रिप्लेहरूमा अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो पारेदेस, डिफेन्डर नह्युएल मोलिना, रोबर्टो आयाला र थियागो अल्माड लगायत खेलाडीहरू स्पेनिस खेलाडीहरूसँग नोकझोंकमा उत्रिएको देखिन्छ।
अन्तिम सिट्ठी बजेलगत्तै लियोनेल मेसीसहित केही अर्जेन्टिनी खेलाडीहरू निराश हुँदै मैदानमा निराश भएर बसेका थिए भने स्पेनका खेलाडीहरू खुसीयाली मनाउन दौडिएका थिए। एक्स्ट्रा टाइममा सब्स्टिच्युट भई बेन्चमा बसेका स्पेनिस कप्तान रोड्री आफ्ना साथीहरूसँग खुसी साट्न मैदान छिर्ने क्रममा अर्जेन्टिनाका डिफेन्डर नह्युएल मोलिनाले उनलाई पेट वा हातमा मुक्का प्रहार गरेको देखिएको छ।
यस घटनापछि स्थिति झनै तनावपूर्ण बनेको थियो। रोड्रीले प्रतिवाद गरेपछि अर्जेन्टिनाका अन्य खेलाडीहरू पनि जाइलागेका थिए। पारेदेसले स्पेनका डिफेन्डर एरिक्स गार्सियाको घाँटी समातेर धकेलेका थिए भने विवाद साम्य पार्न आएका १८ वर्षीय खेलाडी गाभीको अनुहारमा हात हाल्दै उनलाई भुइँमा पछारिदिएका थिए।
अर्कोतर्फ, अर्जेन्टिनाका रोबर्टो आयालाले गार्सियाको घाँटी समातेको र स्पेनका मिडफिल्डर दानी ओल्मोलाई प्रहार गरेको दृश्यमा देखिएको छ। स्थिति नियन्त्रण बाहिर जान लागेपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी र अन्य प्राविधिक टोलीले खेलाडीहरूलाई छुट्ट्याएर साम्य पार्ने प्रयास गरेका थिए।
विवाद मैदानमा मात्र सीमित रहेन। स्पेनिस टोलीले अर्जेन्टिनी खेलाडीहरूलाई पदक लिन जाँदा 'गार्ड अफ अनर' दिएर सम्मान प्रकट गरेका थिए। तर, जब विजेता स्पेनिस टोली ट्रफी उचाल्न मञ्चमा पुग्यो, अर्जेन्टिनाका खेलाडीहरू भने मञ्चतर्फ पीठ फर्काएर आफ्ना समर्थकतिर उभिएका थिए। नयाँ विश्व विजेताप्रति दर्शाइएको यो व्यवहारलाई पनि धेरैले खेल भावनाविपरीतको असम्मानका रूपमा लिएका छन्। यद्यपि, अर्जेन्टिनी प्रशिक्षक स्कालोनीले खेलपछिको अन्तर्वार्तामा घटनालाई साम्य पार्ने प्रयास गर्दै जितमा जस्तै हारमा पनि टोली संयमित र शलीन हुनुपर्ने र आफूहरूले हार स्वीकार गरेको प्रतिक्रिया दिएका थिए।
फिफाले जारी गरेको विज्ञप्तिमा अनुशासन समितिले खेलपछिका घटनाहरूसँग सम्बन्धित अनुशासन संहिताको सम्भावित उल्लङ्घनको अनुसन्धान गर्न एक 'अनुशासन र नैतिक अभियोजक' नियुक्त गरेको जनाएको छ। फिफाको अनुशासन संहिताको धारा १३ अनुसार अभद्र व्यवहार र 'फेयर प्ले' को सिद्धान्त उल्लङ्घन गरेको खण्डमा कडा कारबाही हुन सक्छ। यदि खेलाडी वा अर्जेन्टिनी फुटबल सङ्घ दोषी ठहरिएमा, उनीहरूमाथि विश्वभर लागु हुने गरी प्रतिबन्ध वा भारी जरिवाना लाग्न सक्छ।
यसअघि पनि फिफाले यस्तै धारा प्रयोग गरेर स्पेनिस फुटबल महासङ्घका तत्कालीन अध्यक्ष लुइस रुबियालेसलाई ३ वर्षको प्रतिबन्ध र सन् २०१४ को विश्वकपमा इटालियन डिफेन्डरलाई टोकेबापत लुइस सुआरेजलाई ४ महिनाको पूर्ण प्रतिबन्ध लगाएको थियो। यद्यपि, पारेदेस वा मोलिनाले सुआरेज जत्तिकै लामो प्रतिबन्ध भोग्नुपर्ने सम्भावना भने कम रहेको विश्लेषण गरिएको छ।