
विद्यार्थी राजनीति विद्यार्थीहरूको हक, अधिकार, सीप विकास, व्यक्तित्व निर्माण, शैक्षिक गुणस्तर सुधार, शिक्षा नीति परिमार्जन र विद्यार्थीका समस्या समाधानको माध्यम हुनुपर्छ ।
यदि कुनै विद्यार्थी संगठनले यी विषयलाई सम्बोधन गर्न सक्दैन भने उसले विद्यार्थी राजनीति गरेको भन्न मिल्छ त? आजका विद्यार्थी संगठनहरूले यी विषयलाई मुद्दाका रूपमा उठाइरहेका छन्? कि उनीहरूले यी विषयहरूलाई पर्दापछाडि धकेलेर स्ववियु निर्वाचनलाई दलहरूको शक्ति प्रदर्शनको माध्यम मात्र बनाएका छन्?
हिंसा, त्रास, तोडफोड र धम्कीको सहाराले गरिने कुनै पनि गतिविधि विद्यार्थी राजनीतिका नाममा क्षम्य हुनुहुँदैन । यस्तो गर्न उनीहरूलाई कसले प्रेरित गरिरहेको छ? हाम्रा विद्यार्थी संगठनहरूले केवल यिनै विषयमा ध्यान दिइरहेका छन् । सिर्जना र उत्पादनको दृष्टिकोणबाट हेर्दा उनीहरूको भूमिका शून्य देखिन्छ । नयाँ विचार र दृष्टिकोण निर्माणमा उनीहरू केन्द्रित भएको देखिँदैन ।
आजका विद्यार्थी संगठनहरू विध्वंश र अराजक गतिविधिमा संलग्न छन् । यो उनीहरूको त्रुटि मात्र हो कि यसमा दलहरूको समेत संलग्नता छ? किन दलहरूले यस्ता गतिविधिमा अंकुश नलगाएर उनीहरूलाई उचालिरहेका छन्? उनीहरू भविष्यका लागि कस्तो राजनीतिक नेतृत्व जन्माउन चाहन्छन्? विद्यार्थी राजनीतिमा विमर्श गर्नुपर्ने महत्वपूर्ण प्रश्नहरू यिनै हुन् ।
प्रायः विद्यार्थी संगठनका अराजक र विध्वंशकारी गतिविधि मात्र चर्चामा आउँछन् । विद्यार्थी संगठनहरूले पुस्तकालय जलाउने कि नयाँ पुस्तकालय स्थापना गर्ने हो ? कसले आफ्ना प्राध्यापकलाई थर्काउँछ ? शिक्षकलाई कसले पिट्छ? यी र यस्ता घटनाहरू मात्रै चर्चामा रहन्छन् ।
शिक्षाको गुणस्तर सुधार्न सबै मिलेर अगाडि बढ्नुपर्ने ठाउँमा अन्य अराजक गतिविधिमा संलग्न गराउने काम कसले गरिरहेको छ? विद्यार्थी संगठनहरूले विद्यार्थीको आवाज दबाउने होइन, उनीहरूको हितका लागि संघर्ष गर्नुपर्छ । आफ्ना एजेन्डाहरू उनीहरूले आफैं उठाउनुपर्छ र अन्य बौद्धिक व्यक्तित्वहरूले पनि आवाज उठाउनुपर्छ । तर, अहिले विद्यार्थी संगठनहरू पार्टीका गोटी मात्र बनिरहेका छन् ।
यदि कुनै विद्यार्थी संगठनले शिक्षालयमा अशान्ति मच्चाउँछ, शैक्षिक वातावरण ध्वस्त पार्छ र विद्यार्थीहरूको भविष्य अन्धकार बनाउँछ भने त्यो विद्यार्थी राजनीति होइन, केवल हिंसा हो र त्यसलाई रोक्नुपर्छ ।
विद्यार्थी राजनीति नेतृत्व विकासका लागि हो कि आतंकको खेतीका लागि? आज के भइरहेछ? विद्यार्थी राजनीतिले समाजका लागि जिम्मेवार, सचेत र योग्य नेतृत्व जन्माउनु पर्छ, न कि आतंक र भयको वातावरण । यदि विद्यार्थी राजनीतिले विद्यार्थीकै उन्नति गर्दैन भने त्यसलाई विद्यार्थी राजनीति भन्न मिल्दैन । त्यसैले, हामीले राजनीति र गुण्डागर्दीबीचको रेखा स्पष्ट छुट्याउनुपर्छ । के हामी विद्यार्थीहरूलाई राजनीति सिकाइरहेका छौं, कि गुण्डागर्दीको पाठ पढाइरहेका छौं?
विश्वविद्यालय केवल शैक्षिक संस्था मात्र होइन, यो थलो विद्यार्थीहरूले आफ्नो जीवनलाई नयाँ दिशा दिने ठाउँ हो । स्वतन्त्र रूपमा सोच्ने क्षमता विकास गर्ने, ज्ञान तथा सीप हासिल गर्ने अवसर हो । यसले विद्यार्थीहरूलाई आफ्नो रुचि, प्रतिभा र क्षमताअनुसार अगाडि बढ्ने वातावरण दिनुपर्छ । यही वातावरण निर्माणका लागि विद्यार्थी संगठनहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । तर, नेपालका विश्वविद्यालयहरूमा राजनीतिका नाममा महिनौंसम्म पठनपाठन ठप्प हुने, तालाबन्दी गर्ने जस्ता गतिविधि भइरहेका छन् । निर्वाचनका बेला त झन् काटमार, ग्याङ फाइट भइरहेका छन् । यस्तो वातावरणमा हुर्किरहेका विद्यार्थीहरूले भविष्यमा कस्तो नेतृत्व दिन सक्लान्?
स्वतन्त्रता विश्वविद्यालयको अर्को महत्त्वपूर्ण तत्व हो । ज्ञानको संसार खुला हुनुपर्छ, जहाँ विद्यार्थीहरूले प्रश्न गर्न, तर्क गर्न, बहस गर्न र नयाँ विचारहरू सिर्जना गर्न पाउनुपर्छ । विचारको स्वतन्त्रताविना शिक्षा अधुरो हुन्छ । जब विश्वविद्यालयमा अभिव्यक्तिको स्वतन्त्रता कुण्ठित हुन्छ, तब शिक्षा एकतर्फी मात्र रहन्छ, जसले समाजलाई परिवर्तन गर्न सक्दैन । अराजक गतिविधि रोक्नुपर्छ भन्नुको अर्थ यो होइन कि विश्वविद्यालयमा राजनीति निषेध गरिनुपर्छ ।
विद्यार्थीहरूले राजनीतिक स्वतन्त्रताको अध्ययन गर्नुपर्छ, वृहत्तर चेतना निर्माण गर्नुपर्छ । विश्वविद्यालयमा राजनीतिक विचार, विचारधारा र दर्शनमाथि विमर्श चल्नुपर्छ, जहाँ प्राध्यापक र विद्यार्थीहरूमाझ हुने छलफलले मूलधारको राजनीतिलाई दिशानिर्देश गरोस् । तर, अहिले विश्वविद्यालयहरू रणमैदान बनेका छन् ।
शिक्षा विश्वविद्यालयको मूल उद्देश्य हो । तर, शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनुहुँदैन । विश्वविद्यालयले विद्यार्थीहरूलाई वैज्ञानिक चिन्तन, सामाजिक चेतना, सिर्जनात्मकता र नैतिक मूल्यहरू सिकाउनुपर्छ । यस्तो सिकाइको वातावरण निर्माणमा विद्यार्थी संगठनहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ । विश्वविद्यालयको सिकाइ केवल परीक्षा पास गर्न वा डिग्री हासिल गर्नका लागि मात्र नभई व्यक्तिगत र सामाजिक रूपान्तरणको साधन बन्नुपर्छ । यदि सिकाइले परिपक्व मानव निर्माण गर्न सक्दैन भने, त्यो सिकाइ निरर्थक हुन्छ ।
विश्वविद्यालयले विद्यार्थीहरूलाई जीवनको ज्ञान दिनुपर्छ, स्वतन्त्र विचारधारा विकास गर्नुपर्छ र गहिरो रूपमा सिक्ने अवसर दिनुपर्छ । जब विश्वविद्यालयहरूले स्वतन्त्रताको सही मूल्य सिकाउन सक्दैनन्, असल नागरिक निर्माण गर्ने ज्ञान र दर्शन दिन सक्दैनन्, जीवनको अर्थ बुझाउन सक्दैनन् भने ती विश्वविद्यालय होइनन्, सपना चकनाचुर गर्ने ठाउँ मात्र हुन्छन् ।
स्ववियु चुनावले नेतृत्व प्रदान गर्न सक्यो कि सकेन? विद्यार्थीहरूको समस्या समाधान गर्ने नेतृत्व जन्मायो कि हिंसा र अराजकता फैलाउने कार्यकर्ता ? यी प्रश्नहरूमा विद्यार्थीहरू र विद्यार्थी नेताहरूले गम्भीर रूपमा सोच्नुपर्छ । विद्यार्थी राजनीति नेताहरूको अवसरवाद, सत्ता समीकरण र शक्ति प्रदर्शनको खेल बन्नुहुँदैन ।
शिक्षा र नेतृत्व विकासको आधारशीला बन्नुपर्छ । जब राजनीतिक दर्शन, सिद्धान्त र विचारधारा अध्ययन गर्नुपर्ने समयमा अराजक गतिविधि भइरहन्छन्, तब स्ववियु राजनीतिबाट असल नेता जन्मने अपेक्षा राख्न सकिँदैन ।