
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पेस गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।
नयाँ नियुक्तिविरुद्ध परेको रिटभन्दा पहिले पुरानो मुद्दा टुंगो लगाउन माग गर्दै रिट लिएर शाक्य सर्वोच्च अदालत पुगेका थिए ।
बुधबार पेस गरिएको रिट रुजु गरेर बिहीबार दर्ता गरिएको हो । प्राधिकरणबाट बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले दर्ता गरेको रिट पनि बिहीबार नै दर्ता भएको छ ।
आफूलाई हटाउने तत्कालीन सरकारको निर्णय खारेजीको माग गर्दै शाक्यले २०७८ सालमा रिट दर्ता गरेका थिए । तर, सो मुद्दा ४ वर्षसम्म टुंगोमा पुग्न सकेको थिएन । प्राधिकरणमा नेतृत्व परिवर्तनको विषय समान प्रकृतिको मुद्दा भएकोले चार वर्ष पुरानो मुद्दा पहिला टुंग्याउनुपर्ने मागदाबी शाक्यले गरेका छन् ।
यो रिटमा शुक्रबारको लागि पेसी तोकिएको शाक्यका एकजना वकिलले लोकान्तरलाई जानकारी दिए । कुलमानले दर्ता गरेको रिटको पेसी पनि शुक्रबारको लागि तोकिएको छ ।
यो पनि पढ्नुहोस्- कुलमानभन्दा अगाडि हितेन्द्रदेव पुगे सर्वोच्च, पहिला पुरानो मुद्दा किनारा लगाउन माग