
राजतन्त्रको समय । सशस्त्र द्वन्द्व उत्कर्षमा हुँदाको बेला । हजारौं नागरिक लोकतन्त्रका लागि सडकमा उत्रिँदा, व्यवस्था परिवर्तनका लागि सबै एक ठाउँ उभिँदा, बालमष्तिष्कले कैद गरेर स्मरणमा राखेका यी कुनैपनि घटना प्रत्यक्ष याद छैन मसँग । एक पटक घरबाट केही पर बन्दुक पड्किँदा आवाज सुनेको भने थिएँ । अर्को, आमासँग स्याङ्जा बजार पुग्नु अगाडि सुरक्षाकर्मीको आदेशमा गाडीबाट झरेर केही मिनेट हिँडेको अनुभव छ । धूमिल स्मरणमा छन्, यी दुई घटना मेरो बालमष्तिष्कको तिजोरीबाट । डाँडापारीतिर राँको बाल्दै हिँडिरहेको आकृति हो कि होइनसरी स्मरणमा छन् मलाई ।
२०६२/२०६३ को जनआन्दोलनमा सडकमा नभएपनि त्यसको अर्थ, महत्त्व र सम्मान गर्ने जेनजी पुस्ताको एक समूह छ । तर, सामाजिक सञ्जालको सहायतामा साइबर सेना खडा पारेर नयाँ पुस्ताको मनोविज्ञानसँग खेल्ने काम जुन तरिकाले भइरहेको छ, त्यसलाई अभिचारकर्मको ‘मोडिफाइ’ स्वरूप ठान्छु ।
एक मिनेटको रिल यसरी प्रस्तुत गरिन्छ, मानौं राजतन्त्र स्वर्णयुग थियो । लोकतन्त्रले देशलाई श्रीलंका बनाइसक्यो । सामाजिक सञ्जालका एल्गोरिदमले अराजकतालाई यसरी उक्साएको छ कि बंगलादेशको जस्तो आन्दोलन हाम्रा लागि ‘फिट’ हो । फिटको यही मनोविज्ञानले हिट पाउँछ सामाजिक सञ्जालमा ।
राजतन्त्र? जेनजी धेरैलाई यो शब्द सुन्दा कुनै ‘रेट्रो ब्यान्ड’को नाम जस्तो लाग्छ । राजाको शासन-‘फ्लप सिरिज’ पुनः प्रदर्शन गर्न खोजेर स्वार्थको लोभमा रैतीले उल्टै सार्वजनिक सम्पत्ति जलाएर देशलाई करोडौं नोक्सानी पारिदिए । दुई जनाले त्यो अराजकतामा परेर ज्यान गुमाए । सञ्चारगृहलाई निशानामा पारेर तोडफोडमा उत्रिए ।
मैले कखरा सिकेर अक्षर जोड्न सिक्दै गर्दा उनै ज्ञानेन्द्र शाहको निर्देशनमा सञ्चारगृहमा तत्कालीन शाही सेना सुपर सम्पादकको रूपमा समाचार कक्षमा हुन्थे । तर, ज्ञानेन्द्रले शुक्रबार पुनः एकपटक आफ्नो मुखुन्डो उतारे, सञ्चारगृहमा निशाना लगाएर । उनकै बोलीले उक्सिएको राजावादी गतिविधिका कारण फिल्ड रिपोर्टिङमा खटिएका पत्रकारको ज्यान गुम्यो । अराजक भीडद्वारा गरिएको हत्या थियो त्यो । अनि, हामीले मानिदिनुपर्ने ? उनको तन्त्रमा समृद्धि पाइन्छ भनेर । कस्तो कुतर्क यार साथी !
हातमा स्मार्टफोन लिएर हुर्केको पुस्ता हामीले ग्लोबल्ली हेर्छौं हरेक कुरा । हाम्रा आकांक्षा यही हेराइले गर्दा महत्त्वकांक्षी बन्न पुगेका छन् । धैर्यता कम भएको हाम्रो पुस्तालाई परिणाम उत्तिखेरै चाहिन्छ । इतिहासको पाना पल्टाउन बिर्सिएका हामीले पनि कमजोरी गरिरहेका छौं । २००७ देखि २०६२ सम्म आइपुग्दा भएको संघर्षले पाएको वाकस्वतन्त्र हो यो । जहाँ प्रत्येक नागरिकको अधिकार सुनिश्चित छ । तर, ‘जेनजी’को अधैर्य र महत्त्वकांक्षा मनोविज्ञानलाई प्रयोग गरेर राजावादी आफ्नो तीर चलाइरहेका छन् । एउटा फेसबुक पेजले ‘वाह! क्रेज अफ ज्ञानेन्द्र’ राखेको पोष्टले अप्रत्यक्ष तरिकाले उक्साएको छ राजावादी गतिविधिलाई । त्यसैमा लाइक थिचेर साथ दिइरहेका छौं हामी पनि ।
एक मिनेटको भिडियोमा ‘स्वर्णयुग’को सपना बेच्दैछन् राजावादी । प्रो–मोनार्किष्ट, हामीलाई थाहा छ- तिमीहरू जुन ‘राजाको नेपाल’ प्रोपोगाण्डा बेचेर आफ्नो स्वार्थ पूरा गर्ने धाउन्नमा छौं यसको परिणामा उल्टो बाटो हिँड्नु हो । शौच गर्दा समेत फोन चाहिने हाम्रो पुस्तालाई राम्रोसँग थाहा छ ज्ञानेन्द्रले ‘कू’ गर्दाको समयमा महिनौं दिनसम्म सञ्चार सेवा बन्द गरेको ।
फोनमा झुण्डिरहने पुस्ताले स्क्रोलमार्फत् नै थाहा पाइरहेको छ १९५० दशकसम्म नेपाल ‘आइसोलेटड कन्ट्री’ मानिन्थयो । सोचेजस्तो जेनजी पुस्ता, मोबाइल फोन र रिलको भरमा संसार बुझ्न हिँडेको युवा त्जथा पनि होइन । जेनजीको हातमा स्मार्टफोन छ । पञ्चायतमा जसरी यो तन्त्रमा लेख्ने र जान्ने मान्छे सत्ताको निशानामा पर्दैनन् । लोकतन्त्रले दिएको देन मान्छेहरू आफ्नो आलोचनात्मक विचर सहित पुस्तक प्रकाशन गर्न पाउँछन् र त्यही ऐतिहासिक पुस्तकमा हाम्रो सहज पहुँच छ ।
रिल एडिट गरेर पोष्टयाउन मिल्छ । तर, इतिहासलाई एडिट गरेर फिल्टर हाल्न मिल्दैन । त्यसलाई सुन्दर बनाउने टेक्नोलोजी छैन । ‘अब समय आइसक्यो’ भनेर राजावादी गतिविधिलाई उक्साउने ज्ञानेन्द्र शुक्रबारको हिंसामा उत्तिकै दोषी छन् । उदारताले सेवा सुविधासहित आराम जीवनशैली पाइरहेका ज्ञानेन्द्रले नागरिकको सामान्य जिम्मेवारी समेत निर्वाह गर्न सकेनन् । ज्ञानेन्द्रलाई पूर्वराजा समेत भन्न रुचाउन्नँ । संघीय लोकतान्त्रिक गणतन्त्रका नागरिकको रूपमा भने सम्मान थियो । तर, त्यो पनि शुक्रबारको घटनाका कारणा गुमाइसके ।
त्यसैले पनि चैत १५ को हिंसामा उनको पनि जिम्मेवारी भएकाले कानूनी दायरामा उनलाई समेत उभ्याउनुपर्छ । जसरी रवीन्द्र मिश्र लगायत पक्राउ परे, उसैगरी राजतन्त्र फर्काउने मोह कसेका ज्ञानेन्द्रलाई समेत कठघरामा ल्याइनुपर्छ । ‘जेनजी’को सरकारसँग अपेक्षा हो यो । हाम्रा समस्या यही अपेक्षामा भए । विश्व हातमा लिएर हिँडेका हामीले साउथ अफ्रिका, पेरु लगायतका पूर्वराष्ट्रपति कानूनी कठघरामा उभिएका सुनेका छौं । यसले हाम्रा अपेक्षालाई ह्वात्तै बढाउँछ । कानूनी राष्ट्रमा सबै बराबर मानिन्छ भन्ने विश्वासमा हामी सुशासन चाहान्छौं । तर,सत्ता साझेदारीमा रुमलिएका राजनीतिक दल आफ्नो स्वार्थ अनुरूप काम गर्छन् । राजनीतिक दलको स्वार्थ, नागरिकको समस्या समाधानसँग मेल खाँदैन । यही बेमेलले सरकारको कार्यप्रति उकुसमुकुस भएर बसेको छ यो पुस्ता ।
शुक्रबार काठमाडौंको सडकमा भएको अराजक गतिविधिको जिम्मेवारी जसरी राजनीतिक दलले राजावादीलाई थोपरेका छन् । यसमा भागेदार राजनीतिक दलसमेत छन् । यिनकै स्वार्थका कारण कुण्ठित भएर बसेका नागरिकको मनोविज्ञानसँग खेलेर राजावादी समूहले प्रयोग गरिरहेको छ । यो जेनजी पुस्ता सबैलाई प्रश्नको कठघरामा उभ्याएर हेर्छ । हामी न एक मिनेटको रिल हेरेर तिम्रो राजावादी विचारलाई समर्थन गर्छौं। न मिडिया हाउसले आफ्ना स्वार्थ अनुसार पस्किएका सामग्री पढेर कुनै अमुक दललाई मात्र वाहवाही दिन्छौं ।
शुक्रबारको घटनामा सुरक्षा संयन्त्रबाट भएको चुकलाई नजरअन्दाज गर्न समेत सकिँदैन । शब्दैपिच्छे अराजक वाणी ओकल्ने दुर्गा प्रसाईं नेतृत्वको राजावादी समर्थित प्रदर्शन शान्तिपूर्ण हुन्छ भन्ने कसरी मान्यो सुरक्षा निकायले ? गणतन्त्रवादी र राजावादी प्रदर्शनकारीबीच सम्भावित द्वन्द्व रोक्ने रणनीतिमा अल्झिएको सुरक्षा संयन्त्रले प्रदशर्नकारी भन्दा दोब्बर संख्यामा खटिएर पनि क्षति न्यूनीकरणमा काम गर्न सकेन ।
उसै त स्रोतसाधन कम छ, भएका स्रोतसाधन निसास चलिरहेका छन् । त्यसैमा आगो सल्काएर कस्तो विकास ल्याउन खोजेका हुन् कुन्नि यी रैतीले ? खासमा राष्ट्रको नेतृत्व चलाइरहेका शीर्ष नेतादेखि नेतृत्वको लोभमा दंगा मच्चाएका विशिष्ट नागरिक ज्ञानेन्द्रको आराम गर्ने उमेर भएको उहिल्यै हो । ‘बा’ तपाईंहरूलाई नातीनातिना पुस्ताको आग्रह छ- रिटार्यड लाइफ बाँच्नुहोस् ।
समृद्ध नेपालको मोहमा ज्यानमा राष्ट्रको झण्डा बेरेर बियरको बोत्तल चोरेका युवा इतिहासको पाना पल्ट्याउँ । हातमा भएको स्मार्टफोनले स्मार्ट विषय हेर । सामाजिक सञ्चालको एल्गोरिदममा आफ्नो चेतना नगुमाउँ । २१ औं शताब्दीमा आएर वंशवाद शासनले राष्ट्र समृद्धि हुन्छ भन्ने कतिसम्म पटमूर्खता हो । वंशवादको शासन कुन मगजले स्वीकार गर्न तयार छौं यार !
ताजुब त के छ भने जसको अग्रसतामा १५ गते मानवीय र भौतिक क्षति भयो त्यसबाट यी राजावादीले पाठ सिकेका छैनन् । उल्टै सरकारलाई खुलेआम धम्काउँदै चुनौती दिइरहेका छन् । पारसको झल्को आउने गरी जुन अराजक शैलीमा दुर्गा प्रसाईंले सुरक्षामा खटिएका प्रहरीमाथि गाडी चढाउने गरी अघि बढे त्योबारे यी समूह मौन छन् । शुक्रबार साँझबाट नै अराजकताको जिम्मेवारी शाहलाई समेत बनाउनुपर्छ भन्ने आवाज उठ्न थालेपछि राजेन्द्र लिङ्देन चुनौती दिँदै छन्- ज्ञानेन्द्रलाई पक्राउ गरेर मात्र देखाओस् न भन्दै ।
राजावादी कहलिँदै आफ्नो स्वार्थका लागि गणतन्त्रको फाइदा उठाएका लिङ्देन र उनका समूह जनप्रतिनिधि छन् । सरकारमा समेत गए । अचम्म लाग्छ जो व्यवस्थालाई गाली गर्दै यही व्यवस्थाले दिएको सुविधा लिन छाडेका छैनन् ।
स्वार्थ पूरा गर्न लिङ्देन प्रचण्ड, ओली र देउवा यी तीनैको हात समाउन जाने प्रवृत्तिका दोगला चरित्र बोकेका मान्छे हुन् । बेलाबेला राजावादीको विषय उठाएर स्वार्थ पूरा गरिरहेका उनी लगायत समूहलाई उछिनेर एकाएक विवादित छवि बनाएका प्रसाईं ज्ञानेन्द्रको ‘भित्रिया’ बन्न पुगे । राजकीय शासनमा ज्ञानेन्द्रको कदम जति कच्चा इतिहासले देखाएको थियो । वर्तमानमा उनको राजनीतिक चेत समेत फितलो रहेको त प्रसाईंलाई लट्ठी बनाएपछि थाहा भइहाल्यो नि ! खराब ऋणीको सूचीमा परेका र विभिन्न मुद्दामा तारेख धाइरहेका प्रसाईंको पछि लागेर श्रीपेच लगाउने ज्ञानेन्द्रको सपना आफैंमा हास्यास्पद छ ।
यता, केरा खाएर सम्पर्कविहीन भएका प्रसाईंपछि लिङ्देनको प्रयास छ- ज्ञानेन्द्रको उही विश्वास पात्रको रूपमा फर्किने । जुन शनिबार साँझ भएको पत्रकार सम्मेलनले बुझाइहाल्छ ।
देशमा राजा फर्काउनेलाई पनि बहुत चिन्ता छ । आफ्नो स्वार्थ अनुकूल वातावरण निर्माणका लागि राजतन्त्रको भजन गाउँदै विश्वास कायम राखिरहनुपर्छ । यता, फेरि एउटा शाहले अर्का शाहलाई पत्र काटेछन् जरिवानाको । निराशाका बीचमा यीनै ‘शाह’हरूको स्टन्टलाई वाहवाही गर्छ सामाजिक सञ्जाल । उनको पारा के हो बुझी सक्नु छैन । सरकारप्रतिको आक्रोशले ‘शाह’हरू जस्ता पात्र नायक बन्छन् । जो, नेपालको संविधानमाथि ठाडो रूपमा धावा बोल्छन् ।
ए ज्ञानेन्द्र ! देशको माया त्यति नै भए निर्वाचनमा आऊ । ज्ञानेन्द्रको बाटो कुरिरहेका नागरिकले ब्यालेटबाट प्रेम देखाउँछन् कि इन्कारी गर्छन्, हेर्ने प्रतिक्षामा छौं । पूर्वराजाको रूपमा जुन ससम्मानका साथ बसिरहेका छौं यो हाम्रो अनुदार हो, पूर्व राजपरिवारप्रति । इतिहासमा कमै उदाहरण छन्, जो गद्दी गएपछि देशमै पूर्वराजपरिवारको हैसियतमा ठाँटका साथ देशभित्रै बसोस् । यसलाई सम्मान गर्न चुकेका ज्ञानेन्द्रले अब कुन मुखले राजतन्त्र फर्काउने रणनीति बुन्छन् त्यो थाहा छैन ।
तर, बुझनुपर्ने कुरा हामी हेरिरहेका छौं सबैसबै चीज । राजावादीको गतिविधि । राजनीतिक दलहरूको स्वार्थबन्धन । फेसबुक पोस्ट र रिल भ्यूजमा देखिएको भन्दा दृश्य फरक छ ग्राउन्ड जिरोमा । विदेश भ्रमणमा जाँदा पूर्वराजपरिवारलाई दिएको सम्मानको रिल हेरेर राजतन्त्र जिन्दावाद भन्ने जेनजीको एक समूह पनि छ । जसमा आक्रोश छ । कुण्ठा छ ।
तिनको कुण्ठालाई आफ्नो हितमा दुरूपयोग गरिरहेका छन्, यिनै राजावादीले । सामाजिक सञ्जालमा यिनै समूहको लाइक र कमेन्ट देखेर थप हौसिएका राजावादीलाई शुक्रबार उपस्थित भीडले देखाइसक्यो, समर्थकको सत्यता ।
शुक्रबार अराजकता फैलाएको स्थानदेखि देशका कुनाकुनाबाट मानवसागर ओर्लिएपछि आएको हो गणतन्त्र । गणतन्त्र कुहेको आलु होइन, जसलाई फुत्त निकालेर फाल्न सकियोस् । समस्या यो व्यवस्थामा होइन, व्यवस्थाको नेतृत्व गरिरहेकामा छ । जसलाई फाल्नका लागि जेनजी हेरेर बसिरहेको छ ।