
चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन निर्माता बीवाईडीले मेगावाट फ्ल्यास चार्जिङ अर्थात् सुपर ई–प्लेटफर्म सार्वजनिक गरेको छ ।
कम्पनीले विश्वकै पहिलो सबैभन्दा फास्ट चाजिङ हुने प्रणाली सार्वजनिक गरेको हो । यस प्रणालीबाट केबल ५ मिनेटमै ४०० किलोमिटरसम्म चल्ने गरी गाडी चार्ज गर्न सक्नेछन् ।
चीनको प्रमुख इलेक्ट्रिक गाडी निर्माता बीवाईडीले बनाएको यस प्रणालीका लागि लिथियम–आयरन–फस्फेट एलएफपी केमिस्ट्री भएको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले गाडीलाई तीव्र गतिमा चार्ज गर्न मद्दत पुर्याउँछ ।
विश्वमा हालसम्मकै पहिलो १ हजार किलोवाट भोल्टको चार्जिङ प्रणाली बीवाईडीले नै सर्वजजिक गरेको दाबी छ । कम्पनीले चीनभरि यस्ता मेगावाट फ्ल्यास चार्जिङ स्टेसनहरू ४ हजार वटा स्थापना गर्ने योजना बनाएको छ ।
बीवाईडीका दुई भेरियन्ट ‘हान एल’ र ‘ट्याङ एल’ मा ५ मिनेटको चार्जले ४ सय किलोमिटर गुड्ने सुविधा उपलब्ध हुने जनाइएको छ ।
अत्याधुनिक प्रविधि र सुविधामा तीव्र प्रतिस्पर्धा गरिरहेको बीवाईडीले विश्व बजारमा नयाँ नयाँ भेरियन्डहरू ल्याउँदै आइरहेको छ । जसको पछिल्लो अत्याधुनिक उदाहरण यी दुई भेरियन्ट हुन् ।
‘हान एल’ले २.७ सेकेन्डमा ० देखि १०० किलोमिटरको गति हासिल गर्न सक्ने कम्पनीको दाबी छ भने ट्याङ एल(एसयूभी)ले ३.६ सेकेन्डमा यो गति हासिल गर्न सक्छ ।
यसलाई कम्पनीले ईभी बजारमा क्रांतिकारीको प्रतीकका रूपमा लिएको छ । ३० हजार आरपीएम मोटर र नयाँ सिलिकन कार्बाइड (एसआइसी) पावर चिप्स रहेको जनाइएको छ ।
यी मोडेलहरूको प्री–आर्डर चीनमा खुला गरिसकेको छ । विश्वभर नै यसलाई छिट्टै लैजाने कम्पनीको योजना छ ।