![हृदयेशलाई फेरि पनि ढाल्छु : कलवार, यो चुरीफुरी केही दिनलाई मात्र : हृदयेश [भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/hridayas-tripathi_De16lJcpoD.png)
(गोपीगञ्ज) नवलपरासी, मंसिर १२ - मधेस केन्द्रीत दल राजपा परित्याग गरेर स्वतन्त्र राजनीतिक समूह मार्फत नेकपा एमालेको सूर्य चुनाव चिह्न सापटी लिएर चुनावी मैदानमा रहेका हृदयशे त्रिपाठीलाई यसपटकको चुनावमा पनि कडा टक्कर दिइरहेका छन्, नेपाली कांग्रेसका देवकरण कलवारले ।
सूर्य चिह्न लिएर त्रिपाठी चुनावी मैदानमा आएपछि नवलपरासी क्षेत्र नम्बर १ को चुनावी नतिजालाई उत्सुकतापूर्वक हेरिएको छ ।
पटक पटक नवलपरासीबाट चुनाव जित्दै आएका त्रिपाठीलाई गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका कलवारले पराजित गरेका थिए । यसपटक राजनीतिक समीकरण फेरिएको छ ।
विगतमा सद्भावना र तमलोपाबाट चुनाव लडेका त्रिपाठीलाई वामपन्थी गठबन्धन नेकपा एमाले र माओवादी केन्द्रको समर्थन छ ।
‘म एक हिस्सा मात्र हो, मैले हारे वामपन्थी गठबन्धनले हार्छ, एमाले र माओवादीले पनि हार्छ’ त्रिपाठीले सोमवार लोकान्तरसँग कुरा गर्दै भने, ‘वामपन्थी दलको समर्थन रहेका कारण चुनाव मैले जित्छु ।’
उनले आफ्ना प्रतिस्पर्धि कलावरले यस पटक चुनाव हार्ने र त्यसपछि उनको चुरीफुरि सेलाउने दाबी गरे ।
पटक पटक सांसद र मन्त्री बनेका त्रिपाठी यो क्षेत्रका बलिया नेता मानिन्छन् । राजपाले यो क्षेत्रमा उम्मेदवार नै उठाएको छैन भने संघीय समाजवादी फोरमका तर्फबाट नरेन्द्र गिरी र नयाँ शक्ति पार्टीका कृष्णप्रसाद गौतम चुनावी प्रतिष्पर्धामा छन् ।
२०७० सालको संविधानसभा चुनावमा हृदयेशको विरासत ढालेका कलवार भने यसपटक पनि आफूले चुनाव जित्ने दाबी गर्छन् ।
‘पटक पटक मधेस आन्दोलन गरेर पहाडी मुलका नागरिकलाई अपशव्द बोलेर आएका त्रिपाठीलाई एमालेका कार्यकर्ताले पत्याएका छैनन्, मधेशवादीले त पत्याउने कुरै भएन्’ कलवारले लोकान्तरसँग भने, ‘हृदयेशलाइ केही ठानेको छैन, यसपटकको चुनावमा पनि ढाल्छु ।’
स्थानीय तहको चुनावलाई हेर्ने हो भने यो क्षेत्रमा वामपन्थीको भन्दा नेपाली कांग्रेसको भोट बढी छ । बर्दघाट नगरपालिकाको भोटले हृदयेशको भविष्य निर्धारण गर्ने स्थानीयहरु बताउँछन् ।
प्रदेश सभातर्फ एमालेका दीपेन्द्र अधिकारी र अजय शाही उम्मेदवार छन् । नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका लागि विक्रम खनाल र मुकुल आचार्य चुनावी प्रतिष्पर्धामा छन् ।