
मोरङको पथरी शनिश्चरे–२ स्थित सिर्जना चोकमा पीके अर्थात् प्रेमकुमार नुडल्स छ, जहाँबाट रहेको दिन बिहान ताजा चाउमिनको सुगन्ध फैलिन्छ । उद्योगका संचालक हुन् ३८ वर्षीय प्रेमकुमार गुरुङ ।
उनको दैनिकी यही उद्योगबाट शुरू हुन्छ । एक समय अरबको मरुभूमिमा कष्ट भोगेका प्रेम अहिले करोडका मालिक छन् । ‘४०/५० हजार कमाउन विदेश जानु पर्दैन रहेछ, चटपटे बेचेरै पनि कमाउन सकिन्छ,’ उत्साहसाथ उनी भन्छन् ।
२०४३ सालमा जन्मिएका प्रेमको परिवार आर्थिक रूपमा सम्पन्न थिएन । परिवारमा उनीसहित पाँच दाजुभाइ, दुई बहिनी, आमाबुबा र हजुरआमा गरेर नौ जना थिए । उनको बाल्यकाल प्रायः अभावमै बित्यो ।
बिहान खेतिपाती गर्थे र दिउँसो स्कुल जान्थे । साँझमा पनि खेतिपातीकै काममा व्यस्त बन्थे । ‘हामी बिहान खेतमा काम गरेर मात्र स्कुल जान्थ्यौं । पढ्ने मन थियो, तर परिस्थितिले साथ दिएन,’ आफ्नो बाल्यकाल सम्झिँदै प्रेम भन्छन् ।
पढाइमा पनि उनी अत्यन्तै मेहनती र अब्बल थिए । तर, निरन्तरता दिन भने सकेनन् । २०६२ सालमा सावित्री माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि उनी उच्च शिक्षाको खोजीमा मोरङको लक्ष्मीमार्ग झरे । लक्ष्मीमाविबाट कक्षा १२ पूरा गरेपछि सुनसरीको इटहरीमा रहेको जनता कलेजमा ब्याचलर शुरू गरे । तर, उनलाई घरखर्च जुटाउन समस्या भयो ।
उनका बुबाले भारतको मुम्बईमा बसेर कमाएको पैसा र आमाले गरेको मेहनतको कमाइले उनलाई पढाइ खर्च पुगेन । परिवारमा ऋण थपिँदै गयो । घरको साहिँलो छोरा भए पनि उनले सबै जिम्मेवारी थपिएको महसुस गरे ।
बाबुआमाको उमेर बढ्दै गयो । आफू पढ्दै कमाउँदै गर्न अनेक प्रयास गरे, तर सबै अपूरो रह्यो । अन्ततः आर्थिक बोझले थिचिएका प्रेम पढाइ अधुरै छोडेर विदेशिए । अधुरा सपना र परिवारप्रतिको जिम्मेवारीले उनलाई अरबको मरुभूमिमा पुर्यायो ।
अरब जानुअगाडि उनलाई लाग्थ्यो, ‘अरब देशमा काम गर्यो भने मासिक ८०–९० हजार कमाइन्छ । घरको अवस्था सुध्रिन्छ ।’ यही सबै सपना बोकेर उनी साउदी अरब हिँडे । ‘तर त्यहाँ पुगेपछि मैले जे भोगेँ, त्यो सपना होइन, दुःखको पहाड थियो,’ प्रेम सम्झन्छन् ।
अरब पुगेको पहिलो दिन नै उनलाई मरुभूमिको बीचमा रहेको एउटा जस्ताको छानो भएको गोठजस्तो झुप्रोमा लगेर छाडियो । ‘त्यो दिन मलाई लाग्यो, यहाँ त मान्छे बस्न सक्दैन । मरुभूमिको चर्को गर्मी, खानपिनको अभाव, सुत्ने ठाउँको दुर्गन्ध सबै सहनुपर्यो । सपनाहरू एकैपटक चकनाचुर भए,’ प्रेम सम्झन्छन् ।
तैपनि बाध्यता थियो काम गर्नैपर्ने । पाँच वर्षसम्म उनले साउदीको तातो मरुभूमिमा श्रम गरे । फलाम उद्योगमा काम गर्दा हातमा कति चोट लागे, कति काटियो । अझै पनि ती निशान उनको हातमा छन् । ‘शरीरका विभिन्न भाग काटिए, घाउ लागे, रगत बग्यो । हरेक दिन भोक र थकानसँग युद्ध गर्नुपथ्र्यो’, उनी दुःखद् स्मरण गर्दै भन्छन्, ‘त्यहाँ रमाइलो होला भन्ने सोचेको थिएँ, तर, त्यहाँ त जिन्दगीको हरेक सेकेन्ड संघर्षपूर्ण भयो ।’
महिनाको ३०–४० हजार कमाइ हुन्थ्यो, तर ऋण तिर्न र परिवारलाई पठाउन पाँच वर्षको उनको सम्पूर्ण कमाइ सकियो । उनको धेरै पैसा सपनाको महल भत्कियो ।
विदेशबाट फर्किएपछि प्रेमले आशा जगाए । अब स्वदेशमै केही गर्छु । आफ्नै साथी अर्जुन आचार्यलगायतसँग मिलेर उनले २०७२ सालमा कुखुरापालन शुरू गरे । दिनरात खटे । अण्डा उत्पादन हुन थाल्यो, आय पनि राम्रै हुँदै थियो । तर, २०७२ सालमा भारतले गरेको नाकाबन्दी उनका लागि फेरि विदेश यात्राको कारण बन्यो । ‘नाकाबन्दीले हाम्रो व्यवसाय भत्काइदियो । दाना नपाएपछि कुखुराले अण्डा पार्न छोडे, अण्डा उत्पादन घट्यो, साइज पनि सानो भयो । सबै लगानी डुब्यो,’ प्रेम भन्छन् ।
उनमा फेरि एक पटक निराशा हाबी भयो । अब के गर्ने ? यही प्रश्नले उनलाई सताउन थाल्यो । अन्ततः उनी पुनः विदेशतिरै फर्किए । तर, यस पटक उनीसँग भएको अनुभव र दृढ संकल्पले एक वर्षमा साढे ५ लाख रुपैयाँ बचत गरे । त्यही पैसा लिएर स्वदेश फर्के । यस पटक उनी जीवनको अनुभव बोकेर अब विदेश नफर्कने र स्वदेशमै केही गर्ने बाचा लिएका आएका थिए । ‘अब म नेपालमै बसेर केही गर्छु । विदेशमा त हाम्रो जीवन मात्र होइन, हाम्रो आत्मसम्मान पनि बेचिन्छ भन्ने भएपछि मैले नयाँ काम गर्ने सोच बनाएँ,’ उनी भन्छन् ।
स्वदेश फर्किएपछि प्रेम केही समय अन्योलमा थिए । के गर्ने ? कहाँबाट शुरू गर्ने ? छुर्पीको व्यापार गर्ने कि ? किराना पसल खोल्ने कि ? पहाडमा उत्पादित मालवस्तुहरू शहरमा ल्याएर बिक्री पो गर्ने कि ? उनले धेरै अध्ययन गरे ।
त्यसैबेला बेलबारीमा मामाको छोरा मोहन गुरुङले चाउमिन उद्योग सञ्चालन गरिरहेका थिए । मोहनको सल्लाहमा प्रेमले पनि चाउमिन उद्योग खोल्ने निर्णय गरे । ‘मैले शुरूमा मोहन दाइकोमा सहयोगीको रूपमा केही दिन अनुभव लिएँ । चाउमिन बनाउन, सुकाउन, प्याकेजिङ गर्न सिकेँ । अनि आफ्नै उद्योग खोल्ने साहस जुट्यो,’ प्रेम भन्छन् ।
शुरूमा उनले सुन्दरहरैंचाको गछियामा चाउमिन उद्योग खोले । लक्ष्य थियो– इटहरी, गछिया, विराटचोकको बजार समात्ने । तर, व्यापार सोचेजस्तो चलेन । बिजुलीको समस्या, भोल्टेज घटबढ, लोडसेडिङ, प्रविधिको अभाव र दक्ष जनशक्ति नहुनुले व्यवसायलाई समस्यामा पार्दै लग्यो । ‘शुरूका दिनहरूमा एक दिन मेशिन चल्थ्यो भने दुई दिन बिग्रिन्थ्यो । कहिले बिजुली नहुने, कहिले कच्चा पदार्थ नआइपुग्ने, समस्याको अन्त्य थिएन,’ प्रेम भन्छन् ।
अन्ततः उनले उद्योग पथरीमा सार्ने निर्णय गरे । भाडामा लिएर उद्योग चलाउनु सजिलो थिएन । तर, श्रीमती उषा गुरुङको साथले उनलाई हिम्मत मिल्यो । ‘हामी दुवै जना मिलेर रातभरि चाउमिन बनाउन पिठो मुछ्थ्यौं । राति १–२ बजेसम्म काम गथ्र्यौं,’ प्रेम सम्झन्छन्, ‘झरीमा भिज्दै, चिसोमा काठ्यांग्रिँदै बेलबारीमा आएर चाउमिन बनाउथ्यौं र राति नै पथरी फर्कन्थ्यौं ।’
लोडसेडिङको पीडा उस्तै थियो । जेनेरेटर किन्ने थप पैसा उनीसँग थिएन । ‘कहिलेकाहीँ त बाइक चिप्लिएर लड्थ्यौं, घाइते पनि हुन्थ्यौं । नियमित बिजुली हुँदैन थियो । जेनेरेटर किन्ने पैसा पनि थिएन । बेलबारीमा दाजुकोमा जेनेरेटर थियो, पथरीबाट बोरामा मैदा बोकेर त्यहाँ गएर राति चाउमिन बनाउँथ्यौं र ग्राहककोमा दिनभर बाँड्थ्यौं,’ दुःख सम्झँदै उनी भन्छन्, ‘तीनपटकसम्म म मैले अब त उद्योग नै बन्द गर्ने सोचें, यत्रो दुःख गरेर के पाइन्छ र ?’ तर, हरेक पटक उनको हिम्मतले जित्यो । आफ्नो श्रीमतीको साथले पनि उनलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्यो । निरन्तर दुःखै गरिरहें । उनीसँग अगाडि बढ्ने अर्को विकल्प पनि थिएन । पथरीमा व्यवसाय शुरू गर्दा पनि चुनौतीहरू कम थिएनन् । स्थानीय व्यापारीहरूको अवरोध र धम्कीहरू आउन थाले । एक स्थानीय व्यापारीले धम्क्याए, तैँले यहाँ व्यवसाय गर्न पाउँदैनस्, यो हाम्रो क्षेत्र हो ।’
उनलाई दमकबाट चाउमिन ल्याउने अर्का व्यापारीले ‘यहाँ बिक्री नगर, नत्र काट्छु, मार्छु, तेरो सामग्री नै लुटिदिन्छु ।’ तर उनले आफ्नो व्यवसाय छाडेनन् । ‘यो खुला बजार हो, प्रतिस्पर्धा गर्न पाउनु सबैको हक हो । मैले कसैको व्यापार खोस्न आएको छैन, आफ्नो परिश्रमले आफ्नो स्थान बनाउन आएको थिएँ,’ उनी भन्छन् ।
छिमेकीहरूले पनि उनको कुरालाई समर्थन गरे । त्यसपछि प्रेम आफ्नो लक्ष्यबाट विचलित भएनन् । विस्तारै लोडसेडिङ हट्यो । दक्षता र क्षमता उनमा बढ्दै गयो । बजार बढ्दै गयो । उनले आफ्नो उत्पादनको गुणस्तरमा ध्यान दिए, ग्राहकहरूको मन जित्न थाले ।
प्रेम अहिले पथरीस्थित आफ्नै घरबाट उद्योग सञ्चालन गर्छन् । दैनिक १० बोरा (५०० किलो) चाउमिन उत्पादन गर्छन् । उनको उत्पादन पथरी, शनिश्चरे, बेलबारी, केचना, बेतना, रमाइलो, हसन्दह, लेटाङ, अमरदह, दोभनालगायत बजारहरूमा बिक्री हुन्छ । ‘हामीले गुणस्तरमा कहिल्यै सम्झौता गरेनौं । ताजा सामग्री, स्वादिष्ठ स्वाद र उचित मूल्य । यही हाम्रो सफलताको मन्त्र हो,’ उनले भने ।
उनको उद्योगले रोजगारी पनि सिर्जना गरेको छ । ७ जनाले अहिले पनि उद्योगमा पूर्णकालीन काम गर्छन् । मौसमअनुसार मासिक डेढदेखि दुई/लाख रुपैयाँसम्म कमाइ हुने गरेको उनी बताउँछन् । ‘विद्यालय बन्द हुँदा पनि १ लाखसम्म आम्दानी हुन्छ,’ उनले भने ।
विदेश र स्वदेशको तुलना पनि गर्दै उनी भन्छन्, ‘विदेशमा मैले जुन दुःख भोगें, त्यसको तुलनामा अहिले म धेरै खुशी छु । परिवारसँग बसेर कमाउनु मात्र होइन, आफन्तलाई रोजगारी दिन पाउनु गर्वको कुरा हो ।’ उनको श्रीमती उषा थप्छिन्, ‘हामीले धेरै संघर्ष गरेका छौं । तर अहिले हामी आफ्नै घरमा छौं, आफ्नै व्यवसाय छ । बच्चाहरू राम्रो स्कुलमा पढ्दैछन् । यो सबै हाम्रो परिश्रमको फल हो ।’
पाँच लाख लगानीबाट शुरू गरेको उद्योगमा अहिले ४० लाख बढी लगानी भइसक्यो । ६० लाखभन्दा बढीको जग्गा किने । ३० लाखभन्दा बढीमा घर र उद्योगको संरचना बनाए । ७४ सालदेखि शुरू गरेको उद्योगबाटै उनले सवा करोड बढीको सम्पत्ति जोड्न सफल भए । उनका लागि यो कमाइ खाडी मुलुक वा विदेशमा बसेर सम्भवै थिएन ।
प्रेम भविष्यमा आफ्नो उद्योगलाई अझै विस्तार गर्ने योजनामा छन् । ‘मेरो लक्ष्य छ पूर्ण स्वचालित मेशिन ल्याएर उत्पादन बढाउने, थप रोजगारी सिर्जना गर्ने,’ उनी भन्छन् ।
उनको सबैभन्दा ठूलो चाहना भने नेपाली युवाहरूलाई प्रेरित गर्नु हो । ‘विदेश गएर ३०–४० हजारको तलबका लागि जीवन साट्नु पर्दैन । देशमै अवसर छन् । चटपटे बेचेर पनि त्यो कमाइ सम्भव छ । आफ्नो देशमा, आफ्नो माटोमा मेहनत गर्नु सबैभन्दा ठूलो सफलता हो,’ उनी भन्छन् ।
चाउमिनको उद्योग शुरू गर्दाको दुःख देखेर उनलाई जापान जान उनकै जेठानले आग्रह गरे । जापानमै रहेका उनले भिसा झार्नेसम्मका कुरा गरे । तर, उनले स्वदेशमै केही गर्ने अठोट गरेको बताउँछन् । ‘म आफ्ना परिवार र सन्तानको साथमा, आफ्नै घरमा बसेर काम गर्न चाहन्थें । विदेशमा कमाएको पैसाले खुशी किन्न सकिँदैन थियो । अहिले त्यो पुरा भएको छ,’ उनले भने ।
प्रेमको जीवनकथा नेपाली समाजको वास्तविक प्रतिबिम्ब हो । आर्थिक अभाव, परदेशको पीडा, व्यावसायिक संघर्ष र सामाजिक अप्ठ्याराहरू हुँदाहुँदै पनि उनले हार मान्ने निर्णय कहिल्यै गरेनन् । विदेशको चर्को घाममा शरीर पोल्दै काम गरेको त्यो मानिस आज आफ्नै देशको माटोमा पसिना बगाउँदा सन्तुष्ट छ । उनको मुहारमा थकान छ, तर उनको आँखामा आफ्नै भविष्यप्रति आशा छ । उनकी श्रीमती उषा थप्छिन्, ‘हामीले जति दुःख पाएका छौं, त्यति नै हामी दृढ बनेका छौं । यो जीवनको पाठ हो । कठिनाइहरू सधैं रहन्छन्, तर तिनीहरूलाई जित्नु नै जीवन हो ।’