१७ असार २०८३, बुधबार

ईश्वर पोखरेलले भोट मागेर हिडेपछि मतदाताको कानेखुसी !

मंसिर १२, २०७४
ईश्वर पोखरेलले भोट मागेर हिडेपछि मतदाताको कानेखुसी !

काठमाडौं, १२ मंसिर – दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि काठमाडौं उपत्यकाका सबै क्षेत्रका उम्मेद्वार मतदाताका घरघरमा पुगेर हात जोडिरहेका छन् ।  अरु समय कहिल्यै सर्वसाधारणको वास्ता नगर्ने उम्मेद्वार पनि यो बेला भोटकै लागि हात जोडिरहेको आरोप मतदाताको छ ।   

काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने बालुवाटार चुनदेबी क्षेत्रमा सोमबार बिहानै वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेद्वार ईश्वर पाखरेलको समूह घरदैलोका लागि पुग्योे । 

चुनदेबी क्षेत्रमा पोखरेलले भोट माग्दै गर्दा उनी मतदाताप्रति नतमस्तक देखिन्थे । भोट माग्दा मतादाताहरु प्रति उनलाई नै भोट हाल्ने आश्वासन पनि दिए । तर पोखरेल अर्को घरसम्म नपुग्दै मतादाताहरु खासखुस गरिहाल्थे, भोट कसलाई दिने ? भोट कसलाई दिएर के हुन्छ भन्ने बारे सल्लाह गर्न थाल्थे । 

केही बेरमै त्यहाँका केही मतदाताहरु चुनदेबी चोकमा रहेको एक चिया पसलमा बसेर उम्मेद्वारबारे टिक्का टिप्पणी गरिरहेका थिए । सोही चिया पसलमै लोकान्तरकर्मी पनि पस्दा त्यहाँको ग्राहकले पनि चिया मगाइसकेका थिए ।

पसलकी साहुनीले अर्डर नगर्दै चिया ल्याइदिइन् । त्यहाँको चिया गफ निरन्तर चलिरह्यो ।

तिनैमध्ये एक जना झुस्स दाह्री पालेका अधबैंशे बोले, ‘कसलाई भोट हालेर के हुने हो !’

उनको वाक्य नसकिँदै लामो ज्याकेट लगाएका अर्का एक व्यक्तिले सही थपे, ‘भोट माग्दा मात्रै आफ्ना हुन्, जितपछि फर्किदैनन्,’ उनी भन्दै गए, ‘आउँदा भोट दिन्नौं भन्न पनि सकिन्न, अब भोट त जसलाई हाले नि उस्तै ।’ 

उनको कुरा नसकिदै अर्को बेन्चबाट आवाज आयो, ‘अहिलेको अवस्थामा वाम गठबन्धनलाई मतदान गर्नुपर्छ ।’

प्रचार प्रसारमै व्यस्त रहेका क्षेत्र नम्बर ५ का बलिया उम्मेद्वारका रुपमा देखिएका पोखरेल भने आफूले जित्नेमा ढुक्क छन् । उनका अनुसार क्षेत्र नम्बर ५ का मतदाता ईश्वर पोखरेललाई धेरै विश्वास गर्छन् ।  पोखरेल भन्छन्, ‘क्षेत्रनम्बर ५ का हरेक क्षेत्रमा पुग्दा अन्य राजनीतिक दलका कार्यकर्ता तथा बुद्धिजिवीहरुले समेत मत दिने भनेकाले मैले मत पाउँछु ।’

साझा विवेकशील र कांग्रेसको उम्मेद्वारी चुनौती नभई लोकतान्त्रिक पद्दतिको सुन्दर रुप भएको बताउँदै उनी भन्छन्, ‘राजनीतिमा कुनै पार्टीका उम्मेदवार प्रतिस्पर्धामा आउन स्वागतयोग्य कुरा हो, तर म जित्नुपर्छ भनेर आएको उम्मेद्वार भएकाले जित्छु भनेर विश्वासका साथ जनताको साथ खोजिरहेको हुँ ।’

उनले २५ वर्षदेखि जीत र हार स्विकार गर्दै यही क्षेत्रमा यहाँका जनताको सुखदुःखमा साथ दिइरहेको दाबी गर्दै भने, ‘जित र हार दुबै अवस्थामा मेरो सम्बन्ध यहाँका जनतासँग प्रगाढ सम्बन्ध छ, विकासका एजेण्डामा, मैले राष्ट्रिय राजनीतिमा खेल्न सकेको भूमिकाका आधारमा यस क्षेत्रका जनताले मलाई पत्याएर जिताउनेमा म ढुक्क छु ।’

काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा उम्मेद्वारमा पोखरेलसँगै कांग्रेसका प्रकाशशरण महत र साझा विवेकशील पार्टीबाट उज्वल थापा मैदानमा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्