
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा आउने बाटो हेरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । एमालेको सक्रिय राजनीतिमा फर्किनुअघि ‘वार्मअप’ गर्दै भण्डारी प्रदेश–प्रदेशमा स्थिति बुझेर हिँडेकी छिन् ।
भण्डारी गण्डकी, कोशीपछि लुम्बिनीमा समेत केही दिन बसेर काठमाडौं फर्किएकी थिइन् । तर, गत शुक्रबार ओलीले लुम्बिनी प्रदेशकै बुटवल पुगेर ‘केपी ओलीविनाको एमालेका लागि अझै १५/२० वर्ष कुर्नुपर्ने’ बताए । साथै, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल नहुने जिकिर गरे ।
‘एमालेले मिसन ८४ अभियान चलाइरहेको छ । विकास निर्माणका काम पनि धमाधम काम भइरहेका छन् । तर, हाम्रो काम देखेर प्रतिगामी तत्त्वहरू छटपटीमा छन्,’ ओलीले भनेका थिए, ‘केपी ओलीविनाको अभियान चलाउनेले १५/२० वर्ष पर्खिनुस्, अनि भेटिन्छ केपी ओलीविनाको एमाले ।’
एमालेले चैत २९ गते शुक्रबार बुटवलमा गरेको जागरण सभामा ओलीले बोलेको अर्थपूर्ण बोलीको फरक–फरक व्याख्या हुन थालेको छ । पहिला ओलीले पार्टीमा आफूविरुद्ध अरू नेता हावी नहोऊन् भन्ने आशयले भनेर बोलेका थिए । तर, लगत्तै उनले ‘ओलीविना’ नभनी ‘एमालेविना’ भनेर केही सच्याउन पनि खोजे ।
‘म सधैँ बाँच्ने होइन, तर एमालेविनाको अवस्था कल्पना नगरे पनि हुन्छ,’ ओलीले भनेका थिए, ‘नातिको पालामा नि त्यो सपना पूरा हुनेछैन, किनकि जनता सचेत भइसकेका छन् ।’
झट्ट हेर्दा ओलीको भनाइ भण्डारीतिर लक्षित देखिँदैन । तर, अप्रत्यक्ष रूपमा ओलीको संकेत भण्डारीतिरै हो भन्ने अर्थ लगाउन पनि सक्ने देखिन्छ । विद्या भण्डारीलाई एमालेको राजनीतिमा ल्याउन सक्रिय भएका एक नेता ओली र विद्याबीच पर्याप्त छलफल भइरहेको बताउँछन् ।
‘प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीजीले अझै १५/२० वर्ष पर्खिनुस् भनेको पार्टी बाहिरकालाई मात्रै होइन,’ ती नेता भन्छन्, ‘पूर्व राष्ट्रपति भण्डारीले एमालेको नेतृत्वका लागि आकांक्षा राख्नुभएको छ । प्रदेशतिर दौडाहा गर्दै आफ्नो माहोल बुझ्नुभएको छ । अध्यक्षसँग पनि संवाद र सल्लाहमै हुनुहुन्छ भन्ने लाग्छ ।’
ओलीले नेतृत्व छाड्नै परे समझदारी अनुरूप विद्यालाई पार्टी बिसाउने ती नेता बताउँछन् ।
‘अध्यक्ष ओलीजी आफैं पनि भण्डारीप्रति बेखुस हुनुहुन्न । चाहँदा हामी नै उहाँलाई राजनीतिमा ल्याउँछौं भनेर बोलिसक्नुभएको छ । तर, उहाँको आक्रोश एमालेमा खेल्न खोज्नेहरू माओवादीदेखि नेकपा एस लक्षित हो भन्ने पनि देखिन्छ,’ ती नेताले भने, ‘भण्डारी आए प्रचण्ड र माधव नेपाललाई पनि समेटेर ठूलो कम्युनिस्ट पार्टी बनाउन सकिन्छ भन्ने भाष्य एकथरिले बनाएका छन् । त्यसैले उनीहरूलाई यस्तो सपना नदेख भनेको अर्थ पनि लगाउन सकिन्छ ।’
तर, भण्डारी स्वयंले नेतृत्वको आकांक्षा राखेर दैशदौडाहा गरिरहेकी छन् ।
नेता कर्ण थापा एमालेलाई ओलीविहीन बनाउन कोही पनि नलागेको बताउँछन् ।
‘हाम्रो अध्यक्षको भनाइको गलत अर्थ लगाउन जरुरी छैन । उहाँ अहिलेको बलियो अध्यक्ष हो । कोही पनि केपी अोलीविहीन एमाले बनाउँछु भनेर लागेका छैनन्,’ थापा भन्छन्, ‘उहाँले अझै १५/२० वर्ष काम गर्न सक्छु भन्ने आत्मबल देखाउनुभएको हो भन्ने लाग्छ ।’
उनले पनि भण्डारी एमालेको राजनीतिमा आए अध्यक्ष ओलीसँगै सहमति गरेर आउने बताए ।
‘उहाँहरू दुवै हाम्रो सम्मानित नेता हो । राष्ट्रपति भएयता उहाँ (विद्या) एमालेको सक्रिय राजनीतिमा हुनुहुन्न । तर, पार्टीबाट टाढा पनि हुनुहुन्न,’ थापाले भने, ‘पार्टीसँग, अझै अध्यक्षसँग राम्रो सल्लाह र समझदारी गर्न सक्नुहोला । त्यसपछि उहाँका भावी दिन राजनीतितर्फ सोझिन पनि सक्लान् । तर, अहिले नै अनुमान लगाउने र पार्टीमा खेल्नेहरूप्रति सचेत हुनुपर्छ ।’
नेता विष्णु रिजालले पनि अहिले नै अध्यक्ष केपी ओलीको विकल्प एमालेले नसोचेको बताए । तर, भोलि पूर्व राष्ट्रपतिको आवश्यकता परे ओलीकै प्रस्ताव, सोच र निर्णयानुसार हुने उनले बताए ।
‘अहिले एमालेले अध्यक्ष केपी ओलीको विकल्पमा केही सोचेको छैन । सोच्न आवश्यक पनि छैन । संकटपूर्ण अवस्थालाई चिरेर यहाँसम्म आइपुगेका छौं । पूर्व राष्ट्रपतिसँग औपचारिक छलफल भएको छैन,’ रिजाल भन्छन्, ‘तर, एमालेमा जे हुन्छ, जे प्रबन्ध हुन्छ, अध्यक्षको योजना, प्रस्ताव र निर्णयानुसार हुने हो । विद्या भण्डारीलाई अध्यक्ष बनाउनु परे पनि आवश्यक सल्लाहमा नै हुने हो । यही विषयले एमालेमा विवाद र बहस हुनेछैन ।’
राष्ट्रपतिबाट हटेयताका भण्डारी र अध्यक्षको अभिव्यक्ति एक अर्काको परिपूरकको रूपमा आएको उनी बताउँछन् । पछिल्लो समय ओलीले उल्लेख गरेको १५/२० वर्षको विषय विरोधी र घेराबन्दी गर्नेप्रति लक्षित भएको उनले बताए ।
‘हाम्रो अध्यक्षले १५/२० वर्ष ओलीविनाको राजनीति परिकल्पना नगर्न भनेको पार्टीका नेतालाई होइन, विरोधी र घेराबन्दी गर्नेहरूलाई हो । खुलेरै एमालेलाई ओलीविहीन बनाउँछौ भन्नेहरूप्रति हो,’ रिजाल भन्छन्, ‘पूर्व राष्ट्रपतिबाट उहाँले दबाब महसुस गर्नुभएको छैन, आपसमा सल्लाहमा हुनुहुन्छ ।’
राजनीतिक विश्लेषक कृष्ण पोखरेल ओलीले सहजै एमालेको सक्रिय राजनीति नछाड्ने बुझेरै पूर्व राष्ट्रपतिले दबाब बढाएको बताउँछन् ।
‘केपी ओलीविहीन एमालेको परिकल्पना अझै १५ वर्ष नगर्नू भन्ने उहाँको कुरा छ । तर, यो १५ वर्ष जोड्दा उहाँको उमेर ८८ वर्ष हुनेछ । मलाई चलाउन सक्दैनौ भनेर नेतृत्वमा चुनौती दिनेलाई जवाफ फर्काउनुभएको हो,’ पोखरेलले भने, ‘दबाब नहुने हो भने ओलीले सहजै एमालेको नेतृत्व छाड्नुहुन्न । सामान्य अवस्थामा पार्टी नेतृत्व छाड्ने इच्छा पनि देखिँदैन । भण्डारीको सक्रियता सहमतिमा नेतृत्व छाड्नुस्, नभए म चुनौती दिएर भएर पनि आउँछु भन्ने खालको देखिन्छ ।’
दबाब दिएर ओलीलाई ‘कम्परमाइज’ गर्न बाध्य पार्न ओलीले गण्डकी, कोशी र लुम्बिनी प्रदेशको भ्रमण गरेको उनी बताउँछन् । ‘विभिन्न ठाउँमा गएर पार्टीपंक्तिको कुरा बुझ्ने, मेरो लागि परिस्थिति अनुकूल/प्रतिकूल के छ भन्ने आकलन गर्नुभएको देखिन्छ,’ पोखरेलले भने, ‘विराटनगरमा भेट हुँदा उहाँसँग सोधेको थिएँ । जवाफमा ‘म राजनीतिभन्दा बाहिर छैन’ भन्नुभएको थियो । यो भनेको सक्रिय राजनीतिका लागि तयारी गर्दैछु भन्ने सन्देश पनि हो ।’
भण्डारी राजनीतिमा आए दलीय राजनीतिमा ‘कोर्स करेक्सन’ हुने पोखरेलले बताए ।
‘लेफ्टलाई एकातिर ल्याउन भण्डारीले लिड गरे दाहिनेतिर अर्को मोर्चा बन्छ । जसले नेपाली राजनीतिलाई वैचारिक र कार्यक्रमिक हिसाबले सुग्घर बाटोमा लान सक्छ,’ पोखरेलले भने, ‘कोर्स करेक्सनमा उहाँको रोल भए मुलुकका लागि राम्रो हुन्छ । किनकि, नेपाली राजनीतिमा ‘भेडा भेडातिर, बाख्रा बाख्रातिर’ भएर कोर्स करेक्सन हुन सक्छ ।’
एमालेको उपाध्यक्ष भएपछि भण्डारी ७ वर्ष नेपालको राष्ट्रपति भएकी थिइन् । एमालेले आदर्श मान्ने जनताको बहुदलीय जनवादको प्रणेता समेत विद्याकै श्रीमान् मदन भण्डारी हुन् । यसैले पारिवारिक विरासत, आफ्नै सक्रिय राजनीतिक अनुभव, प्रभाव, पहुँच र उमेर पनि ६३ मात्रै भएकाले भण्डारीले एमालेको नेतृत्वमा आँखा लगाएको देखिन्छ ।