
करिब १२ हजार वर्षअघि लोप भएको डायर वुल्फ (विशाल ब्वाँसो) फेरि जीवित भएको छ । अमेरिकाको टेक्सासस्थित कोलोसल ल्याब एन्ड बायोसेज कम्पनीले तीनवटा डायर वुल्फका छाउरा जन्माएर विश्वलाई चकित पारेको छ ।
यी छाउराहरूको नाम रोमुलस, रेमस र खालिसी राखिएको छ । यो उपलब्धिले वैज्ञानिक समुदायमा उत्साह ल्याएको छ, तर यसले प्रकृतिको नियम र नैतिकतामाथि प्रश्न पनि उठाएको छ ।
के हामीले विलुप्त प्रजातिलाई पुनर्जनन गरेर प्रकृतिको सन्तुलनमाथि हस्तक्षेप गरिरहेका छौं ? यो समाचार टिप्पणी डायर वुल्फको पुनरागमन, वैज्ञानिक प्रगति र मानवताको जिम्मेवारीसँग सम्बन्धित छ ।
डायर वुल्फको इतिहास
डायर वुल्फ उत्तर र दक्षिण अमेरिकाको क्यानडा, अमेरिका, मेक्सिको र भेनेजुएलाका जंगलमा १२ हजार वर्षअघिसम्म पाइने विशाल र शक्तिशाली प्राणी थियो । यिनीहरूको ठूलो शरीर, बलियो खप्पर, ठूला दाँत र शक्तिशाली काँधले उनीहरूलाई अन्य ब्वाँसोभन्दा फरक बनाउँथ्यो ।
प्राकृतिक चयनको प्रक्रियामा यो ब्वाँसो १२ हजार वर्षअघि विलुप्त भयो । १८औं र १९औं शताब्दीमा वैज्ञानिकहरूले विभिन्न स्थानमा यिनका जीवाश्म फेला पारे, जसले यिनको जीवनशैली र आनुवंशिक संरचनाबारे जानकारी दियो ।
यही आधारमा डायर वुल्फबारे विभिन्न कथा र चित्र बने । ‘गेम अफ थ्रोन्स’ जस्ता टेलिभिजन शृंखलामा यही ब्वाँसोले प्रभाव जमायो । उक्त शृंखलामा देखाइएअनुसार स्टार्क परिवारसँग जोडिएको सेतो डायर वुल्फको काल्पनिक कथाले धेरैको मन जित्यो । तर, यो काल्पनिक प्राणी एक दिन वास्तविकतामा आउनेछ भनेर कसैले सोचेका थिएनन् ।
वैज्ञानिक चमत्कार
सन् २०२१ मा जर्ज चर्चले ‘डी-एक्सटिङ्सन’ (विलुप्त प्रजातिको पुनर्जनन)लाई आफ्नो लक्ष्य बनाउँदै कोलोसल ल्याब स्थापना गरे । कम्पनीले विलुप्त भएको वुली म्यामथ (हात्तीजस्तो देखिने प्राणी), तास्मानियन टाइगर र डोडो चरालाई पुनर्जनन गर्ने योजना बनायो, तर डायर वुल्फको परियोजना गोप्य राखियो ।
तर, २०२४ को अक्टोबर १ मा यो ब्वाँसोका दुई छाउरा (रोमुलस र रेमस) र सन् २०२५ को जनवरी ३० मा तेस्रो छाउरा (खालिसी) को जन्म भएको खबरले विश्वभर चर्चा पायो ।
टाइम म्यागजिनले ७ अप्रिल २०२५ मा रेमसको तस्बिरसहितको कभर प्रकाशित गर्दै यो घटनालाई ऐतिहासिक बनाउन मदत गरेको थियो ।
१२ हजार वर्षअघि नै लोप भइसकेको यो प्राणीको पुनर्जनन प्रक्रिया एकदमै जटिल थियो । यो प्रक्रियाका लागि वैज्ञानिकहरूले ओहायो र इडाहोमा फेला परेका डायर वुल्फका जीवाश्म (दाँत र कानको हड्डी)बाट डीएनए निकालेका थिए । उनीहरूले अहिले पनि पाइने सामान्य 'ग्रे वुल्फ'को डीएनएसँग यसलाई तुलनात्मक अध्ययन गरे ।
वैज्ञानिकहरू ग्रे वुल्फको १४ वटा जीनमा परिवर्तन गरेर डायर वुल्फको विशेषता पुनर्जनन गर्न सकिने निष्कर्षमा पुगे । परिवर्तन गर्नुपर्नेमध्येका सबै जीनले डायर वुल्फको ठूलो आकार, सेतो रंग, ठूलो टाउको, बलियो खप्पर, ठूला दाँत र शक्तिशाली शरीरलाई नियन्त्रण गर्थे ।
वैज्ञानिकहरूले ग्रे वुल्फको रक्त कोशिकाबाट डीएनए निकालेर ती १४ जीनमा परिवर्तन गरे । यो काम कोशिकाको न्युक्लियसमा गरियो, जहाँ सानो गल्तीले पनि कोशिका नष्ट हुन सक्थ्यो । महिनौंको मेहनतपछि ४५ वटा परिवर्तित न्युक्लियस तयार गरियो, जसलाई कोशिकामा स्थानान्तरण गरियो । यी कोशिकालाई प्रयोगशालामा राखेपछि तिनमा विभाजन शुरू भयो र भ्रूण बन्न थाल्यो ।
भ्रूणलाई विकसित गर्न विशेष प्रजातिको कुकुरको गर्भाशय प्रयोग गरियो, जसमा कुकुर र ब्वाँसोको मिश्रण थियो र गर्भाशय पनि ठूलो थियो ।
ठूलो आकारको गर्भाशयले डायर वुल्फको भ्रूणलाई सहजै हुर्काउन सक्थ्यो । निरन्तर निगरानी र हेरचाहपछि २०२४ को अक्टोबर १ मा डायर वुल्फका दुई छाउरा जन्मिए । २०२५ को जनवरी ३० मा तेस्रो छाउरो जन्मियो । यो तीन वर्षको अथक प्रयासको परिणाम थियो ।
नैतिक र सामाजिक प्रश्न
डायर वुल्फको पुनर्जननले वैज्ञानिक प्रगतिलाई त उजागर गर्यो, तर यसले गम्भीर प्रश्न पनि उठाएको छ । चार्ल्स डार्विनको प्राकृतिक चयन सिद्धान्तअनुसार डायर वुल्फ १२ हजार वर्षअघि प्रकृतिको नियमअनुसार विलुप्त भएको थियो ।
यस्ता प्राणीलाई पुनर्जनन गरेर मान्छेले प्रकृतिको सन्तुलनमाथि हस्तक्षेप गरिरहेको त छैन भन्ने प्रश्न यतिबेला संसारभर उठिरहेको छ । यसअघि, सन् १९९६ मा क्लोन गरिएको भेडा 'डली'बारे पनि यस्तै बहस छेडिएको थियो ।
यतिबेला सामाजिक सञ्जाल र विश्वभरका सञ्चारमाध्यमहरूमा यो विषयले तीव्र चर्चा पाएको छ । कतिपयले कोलोसल ल्याबलाई प्रश्न गरेका छन्, 'यस्तो किन गरियो ? यो कहिले रोकिन्छ ? के यो गर्नु ठीक हो ?'
त्यसको जवाफमा कोलोसलले आधिकारिक रूपमै भनेको छ, 'ब्वाँसोले पारिस्थितिक सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्छ । यस्ता प्रजातिको पुनर्जनन हाम्रो संरक्षण लक्ष्यको हिस्सा हो ।'
तर, आलोचकहरूले अहिले जीवित रहेका ब्वाँसाहरूले यो भूमिका निर्वाह गर्न किन नसक्ने भन्दै अर्को प्रश्न पनि उठाएका छन् ।
यो बहसले प्रकृतिको सर्वश्रेष्ठ जीव मान्छेको जिम्मेवारीमाथि पनि प्रश्न उठाएको छ । २०२० मा जीन सम्पादन प्रविधिका लागि पनि नोबेल पुरस्कार दिइएको थियो । त्यसपछि जीन सम्पादनलाई अहिले सहज रूपमा हेर्न थालिएको छ । तर, यही प्रविधिले मान्छेलाई प्रकृतिको नियम बदल्ने शक्ति पनि दिएको छ ।
के हामीले डायनासोरजस्ता खतरनाक प्राणीलाई पनि पुनर्जनन गर्ने बाटो खोल्दैछौं ? यदि होइन भने, यो प्रक्रियालाई कहाँ र कसरी रोक्ने ? यो प्रश्न अझै पनि विश्वव्यापी रूपमा उठिरहेको छ ।
भविष्यको सम्भावना
कोलोसल ल्याबले डायर वुल्फपछि वुली म्यामथ पुनर्जनन गर्ने लक्ष्य राखेको छ । यही मार्चमा उक्त ल्याबले टिप्पणीको शुरूमा भनिएको म्यामथको जीन र मुसाको जीन मिसाएर ‘म्यामथ माउस’ बनाएका थिए । यो प्रगतिले वैज्ञानिक समुदायमा उत्साह थपेको छ, तर यसले समाजलाई ठूलो जिम्मेवारी पनि दिएको छ ।
डायर वुल्फको व्यवहार सामान्य कुकुर वा ब्वाँसोजस्तो छैन । यिनीहरू मानवसँग सम्पर्क गर्न रुचाउँदैनन् ।
जीन सम्पादनले डायर वुल्फको बाहिरी स्वरूप त पुनर्जनन गर्यो, तर यिनको सम्पूर्ण आनुवंशिक संरचना ग्रे वुल्फकै रहेको वैज्ञानिकहरूको भनाइ छ । अहिलेका छाउराहरू पूर्ण नरहेको र पूर्ण डायर वुल्फ बनाउन अझै धेरै अनुसन्धान आवश्यक रहेको उनीहरूले बताएका छन् ।