२९ जेठ २०८३, शुक्रबार
प्राकृतिक सिद्धान्तमाथि चुनौती

यसरी गरियो १२ हजार वर्षअघि लोप भएको ब्वाँसोको पुनर्जन्म, डाइनोसर पनि चर्चामा

बैशाख १, २०८२
काठमाडौं
यसरी गरियो १२ हजार वर्षअघि लोप भएको ब्वाँसोको पुनर्जन्म, डाइनोसर पनि चर्चामा
तस्वीर स्रोत - कोलोसल ल्याब

करिब १२ हजार वर्षअघि लोप भएको डायर वुल्फ (विशाल ब्वाँसो) फेरि जीवित भएको छ । अमेरिकाको टेक्सासस्थित कोलोसल ल्याब एन्ड बायोसेज कम्पनीले तीनवटा डायर वुल्फका छाउरा जन्माएर विश्वलाई चकित पारेको छ ।

यी छाउराहरूको नाम रोमुलस, रेमस र खालिसी राखिएको छ । यो उपलब्धिले वैज्ञानिक समुदायमा उत्साह ल्याएको छ, तर यसले प्रकृतिको नियम र नैतिकतामाथि प्रश्न पनि उठाएको छ ।

के हामीले विलुप्त प्रजातिलाई पुनर्जनन गरेर प्रकृतिको सन्तुलनमाथि हस्तक्षेप गरिरहेका छौं ? यो समाचार टिप्पणी डायर वुल्फको पुनरागमन, वैज्ञानिक प्रगति र मानवताको जिम्मेवारीसँग सम्बन्धित छ ।

डायर वुल्फको इतिहास

डायर वुल्फ उत्तर र दक्षिण अमेरिकाको क्यानडा, अमेरिका, मेक्सिको र भेनेजुएलाका जंगलमा १२ हजार वर्षअघिसम्म पाइने विशाल र शक्तिशाली प्राणी थियो । यिनीहरूको ठूलो शरीर, बलियो खप्पर, ठूला दाँत र शक्तिशाली काँधले उनीहरूलाई अन्य ब्वाँसोभन्दा फरक बनाउँथ्यो ।

प्राकृतिक चयनको प्रक्रियामा यो ब्वाँसो १२ हजार वर्षअघि विलुप्त भयो । १८औं र १९औं शताब्दीमा वैज्ञानिकहरूले विभिन्न स्थानमा यिनका जीवाश्म फेला पारे, जसले यिनको जीवनशैली र आनुवंशिक संरचनाबारे जानकारी दियो ।

यही आधारमा डायर वुल्फबारे विभिन्न कथा र चित्र बने । ‘गेम अफ थ्रोन्स’ जस्ता टेलिभिजन शृंखलामा यही ब्वाँसोले प्रभाव जमायो । उक्त शृंखलामा देखाइएअनुसार स्टार्क परिवारसँग जोडिएको सेतो डायर वुल्फको काल्पनिक कथाले धेरैको मन जित्यो । तर, यो काल्पनिक प्राणी एक दिन वास्तविकतामा आउनेछ भनेर कसैले सोचेका थिएनन् ।

वैज्ञानिक चमत्कार

सन् २०२१ मा जर्ज चर्चले ‘डी-एक्सटिङ्सन’ (विलुप्त प्रजातिको पुनर्जनन)लाई आफ्नो लक्ष्य बनाउँदै कोलोसल ल्याब स्थापना गरे । कम्पनीले विलुप्त भएको वुली म्यामथ (हात्तीजस्तो देखिने प्राणी), तास्मानियन टाइगर र डोडो चरालाई पुनर्जनन गर्ने योजना बनायो, तर डायर वुल्फको परियोजना गोप्य राखियो ।

तर, २०२४ को अक्टोबर १ मा यो ब्वाँसोका दुई छाउरा (रोमुलस र रेमस) र सन् २०२५ को जनवरी ३० मा तेस्रो छाउरा (खालिसी) को जन्म भएको खबरले विश्वभर चर्चा पायो ।

टाइम म्यागजिनले ७ अप्रिल २०२५ मा रेमसको तस्बिरसहितको कभर प्रकाशित गर्दै यो घटनालाई ऐतिहासिक बनाउन मदत गरेको थियो ।

१२ हजार वर्षअघि नै लोप भइसकेको यो प्राणीको पुनर्जनन प्रक्रिया एकदमै जटिल थियो । यो प्रक्रियाका लागि वैज्ञानिकहरूले ओहायो र इडाहोमा फेला परेका डायर वुल्फका जीवाश्म (दाँत र कानको हड्डी)बाट डीएनए निकालेका थिए । उनीहरूले अहिले पनि पाइने सामान्य 'ग्रे वुल्फ'को डीएनएसँग यसलाई तुलनात्मक अध्ययन गरे ।

वैज्ञानिकहरू ग्रे वुल्फको १४ वटा जीनमा परिवर्तन गरेर डायर वुल्फको विशेषता पुनर्जनन गर्न सकिने निष्कर्षमा पुगे । परिवर्तन गर्नुपर्नेमध्येका सबै जीनले डायर वुल्फको ठूलो आकार, सेतो रंग, ठूलो टाउको, बलियो खप्पर, ठूला दाँत र शक्तिशाली शरीरलाई नियन्त्रण गर्थे ।

वैज्ञानिकहरूले ग्रे वुल्फको रक्त कोशिकाबाट डीएनए निकालेर ती १४ जीनमा परिवर्तन गरे । यो काम कोशिकाको न्युक्लियसमा गरियो, जहाँ सानो गल्तीले पनि कोशिका नष्ट हुन सक्थ्यो । महिनौंको मेहनतपछि ४५ वटा परिवर्तित न्युक्लियस तयार गरियो, जसलाई कोशिकामा स्थानान्तरण गरियो । यी कोशिकालाई प्रयोगशालामा राखेपछि तिनमा विभाजन शुरू भयो र भ्रूण बन्न थाल्यो ।

भ्रूणलाई विकसित गर्न विशेष प्रजातिको कुकुरको गर्भाशय प्रयोग गरियो, जसमा कुकुर र ब्वाँसोको मिश्रण थियो र गर्भाशय पनि ठूलो थियो ।

ठूलो आकारको गर्भाशयले डायर वुल्फको भ्रूणलाई सहजै हुर्काउन सक्थ्यो । निरन्तर निगरानी र हेरचाहपछि २०२४ को अक्टोबर १ मा डायर वुल्फका दुई छाउरा जन्मिए । २०२५ को जनवरी ३० मा तेस्रो छाउरो जन्मियो । यो तीन वर्षको अथक प्रयासको परिणाम थियो ।

नैतिक र सामाजिक प्रश्न

डायर वुल्फको पुनर्जननले वैज्ञानिक प्रगतिलाई त उजागर गर्‍यो, तर यसले गम्भीर प्रश्न पनि उठाएको छ । चार्ल्स डार्विनको प्राकृतिक चयन सिद्धान्तअनुसार डायर वुल्फ १२ हजार वर्षअघि प्रकृतिको नियमअनुसार विलुप्त भएको थियो ।

यस्ता प्राणीलाई पुनर्जनन गरेर मान्छेले प्रकृतिको सन्तुलनमाथि हस्तक्षेप गरिरहेको त छैन भन्ने प्रश्न यतिबेला संसारभर उठिरहेको छ । यसअघि, सन् १९९६ मा क्लोन गरिएको भेडा 'डली'बारे पनि यस्तै बहस छेडिएको थियो ।

यतिबेला सामाजिक सञ्जाल र विश्वभरका सञ्चारमाध्यमहरूमा यो विषयले तीव्र चर्चा पाएको छ । कतिपयले कोलोसल ल्याबलाई प्रश्न गरेका छन्, 'यस्तो किन गरियो ? यो कहिले रोकिन्छ ? के यो गर्नु ठीक हो ?'

त्यसको जवाफमा कोलोसलले आधिकारिक रूपमै भनेको छ, 'ब्वाँसोले पारिस्थितिक सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्छ । यस्ता प्रजातिको पुनर्जनन हाम्रो संरक्षण लक्ष्यको हिस्सा हो ।'

तर, आलोचकहरूले अहिले जीवित रहेका ब्वाँसाहरूले यो भूमिका निर्वाह गर्न किन नसक्ने भन्दै अर्को प्रश्न पनि उठाएका छन् ।

यो बहसले प्रकृतिको सर्वश्रेष्ठ जीव मान्छेको जिम्मेवारीमाथि पनि प्रश्न उठाएको छ । २०२० मा जीन सम्पादन प्रविधिका लागि पनि नोबेल पुरस्कार दिइएको थियो । त्यसपछि जीन सम्पादनलाई अहिले सहज रूपमा हेर्न थालिएको छ । तर, यही प्रविधिले मान्छेलाई प्रकृतिको नियम बदल्ने शक्ति पनि दिएको छ ।

के हामीले डायनासोरजस्ता खतरनाक प्राणीलाई पनि पुनर्जनन गर्ने बाटो खोल्दैछौं ? यदि होइन भने, यो प्रक्रियालाई कहाँ र कसरी रोक्ने ? यो प्रश्न अझै पनि विश्वव्यापी रूपमा उठिरहेको छ ।

भविष्यको सम्भावना

कोलोसल ल्याबले डायर वुल्फपछि वुली म्यामथ पुनर्जनन गर्ने लक्ष्य राखेको छ । यही मार्चमा उक्त ल्याबले टिप्पणीको शुरूमा भनिएको म्यामथको जीन र मुसाको जीन मिसाएर ‘म्यामथ माउस’ बनाएका थिए । यो प्रगतिले वैज्ञानिक समुदायमा उत्साह थपेको छ, तर यसले समाजलाई ठूलो जिम्मेवारी पनि दिएको छ ।

डायर वुल्फको व्यवहार सामान्य कुकुर वा ब्वाँसोजस्तो छैन । यिनीहरू मानवसँग सम्पर्क गर्न रुचाउँदैनन् ।

जीन सम्पादनले डायर वुल्फको बाहिरी स्वरूप त पुनर्जनन गर्‍यो, तर यिनको सम्पूर्ण आनुवंशिक संरचना ग्रे वुल्फकै रहेको वैज्ञानिकहरूको भनाइ छ । अहिलेका छाउराहरू पूर्ण नरहेको र पूर्ण डायर वुल्फ बनाउन अझै धेरै अनुसन्धान आवश्यक रहेको उनीहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्