२४ असार २०८३, बुधबार
रुपन्देहीमा चुनावी चर्चा

उपचुनाव तय नहुँदै रुपन्देही– ३ मा आकांक्षीको लर्को, चर्चामा बालकृष्ण खाँणदेखि घनश्यामसम्म

बैशाख २, २०८२
काठमाडौं
उपचुनाव तय नहुँदै रुपन्देही– ३ मा आकांक्षीको लर्को, चर्चामा बालकृष्ण खाँणदेखि घनश्यामसम्म

पञ्चायतकाल, बहुदल हुँदै गणतन्त्रसम्म रूपन्देहीमा अविच्छिन्न राजनीति गर्दै आएका जनप्रतिनिधि तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोराको निधनसँगै उपचुनावको चर्चाले रुपन्देहीमा राजनीतिक माहोल तताएको छ ।

बोहोरालाई रूपन्देही क्षेत्र नम्बर– ३ मा आलोपालो बोक्दै आएका कांग्रेस–एमालेका नेता अहिले चुनावी तयारीमा देखिन्छन् । निर्वाचन हुनु अघिदेखि घाँटीको समस्यासँग जुध्दै आएका बोहोराको निधनपछि उम्मेदवार बन्न चाहेका आकांक्षीहरू ‘वार्मअप’ लागेका हुन् । बुटवलमा शुक्रबार भएको एमाले सभालाई पनि चुनावी तयारीसँग जोडेर हेरिएको छ ।

प्रभावशाली जनप्रतिनिधिको खोजी !

केन्द्रीय राजनीतिमा सधैं प्रभावशाली क्षेत्रको पहिचान बनाएको रुपन्देही क्षेत्र नम्बर ३ मा अधिकांश शहरी मतदाता छन् । 

एमाले र कांग्रेसकै कारण रूपन्देही क्षेत्र नम्बर– ३ ‘अस्थिर’ बनेको बताउँदै यस क्षेत्रका नागरिकले बलियो र केन्द्रमा प्रभाव पार्न सक्ने नेता आउनुपर्ने बताउँदै आएका छन् ।

गएको निर्वाचन (२०७९) मा बोहोराले बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई कुनै चुनावी भाषणविनै हारको स्वाद चखाइदिएका थिए । बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए । बोहोरा र खाँणको मतान्तर २ हजार ६८१ थियो ।  

गएको निर्वाचनमा एमालेले बोहोरालाई बोकेको थियो भने २०७४ को निर्वाचनमा कांग्रेसले साथ दिएर बोहोरालाई अगाडि बढाएको थियो । त्यतिबेला खाँण पछाडि हटेर समानुपातिकमा बसेका थिए । २०७४ मा कांग्रेसको साथ पाएका बोहोरालाई पराजित गरी तत्कालीन एमाले नेता घनश्याम भुसाल विजयी भएका थिए ।

त्यसअघि बोहोरा २०७० को दोस्रो संविधान सभा निर्वाचनमा साविक क्षेत्र नम्बर– २ बाट निर्वाचित भएका थिए । बोहोराको निधनपछि यस क्षेत्रमा राप्रपाको प्रभाव कमजोर हुने भन्दै एमाले र कांग्रेस दुवैले आफ्ना बलियो उम्मेदवार उठाएर विगतको ‘गढ’ फर्काउन चाहेका छन् । राप्रपा पनि आफ्नो विरासत कायम राख्ने कोशिशमा लागेको छ ।

नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आफूलाई स्थापित गरेर आउँदो चुनावका लागि नयाँ सन्देश दिन चाहन्छन् । त्यसैले, ४ दलले यो चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । यही सेरोफेरोमा दलहरूप्रतिको वितृष्णा र असन्तुष्टिबाट लाभ लिने दाउमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरू पनि धेरै देखिन्छन् । 

को–को देखिएका छन दाबेदार ?

राष्ट्रिय सभाको १८ महिना अवधि हुँदा–हुँदै राजीनामा दिएर रूपन्देही क्षेत्र नम्बर– ५ मा उम्मेदवारी दिए पनि सदर नभएका खिमलाल भट्टराई एमालेबाट उपचुनावको पहिलो दाबेदारजस्तो देखिन्छन् ।

शुरूमा क्षेत्र नम्बर ५ मा एमालेले वासुदेव घिमिरे (हाल सांसद)लाई टिकट दियो । बीचमा घिमिरेको टिकट रद्द गरेर भट्टराईलाई टिकट दियो । आधिकारिकरूपमा शुरूमा घिमिरेले उम्मेदवारी दिए । पछि एमालेबाटै भट्टराईले उम्मेदवारी दिएपछि विवाद भयो । तर, पछि घिमिरेको उम्मेदवारी सदर भयो ।

अहिले भट्टराई रिक्त क्षेत्र नम्बर ३ मा उपचुनाव भए उम्मेदवार बन्ने तयारीमा देखिन्छन् । उनी यही क्षेत्रमा भेटघाट, पार्टी कार्यक्रम, छलफल  तथा सांगठनिक गतिविधिमा केन्द्रित छन् ।

भट्टराईसँगै एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने (माधव) पनि उम्मेदवारका लागि आकांक्षी हुन् । क्षेत्र नम्बर १ को प्रदेशसभामा पराजित न्यौपाने नेकपा (माओवादी केन्द्र)बाट एमालेमा आएका नेता हुन् । पार्टीले अघि सारेको अवस्थामा आफू उम्मेदवार बन्न तयार रहेको भट्टराईले पार्टी फोरमहरूमा बताउने गरेका छन् । एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरेले उपचुनाव भए पार्टीले उपयुक्त पात्रलाई अगाडि सार्ने बताए ।

‘उपचुनाव भए एमाले एकल शक्तिको आधारमा लड्छ,’ गैरेले भने, ‘संसदीय फिल्डमा एमाले आफ्नो शक्तिको आधारमा अगाडि बढ्छ । कसैसँग तालमेल गर्दैन ।’

यता कांग्रेसबाट यसअघि पराजित बालकृष्ण खाँण नै उम्मेदवार बन्ने चाहनामा देखिन्छन् । आफूमाथिको मुद्दाको अन्तिम किनारा नलागेको अवस्थामा खाँण कार्यकर्ताको नाडी छाम्न निरन्तर गाउँटोलमा पुगिरहेका छन् । क्षेत्र नम्बर– ४ मा सर्वेन्द्रनाथ शुक्लासँग पराजित प्रमोद यादव पनि उम्मेदवार बन्ने चाहना राख्छन् ।

रुपन्देही क्षेत्र नम्बर ५ मा पराजित भरत शाह र उनकी पत्नी अनिता ढुंगाना शाहले पनि उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् ।

कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले पार्टीले उपचुनावबारे व्यक्तिगत रूपमा छलफल नगरेको बताए । ‘पार्टीमा धेरै सिनियर नेताहरू हुनुहुन्छ । चुनाव भएको अवस्थामा उहाँहरूमध्येबाट कसैले चुनाव लड्नुहुन्छ,’ अर्यालले भने ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको क्षेत्र पनि यही हो । २०७४ मा यही क्षेत्रमा चुनाव जितेका भुसाल गत निर्वाचनमा क्षेत्र नम्बर १ मा एमाले सचिव छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा रूपन्देही इन्चार्ज नन्दलाल बञ्जाडेले उपचुनावमा उठ्ने/नउठ्ने भुसालको व्यक्तिगत कुरा रहेको बताए । 

त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट स्थायी कमिटी सदस्य तथा पूर्व राज्यमन्त्री हकिकुल्ला खाँ तथा जिल्ला इञ्चार्ज सोनिया यादवको नाम चर्चामा छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि धेरै नेता इच्छुक छन् । गएको निर्वाचनमा पराजित जेपी गुप्ता पनि उम्मेदवार बन्न इच्छुक देखिएका छन् । तर, पार्टीका जिल्ला अध्यक्ष बुद्धि शर्माले अहिले यो विषयमा पार्टीले छलफल नगरेको बताए ।

राप्रपाले दीपक बोहोराका छोरा प्रज्ज्वललाई अघि सार्ने तयारी गरेको चर्चा छ । तर, यो विषय अहिल्यै चर्चा गर्न आवश्यक नभएको राप्रपाका जिल्ला अध्यक्ष सागरप्रताप राणाले बताए । दीपक बोहोराको ‘लिगेसी’ र सहानुभूतिको मत ल्याउन सकिने देखेर दीपकका कान्छा छोरा प्रज्ज्वललाई अघि सार्ने तयारी भएको अरू नेता बताउँछन् ।

कांग्रेसका एकथरी नेताले अहिलेको सत्ता गठबन्धन रहिरहेको अवस्थामा केन्द्रमा राम्रो प्रभाव पार्न सक्ने भएकाले बालकृष्ण खाँणलाई जिताउनुपर्ने तर्क पनि गर्दै आएका छन् ।

सरकारले चाहेको खण्डमा आयोग जतिखेर पनि तयार

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले सरकारले उपचुनाव गर्न चाहेमा आयोग तयार रहेको बताए ।

‘संसद्को अवधि कम्तीमा ६ महिना रहेसम्म उपचुनाव गर्नुपर्ने व्यवस्था छ,’ घिमिरेले भने, ‘सरकारले साढे २ महिनाको समयावधि दिए जतिबेला पनि निर्वाचन गराउन आयोग तयार छ ।’ सूचना अधिकारी घिमिरेले थपे, ‘अब नयाँ साल शुरू भइहाल्यो, चुनाव वर्षायाममा गर्न अलि गाह्रो पनि हुन्छ । सरकारले चाह्यो भने, असोजमा चुनाव हुन सक्छ ।’

यता एमालेका एकथरी नेताले गत निर्वाचनमा राप्रपालाई दरिलो साथ दिँदा बोहोराको जीत सम्भव भएको भन्दै यसपटक एमालेलाई सघाउनुपर्ने बताउने गरेका छन् ।

क्षेत्र नम्बर ३ ले बुटवल, तिलोत्तमा हुँदै सिद्धार्थनगर नगरपालिकालाई समेटेको छ । नेपाल–भारत सीमानजिक मात्र होइन, बेलहिया नाका र देशकै ठूलो भन्सार भैरहवा पनि यही क्षेत्रमा पर्छ । रुपन्देही– ३ मा बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्