३० जेठ २०८३, शनिबार

'इन्ड्राइभ' राइडरविरुद्ध बलात्कार मुद्दा, चलाउँथे दाइको आईडी र अर्काको बाइक !

बैशाख ९, २०८२
काठमाडौं
'इन्ड्राइभ' राइडरविरुद्ध बलात्कार मुद्दा, चलाउँथे दाइको आईडी र अर्काको बाइक !

काठमाडौं उपत्यकामा विगत केही महिनादेखि ‘इन्ड्राइभ’ चलाउँदै आएका गुल्मी मुसीकोटका विनोद जिसीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) मुद्दा दर्ता भएको छ । 

काठमाडौंको नागार्जुन नगरपालिकास्थित रानीवन बस्ने जिसीले गत चैत ७ गते राति गोंगबुबाट एक युवतीलाई बूढानीलकण्ठ नगरपालिका –७ गल्फुटार पुर्‍याएर बलात्कार गरेको आरोप छ ।

पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि जिसीलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । 

बलात्कार मुद्दा चलाउनुपर्ने निष्कर्षसहितको प्रहरी मिसिलअनुसार सरकारी वकिल कार्यालय काठमाडौंले थप बयान लिएर गत शुक्रबार जिल्ला अदालत काठमाडौंमा अभियोग दर्ता गरेको हो । 

पीडित युवतीले सरकारी वकिलमा बयान दिएअनुसार उनले चैत ७ मा गोंगबुबाट काम सकेर बूढानीलकण्ठ नगरपालिका–४ स्थित पासिकोटमा रहेको डेरामा जान राति पौने १० बजे इन्ड्राइभ बूक गरेकी थिइन् ।

ना ६० प ८८०२ नम्बरको यामाहा बाइकलाई उनले १५० रुपैयाँमा बूक गरेकी हुन् । युवती मोटरसाइकल चढिन् । बूढानीलकण्ठस्थित गोल्डेन चोक पुगेपछि युवतीले कता जान लागेको ? भनेर जिसीलाई सोधिन् । जिसीले ‘एक छिन बसौं’ भन्दै आफूलाई गल्फुटारस्थित कोलोनीनजिकैको झाडीमा पुर्‍याएको युवतीको बयान छ ।

‘दुवै जना गफिइरहेका बेला केसीले यौनचाहना व्यक्त गरे । मैले हुँदैन भन्दा जबर्जस्तीकरणी गरेर मलाई पुनः डेरामा छाडेर हिँडे,’ पीडित युवतीले सरकारी वकिलसमक्ष बयानमा भनेकी छिन्, ‘त्यसपछि महाराजगञ्ज वृत्तमा आएर जिसीविरुद्ध उजुरी दिएको हँु ।’

प्रहरीले युवतीलाई तत्कालै घटनास्थलमा लगेर मुचुल्का उठाएको थियो । युवतीले भनेको ठाउँमा झाडी समेत माडिएको भेटिएको थियो । 

अचम्मको कुरा त जिसीले आफ्ना दाजुको आईडीमार्फत इन्ड्राइभ चलाउँदै आएका रहेछन् । सरकारी वकिलसँगको बयानमा जिसीले उक्त कुरा स्वीकार गरेका छन् ।

तर, पीडित युवतीसँग उनकै सहमतिमा यौनसम्पर्क गरेको जिसीको बयान छ ।

‘बाइकमा चढेपछि युवतीले मसँग कुरा गर्न चासो देखाएको हुँदा मैले केही समयका लागि एकान्तमा बसेर कुरा गरौं भनी प्रस्ताव राखेको थिएँ,’ जिसीले बयानमा भनेका छन्,‘ एकान्तस्थान खोज्दै जाँदा गल्फुटार कोलोनीनजिकै झाडी फेलापर्‍यो । यौनचाहना जागी मैले युवतीलाई प्रस्ताव गर्दा उसले सहमति जनाएपछि यौनसम्पर्क गरेको हुँ ।’

युवतीलाई कोठानजिकै छाडेर आफू आफ्नै कोठामा पुगेपछि युवतीले राति १२ बजे ‘पुग्नु भयो ?’ भनेर म्यासेज समेत पठाएको बयान जिसीले सरकारी वकिललाई दिएका छन् । सहमतिमा गरेको यौनसम्पर्कलाई युवतीले जबर्जस्तीकरणी भनेर जाहेरी दिएको कुरा आफूले पछि मात्र थाहा पाएको उनको दाबी छ ।

उनले दाइको आईडीबाट बाइक समेत अरूकै प्रयोग गरेको पनि बयानमा खुलाएका छन् । 

जिल्ला न्यायाधिवक्ता गोविन्दप्रसाद हुमागाईँले जिसीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ मा उल्लेखित ‘जबर्जस्ती करणी गर्न नहुने’ अभियोगमा मुद्दा दर्ता गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्