२८ जेठ २०८३, बिहीबार

शिक्षक आन्दोलन : १२ कक्षाको परीक्षा नरोक्ने बोर्डको निर्णय, अन्योलमा जिल्लाका निकाय

बैशाख ९, २०८२
विराटनगर
शिक्षक आन्दोलन : १२ कक्षाको परीक्षा नरोक्ने बोर्डको निर्णय, अन्योलमा जिल्लाका निकाय

विगत २१ दिनदेखि शिक्षकहरू आन्दोलनमा रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा नरोक्ने निर्णय गरेपछि अन्योल बढेको छ ।

मंगलबार बिहान बसेको बोर्ड बैठकले १२ कक्षाको परीक्षा यही वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षक सहभागी नभए निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।

त्यसका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको छ ।

तर बोर्डको यस्तो निर्णयले झनै अन्योल बढाएको छ ।

बोर्डबाट कुनै परिपत्र नआएकाले परीक्षाबारे अन्योल बढेको जिल्ला शिक्षा समन्वय समिति मोरङका प्रमुखसमेत रहेका उपसचिव जीवन गड्तौलाले बताए  । ‘१२ को परीक्षाको बारेमा केही कुरा नै आएको छैन । कुनै निर्णय नै भएको छैन,' उनले भने ‘शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ । बोर्डले के भन्छ । सबै शिक्षक आन्दोलनमा भएपछि कसरी गर्ने र परीक्षा गर्ने सम्भावना के होला र ।’

बोर्डले परीक्षा नरोक्ने निर्णय गरेको छ नि ? भन्ने प्रश्नमा उनले अहिलेसम्म केही चिठी नआएको बताए । ‘समाचारमा पढेको मात्रै हो । अरू केही थाहा छैन । अहिलेसम्म परिपत्र नआएकाले भोलि एक दिनमा कसरी तयारी गर्न सकिन्छ र । तपाईंहरूले जति थाहा पाउनुभएको छ, मैले पनि त्यति मात्रै थाहा पाएको छु,’ उनले भने ।

बोर्डले परीक्षा गराउने निर्णय गरे पनि कुनै निर्देशन नआउँदा जिल्लाका सम्बन्धित निकायहरूमा अन्योलता बढेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि अहिलेसम्म परीक्षाका विषयमा फर्मल केही नआएको बताए । ‘परिपत्र आए परीक्षा गर्न सकिन्छ । राज्यले निर्देश गरेको कुरा गर्न सकिँदैन भन्ने कुरा पनि भएन । तर अहिलेसम्म कुनै परिपत्र नआएकाले हामी अन्योलमा परेका छौं,’ उनले भने । 

शिक्षकहरूको २१ दिनदेखिको निरन्तर आन्दोलनका कारण १२ कक्षाको परीक्षा अन्योलमा परेपछि मंगलबार बसेको बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय गरेको थियो ।

शिक्षक महासंघको आह्वानमा आन्दोलन जारी छ । शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोक्ने उनीहरूको अडान छ । शिक्षकहरूको आन्दोलन चलिरहेकै बेला विभागीयमन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्