३१ जेठ २०८३, आइतबार
परिवारभित्रै असुरक्षा

लागुऔषध दुर्व्यसनले निम्त्याएको एउटा दर्दनाक घटना

बैशाख १०, २०८२
काठमाडौं
लागुऔषध दुर्व्यसनले निम्त्याएको एउटा दर्दनाक घटना

मकवानपुरको हेटौंडा उप–महानगरपालिका–१ चौकीटोलका राहुल दासले लागुऔषध दुर्व्यसनमा जेठी भाउजू र माइलो दाजुले रोकावट गरेपछि बाधा पन्छाउन ज्यान लिने उद्देश्यले खुर्पा र खुकुरी प्रहार गरेको बयान दिएका छन् । 

गत चैत १३ मा राहुलले जेठी भाउजू गुडियालाई खुर्पा र माइलो दाजु रुपेशलाई खुकरी प्रहार गरेका थिए । गुडियाको घटनास्थलमै मृत्यु भएको थियो । रुपेश हेटौँडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचारपछि घर फर्किएका छन् । 

राहुल परिवारका सदस्यमध्ये कान्छा छोरा हुन् । उनका जेठा दाजु वैदेशिक रोजगारीको सिलसिलामा कतारमा थिए । साथी संगतमा उनी गाँजालगायत अन्य लागुऔषध सेवनको कुलतमा फसे ।

राहुलको बानी व्यहोरा जेठी भाउजू गुडियालाई मन परेको थिएन । रातिराति बाहिर हिँड्न थालेपछि उनले राहुललाई सम्झाउँदै ‘घरमा नबसेर रातिराति कहाँ हिँडेको ? गाँजा खान हिँडेको ? म दाइलाई भनिदिन्छु’ भन्दै घरबाहिर जान रोक्दै आएकी थिइन् । गुडियासँगै परिवारका अन्य सदस्यले पनि राहुललाई ‘गाँजासेवन गरिरहे सुधारगृहमा राख्छौं’ भनेर तर्साउँदै आएका थिए । तर, राहुलको बानी व्यहोरा सुध्रिएन । बरु झन् उनी लागुऔषधको कुलतमा फस्दै गए । 

घटना भएको दिन चैत १३ गते अपराह्न ३ बजेतिर गुडिया पूजाकोठामा सुतिरहेकी थिइन् । भतिजा र भतिजी पढ्न गएका थिए । बाबु लालबाबु र आमा मीनादेवी घरको छतमा रहेको फूलको गमलामा पानी हालिरहेका थिए । त्यही मौकामा राहुलले गुडियालाई मार्ने योजना बनाएको खुलेको छ ।

नजिकै बारीमा छिमेकी महिलाले खुर्पाले रुखको हाँगाबिँगा काट्दै गरेको देखेपछि राहुलले ‘कुकुरको खोर बनाउनुपर्‍यो, एकछिन खुर्पा दिनू न अन्टी’ भन्दै मागे । सुतिरहेकी आफ्नै भाउजू गुडियालाई त्यही खुर्पाले घाँटी, टाउको र छातिमा पटक–पटक प्रहार गरे । गुडियाको सास नजाउञ्जेल उनी कुरेर बसे । ‘अब त मरिन् होला’ भनेर राहुलले कसैले थाहा नपाऊन् भनेर मृत शरीर कोठाभित्रै थुनेर ताल्चा मारेको बयानमा खुलाएका छन् ।

त्यसपछि उनले आफू सुत्ने कोठामा पुगेर रगत लागेको कपडा फेरे । गुडियाको मोबाइल पानी भरिएको भाँडोमा हाले । त्यतिनै बेला माइलो दाजु रुपेश आउने बेला भएको र उनलाई पनि खुकुरीले छप्काउनुपर्छ भनेर राहुल खुकुरी लिएर बसेको खुलेको छ । रुपेश आएर ‘कता जान लागेको ?’ भन्दै राहुललाई प्रश्न गरेलगत्तै उनले खुकरी प्रहार गरे । टाउकोमा खुकुरी प्रहार भएपछि रुपेशले खुकुरी समाते ।

null

उनी छट्पटाउँदै रुन कराउन थालेपछि छिमेकीहरू भेला भए । त्यहीबेला प्रहरी आएर राहुललाई पक्राउ गर्‍यो । त्यतिबेलासम्म राहुलले जेठी भाउजू गुडियाको हत्या गरेर पूजा कोठा बन्द गरेको कुरा अरूलाई सुनाएका थिएनन् । परिवारका अन्य सदस्यले गुडियाको खोजी गर्दा पूजा कोठामा ताला बन्द थियो । राहुलकी आमाले पूजाकोठाको झ्यालबाट गुडियाको शव देखेपछि ढोका फोडेर हेर्दा गुडिया रगतमा लत्पतिएको अवस्थामा मृत भेटिएकी थिइन् । 

प्रहरीले अनुसन्धान सकाएर मिसिल सरकारी वकिल कार्यालयमा बुझाएपछि कार्यालयले यही वैशाख ५ गते जिल्ला अदालत मकवानपुरमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । 

सरकारी वकिल कार्यालयसँगको बयानमा राहुलले भनेका छन्– ‘जेठी भाउजू गुडिया र माइलो दाजु रुपेशलाई जबसम्म मार्दिनँ, तबसम्म मलाई यिनीहरूले तनाव दिइराख्छन् भन्ने सोच बनाएर विगत एक महिनादेखि नै यिनीहरूको हत्या गर्ने योजना बनाएको थिएँ ।’ 

उनले कसैले नदेख्ने गरी गुडिया र रुपेशको हत्या गर्ने समय कुरेर बसेको र चैत १३ गते उक्त समय आएपछि आफूले हत्या गर्ने उद्देश्यले नै खुर्पा र खुकुरी प्रहार गरेको बयान दिएका छन् । 

घाइते रुपेशले गरेको घटना विवरण कागजमा पैसा कलेक्सनको काम नभएपछि आफू घटना भएको दिन घरमै आराम गरेर बसिरहेको उल्लेख गरेका छन् । रुपेशले आफ्नी जेठी भाउजू गुडियाको हत्याको सूचना २ दिनपछि मात्रै थाहा पाएको उल्लेख गरेका छन् । 

सरकारी वकिल कार्यालयले राहुललाई खुर्पा दिने स्थानीय नानु रुम्बाको पनि कागज गरेको छ । नानुका अनुसार राहुल कुकुरको खोर बनाउन भन्दै खुर्पा माग्न आएका थिए । तर, ‘खुर्पाको दाँत झरेकाले काठ काट्छ त ?’ भनेर सोध्दा ‘काट्छ आन्टी’ भन्दै राहुलले खुर्पा लिएर गएको नानुले उल्लेख गरेकी छिन् । एकछिनपछि राहुलका आमाबाबु चिच्च्याएपछि उसको घर पुग्दा रुपेश रगतपिच्छे भएको देखेर आफू झस्किएको नानुले कागजमा खुलाएकी छिन् । 

सरकारी वकिल कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता विनोद पौडेलले राहुलविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा १७७ बमोजिमको सजाय मागदाबी लिएर अदालतमा मुद्दा दर्ता गरेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्