
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आग्रह गरेका छन् ।
बिहीबार शपथग्रहण गरेसँगै मन्त्री पन्तले शुक्रबार विज्ञप्तिमार्फत आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेका हुन् ।
'शिक्षकहरूसँग विगतमा झै निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई मन्त्रालयको तर्फबाट यथाशीघ्र वार्ता र संवादका लागि अनुरोध गर्दछु,' जारी विज्ञप्तिमा भनिएको छ, 'विधेयक संसद्मा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवं कानूनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदैछ ।'
शिक्षक प्रतिनिधिहरूसँगको छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वभाविक रहेको विज्ञप्तिमा भनिएको छ ।

