२६ जेठ २०८३, मंगलबार

शिक्षक महासंघका अध्यक्षको अपिल- अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो बनाऔं

बैशाख १४, २०८२
काठमाडौं
शिक्षक महासंघका अध्यक्षको अपिल- अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो बनाऔं

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी राख्न शिक्षकहरूलाई अपिल गरेका छन् । 

सरकारसँग अनौपचारिक छलफल चलिरहेको भएपनि निष्कर्षोन्मुख नभएको भन्दै उनले आन्दोलन जारी राख्न भनेका हुन् । अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो हुन आवश्यक रहेको सुवेदीले बताएका छन् ।

‘आन्दोलन लम्बिँदै जाँदा बाधा र अड्चन बढेका छन् । त्यससँग लड्दै आन्दोलनमा डटिरहन सबै साथीहरूमा अनुरोध छ । पेसाकर्मीसँग भएको हतियार नै सामूहिक र संगठित लडाइँ हो’, सुवेदीले भनेका छन् ।

उनले सदाझैं अनुशासित र संयमित भएर आन्दोलनमा सहभगी हुन शिक्षकहरूलाई आग्रह गरेका छन् । वरिपरिका बोट बिरुवाको सुरक्षा र सरसफाइको विशेष ध्यान राख्न उनको आग्रह छ । 

अध्यक्ष सुवेदीले आन्दोलनमा नआएका शिक्षकहरूलाई काठमाडौं आउन समेत आग्रह गरेका छन् । 

‘घर बसिरहेका साथीहरू, म पनि जानुपर्छ, आन्दोलनमा मेरो उपस्थिति आवश्यक छ भन्ने कुराले तपाईंलाई घोचिरहेको छैन ? आफ्नो आन्दोलनमा आफ्नो सक्रिय सहभागितााका लागि काठमाडौं आउनुहोला’, सुवेदीले लेखेका छन् ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू गत चैत २० देखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् । बिहीबार सर्वोच्च अदालतले शिक्षकका जायज र संविधानसम्मत माग पूरा गरेर तीन दिनभित्र विद्यालय फर्किने वातावरण बनाउन निर्देशनात्मक आदेश जारी गरेको थियो ।

आन्दोलनरत शिक्षक र शिक्षामन्त्रीबीच शनिबार बिहान छलफल भएको थियो । तर, उक्त छलफल विनानिष्कर्ष टुंगिएको थियो । त्यसपछि शिक्षक महासंघका पदाधिकारीहरूले शनिबार दिउँसो नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए ।

शिक्षक र सरकारबीच आज पनि वार्ता हुनेछ । तर, समय अहिलेसम्म तय भइसकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्