
सुनसरीको इटहरी-२० तरहरामा भएको राष्ट्रिय कविता प्रतियोगितामा अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्रथम पुरस्कार प्राप्त गरेको छ ।
‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता–२०८२’ का लागि प्राप्त भएका ४०६ कवितामध्ये १० वटा कविता छनोट गरी वाचनसहित अन्तिम प्रतिस्पर्धा गराइएको थियो ।
निर्णायकहरू मनु मञ्जिल, ठाकुर बेलवासे, बद्री भिखारीसहितको टोलीले भट्टराईको कवितालाई प्रथम स्थानको ताज दिएका हुन् ।
प्रतियोगितामा खोटाङका शुभचन्द्र राईको ‘आशा’ शीर्षकको कविता द्वितीय भयो । यस्तै, रसुवाकी एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ शीर्षकको कविताले तृतीय स्थान हात पार्यो ।
यसैगरी, सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ र दैलेखका दीपिन सिजापतीको ‘संघर्ष र संकल्प’ सान्तवना भयो ।
प्रथम हुने कवि भट्टराईलाई नगद ५१ हजार १०० सहित पुरस्कृत गरिएको छ । यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार १००, ३१ हजार १०० र ११ हजार १०० प्रदान गरियो।
उत्कृष्ट १० मा छनोट भएका गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर’, सिन्धुपाल्चोककी डा. स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवानको म्याराथुन’ शीर्षकको कवितालाई नगद पाँच हजार १०० सहित पुरस्कृत गरियो ।