
एचआईभी रोकथामका लागि २०१९ मा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड)ले जोखिममा रहेका समुदायलाई लक्षित गरेर कार्यक्रम ल्याएको थियो । त्यो थियो, (प्रि–एक्सपोजर प्रोफिल्याक्सिस) औषधि प्रेप ।
जसले एचआईभीको जोखिममा रहेको समुदाय जस्तै; यौनिक तथा लैगिंक अल्पसंख्यक (क्विअर), यौन व्यवसायीलाई लक्षित गरेको थियो । एचआईभी संक्रमणबाट जोगिनका लागि स्वस्थ्य व्यक्तिले पहिले नै खाने औषधि हो, प्रेप । जोखिममा रहेका यौनकर्मी, समलिंगी पुरुषका लागि यो औषधि प्रभावकारी मानिन्थ्यो । तर, यूएसएडको अनुदान रोकिएसँगै यसको प्रभाव यो औषधिमा परेको छ ।
यो बाहेक एचआईभी रोकथामका लागि अर्को औषधि हो, पोष्ट–एक्सपोजर प्रोफिल्याक्सिस । छोटकरीमा भन्दा पेप । यो औषधिले एचआईभी भाइरसको सम्भावित सम्पर्कपछि संक्रमण रोक्नका लागि सेवन गरिने औषधि हो । कोही व्यक्तिलाई एचआईभी लाग्न सक्ने जोखियुक्त घटना जस्तै; असुरक्षित यौनसम्पर्क वा सुईद्वारा संक्रमण भएको छ भने त्यो घटनाको ७२ घण्टाभित्र शुरू गर्नुपर्ने औषधि । यो औषधि भने नेपाल सरकारद्वारा सरकारी अस्पतालमा नि:शुल्क वितरण हुन्छ । सरकारले अहिले पनि यो औषधिको सेवा सरकारी अस्पतालबाट दिइरहेको छ ।
केही दिनअघि मात्र टिकटक प्रयोगकर्ता पराक्रम रानाले भिडियो बनाउँदै प्रेप औषधि रोकिएपछि जोखिममा हुने समुदायलाई असर पारेको उल्लेख गरेका थिए ।
‘यूएसएडले नेपालमा आफ्नो सहयोग रोकेपछि प्रेप नेपालमा छैन । अनि पेप चाहिँ केही हस्पिटलहरूमा छ तर, सबैलाई एक्सेस छैन । यो खतराको कुरा हो जोखिममा हुने समुदायलाई’, उनले भिडियोमा भनेका छन्,‘प्रिभेन्सन नै सबैभन्दा सजिलो राख्ने तरिका हो तर, प्रिभेन्सनको उपाय नै छैन । जनचेतना फैलाउनुहोस्, प्रेसर दिनुहुन्छ यो मेडिसिन नेपालमा फेरि आओस् । यो क्विअर इस्यु होइन हेल्थ क्राइसिस हो ।’
पराक्रमले भनेको जस्तो यो हेल्थ क्राइसिस हो त? यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आएको संस्था नौलो बिहानी पोखराको कार्यालय प्रमुख रजनी थकालीले पनि प्रेप आफूहरूकोमा आउन बन्द भएको सुनाइन् । तर, आफूहरूकहाँ यसको प्रयोग खासै नभएको उनको भनाइ छ ।
‘प्रेप आउन बन्द भयो । त्यो हामीसँग पनि छैन, ठ्याक्कै तीन महिना भयो । प्रेप धेरै प्रयोग गरिँदैन । एचआईभीबाट बच्नका लागि खाने यो हो । कण्डम हुँदाहुँदै किन प्रेप खाने भन्नुभयो । अब चाहिँ कण्डमलाई प्रमोट गर्ने हो । एचआईभी हुनेलाई उपचारमा ल्याउने गर्नुपर्छ’, थकालीले भनिन् ।
यद्यपि, पेप औषधि अहिले आफूहरूसँग आउन बन्द हुँदा भने समस्या भएको उनको बुझाइ छ ।
‘प्रेपभन्दा अहिले पेपमा हो समस्या । गण्डकी अस्पतालमा सम्पर्क गर्यो भने पाइन्छ । सरकारी अस्पतालमा छ, अन्यमा छैन । पहिला हामीले पनि सप्लाई गर्थ्यौं । अहिले टोटल्ली बन्द भयो’, उनले भनिन् ।
एचआईभी रोकथामका लागि प्रमुख उपाय नै सुरक्षित यौन सम्पर्क रहेको चिकित्सकहरू बताउँछन् । प्रेपले एचआईभी रोकथाममा सहयोग पुर्याए पनि यसले अन्य यौनरोगबाट बचाउँदैन । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका सूचना अधिकारी लोकराज पाण्डे प्रेप बाहेक वैकल्पिक उपाय भएको बताउँछन् ।
‘फन्ड थियो त्यो चाहिँ रोकिएको छ । हामीले त्यो औषधि मात्र होइन, कण्डम बाँड्ने पनि हो । प्रेप्सले एचआईभी मात्र हो रोक्ने, अरु यौन रोग रोक्दैन । हामीसँग वैकल्पिक अरु उपाय छन् । कण्डम प्रयोग गर्न प्रोमोसन गर्ने, सेफ सेक्सको प्रमोसन गर्ने हो । त्यो काम भइरहेको छ’, पाण्डेले भने ।
पाण्डेले एचआईभी रोकथामका लागि सुरक्षित यौन सम्पर्कमा ध्यान दिन आवश्यक रहेको सुनाए ।
‘प्रोजेक्टहरू कहिले आउँछन्, कहिले बन्द हुन्छन् । त्यो औषधि खाएपनि हामीले कण्डम लगाउनु भनिरहेका थियौं, पहिला पनि । कण्डम लगाउन झन्झट मान्नुभएन । आफ्नो स्वास्थ्य ख्याल गर्नुछ भने एचआईभी नहोस् भनेर अथवा कुनै पनि यौन रोग नहोस् भनेर आफूले पनि ख्याल गर्नुपर्यो’, उनले भने ।
प्रि-एक्सपोजरको तुलनामा प्रो-एक्सपोजर राम्रो भइरहेको यौन रोग चिकित्सक डा. खेम कार्की सुनाउँछन् । तर, सुरक्षित यौन सम्पर्क एचआईभी रोकथामका लागि सही उपाय भएको उनको भनाइ छ ।
‘पोस्ट एक्सोपजर राम्रो पनि देखिएको छ । शरीरिक सम्बन्धलाई सुरक्षित बनाउने भनेको एउटा मात्र उपाय के हो भने कण्डम नै लगाउने हो । सेफर सेक्स भनेको जहिल्यै कण्डम प्रयोग गर्नु हो’, डा. कार्कीले भन्छन् ।