१० साउन २०८३, आइतबार
सदस्यता नवीकरणमा अनिच्छा

कांग्रेसलाई कार्यकर्ता जोगाउनै मुस्किल– देउवाकै वडामा ३२ प्रतिशतले गरेनन् क्रियाशील सदस्यता नवीकरण

बैशाख १४, २०८२
काठमाडौं
कांग्रेसलाई कार्यकर्ता जोगाउनै मुस्किल– देउवाकै वडामा ३२ प्रतिशतले गरेनन् क्रियाशील सदस्यता नवीकरण

१५ दिनको थप समय दिए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै वडाका क्रियाशील सदस्यले समेत सदस्यता नवीकरण नगरेको पाइएको छ ।

चैत मसान्तबाट बढाएर वैशाख १५ गतेसम्मको समय दिए पनि सभापति देउवाकै गृहपालिका डडेल्धुराको गन्यापधुरा– १ मा अघिल्लोपटक नवीकरण गरेकामध्ये कम्तीमा १५ जनाले सदस्यता नवीकरण गरेका छैनन् । 

देउवाको वडामा अघिल्लोपटक १८० जनाले क्रियाशील सदस्यता नवीकरण गरेका थिए । यसपटक नवीकरण हुने सदस्यता संख्या जम्माजम्मी ११५ पुग्ने देखिएको छ । यसपटक पुरानामध्ये १० जनाको निधन भएको छ । बाँकी केहीले पार्टी छाडेका छन् भने केही निष्क्रिय छन् ।

गन्यापधुरा १ का वडा सचिव मीनराज जोशीका अनुसार आइतबारसम्म ११० जनाले मात्रै सदस्यता नवीकरणको लागि फर्म भरेका छन् । 

‘अघिल्लोपटक १८० पुराना सदस्य थिए । यसपटक १० जना जतिको मृत्यु भयो । ३५/४० जना बीपी कांग्रेसमा गए,’ जोशीले भने, ‘त्यसैले आइतबारसम्म ११० जनाको फर्म भरेका छौं । ५ जना जतिले हामी आउँछौं भनेर नाम टिपाउनुभएको छ । भोलिसम्ममा आएपछि ११५ जतिको सदस्यता फर्म पालिकाको केन्द्रमा पठाउँछौं ।’ 

सदस्यता नवीकरणका लागि पार्टीले यसअघि दिएको चैत मसान्त र त्यसपछि थपिएको १५ दिनको अवधिमा सदस्यहरूलाई निरन्तर आग्रह गरिएको जोशी बताउँछन् । 

जिल्लाले सदस्यता टुंग्याएर केन्द्रमा पठाइसक्न १ दिन बाँकी भए पनि अन्तिमसम्मै फर्म वडामै अड्किएको हो । मृतक १०, बीपी कांग्रेसमा गएका करीब ४० बाहेक पनि अन्य १५ जना निष्क्रिय हुन पुगेको देखिन्छ । मृतक संख्यालाई घटाउने हो भने ५५ जनाको सदस्यता नवीकरण नहुने अवस्था छ, जुन समग्रको ३२ दशमलव ३५ प्रतिशत हो ।

‘हामीले पटकपटक सदस्यता नवीकरणका लागि सदस्यहरूलाई आग्रह गरेका छौं । तर, कोही आउन चाहनुभएन, कोही बाहिर भएर सम्पर्कमा आएनन्,’ वडा सचिव जोशीले भने । 

null

नवीकरणको प्रक्रियामा पनि उस्तै बेवास्ता

चैत मसान्तभित्रै सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री एवं देउवापत्नी आरजु राणा, छोरा जयवीरसिंह देउवा र भतिजा भानु देउवाको सदस्यता नवीकरण फर्म भरिसकिएको थियो । तर, १५ दिन बित्दासमेत भरिएको फर्म गन्यापधुरा गाउँपालिका कार्यसमितिमा पुगेको छैन । 

वैशाख १५ गतेसम्ममा जिल्लाले सदस्यता नवीकरणको अपडेट गरेर केन्द्रलाई जानकारी दिनुपर्ने थियो । तर, गन्यापधुराका पालिका सभापति इन्द्रबहादुर कार्कीको फुर्सद नभएपछि सदस्यता फर्म पठाउन ढिलाइ भएको एक नेताले जानकारी दिए । सदस्यता फर्म संकलनको समयमा कार्की काम विशेष भन्दै धनगढीमा बसेको नेताहरू बताउँछन् ।  

‘हामीले चैतमै लगभग भर्ने जति सबैको काम सकाएका थियौं । तर, पालिकाको अध्यक्षसमेत रहनुभएका कार्कीले समय दिन भ्याउनुभएन,’ कांग्रेसका एक स्थानीय नेता भन्छन्, ‘त्यसैले केन्द्रीय सभापतिकै वडाबाट समेत सदस्यताको विवरण पालिकासम्म पुग्न सकेको छैन ।’ 

केन्द्रले नै भन्यो– अहिले नपठाऊ, रोक !

गत वर्षको साउनमा कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो । समिति सदस्यता नवीकरणमा देखिएका समस्या समाधान र नवीकरणका विषयमा देखिएका जटिलता फुकाउने गरी अगाडि बढ्यो ।

गत भदौ ४ गते समितिले चैत मसान्तभित्र नवीकरण टुंग्याइसक्न ७७ वटै जिल्ला कार्यसमितिहरूलाई निर्देशन दियो । तर, झण्डै एक वर्षको समय बित्न लागे पनि देशैभर सदस्यता नवीकरण टुंगिएको छैन । 

दोस्रोपटक दिएको समयमा पनि सदस्यता नवीकरण गर्नमा उत्साह नदेखिएपछि पार्टी कार्यालयले नै अहिले पार्टीको सिस्टममा अपलोड नगर्न भनेको छ । 

‘हामीले चैत मसान्तमा पनि नटुंगिएपछि वैशाख १५ गतेसम्मको समय दिएका थियौं । तर, कतिपयले फारम पुगेन भनेर अहिले पनि लगिराख्नुभएको छ । थोरै पालिकाले मात्रै टुंग्याएर जिल्लामा क्षेत्र हुँदै जिल्लामा पठाएका छन्,’ कांग्रेस केन्द्रीय कार्यालयका एक सचिवले भने, ‘केही केन्द्रको सिस्टममा अपलोड गर्छौं पनि भन्नुभएको थियो । तर, केही प्राविधिक कारणले पठाउँछौं भन्नेलाई पनि अहिले नपठाउनू, रोक्नू भनेका छौं ।’

महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले समयमा सदस्यता नटुंग्याए महाधिवेशनमा भाग लिन नदिने चेतावनी दिँदै आएका छन् । सदस्यताको विषय टुंग्याउने समिति र केन्द्रीय कार्यालयले प्राविधिक कामको टुंगो नै लगाउन नसकेको हो । 

‘हामीले नै केही प्राविधिक काममा डिसिजन लिन सकेका छैनौं । सफ्टवेयर वा एक्सल केमा अपलोड गर्ने भन्ने टुंगो लागिसकेको छैन,’ ती सचिवले भने, ‘यसैले पठाउँछौं भन्नेलाई पनि हामीले रोक्नुपरेको छ ।’ केन्द्रीय कार्यालय नै अलमलमा परेपछि ढिलाइ गरिरहेका जिल्लालाई थप सहजता भएको छ । 

null

के छन् नवीकरणमा समस्या ? 

मुख्यगरी गुटगत विवाद, गत निर्वाचनको अनुशासनको कारवाही, सदस्यता शुल्क, नेतादेखि सदस्यसम्मको बेवास्ताले नवीकरणमा समस्या देखिएको एक नेताले जानकारी दिए । 

‘आफ्नो गुट नमिलेको ठाउँमा नेताहरूले अनावश्यक खेल्न खोजेका छन् । कहीँ सदस्यता फर्म नै पर्याप्त नपठाउने, त कतै अनुशासनको कारवाहीको प्रक्रिया नटुंगिँदा समस्या परेको हो,’ ती नेता भन्छन्, ‘केन्द्रले सदस्यता नवीकरण शुल्क २०० तोकेर १५० केन्द्रमा पठाउन भनेको छ । कतिपय ठाउँमा पालिका तहबाटै सदस्यता शुल्क बढी लिन खोजेको भन्ने गुनासो सुनेका छौं ।’

यसअघि १३ औं महाधिवेशनमा नवीकरणतर्फ ४ लाख ७० हजार थिए । तर, १४ औं सम्म आइपुग्दा ४ लाख ३ हजार हाराहारीले मात्रै सदस्यता नवीकरण गरे । यो संख्या धेरै कम होइन । तर, यसपटक सदस्यता नवीकरणको संख्या अघिल्लोपटकको भन्दा कम हुने देखिएको छ । त्यसैले पार्टीले समय थपेर सदस्यता नवीकरण बढाउन खोजेको नेताहरू बताउँछन् । 

क्रियाशील सदस्यता व्यवस्थापन समितिकी सदस्य सीता गुरुङले वैशाख १५ गतेसम्म सदस्यता नवीकरण नसकिने जानकारी दिइन् । ‘हामीले सिस्टम बनाइसकेका छैनौं । तथ्यांक केन्द्रमा पठाएपछि अनलाइन सिस्टममा समावेश गर्ने जस्तो छ,’ गुरुङले भनिन्, ‘अहिलेसम्म कति जिल्लाले टुंग्याए भन्ने रेकर्ड केही छैन ।’ 

नेपाली कांग्रेस सुनसरीका पार्टी सभापति केदार भण्डारीले जति समय दिए पनि तल्लो तहबाट सदस्यता नवीकरण गर्नै नमानेको बताउँछन् । 

‘जति समय दिए पनि गर्दैनन् । अधिवेशन समयमा हुँदैन भन्ने हल्ला भएर कोही नवीकरणमा चनाखो भएर लागेका छैनन्  । आन्तरिक द्वन्द्व, एकले अर्कालाई नपत्याउनेजस्ता समस्या कांग्रेसमा छन्,’ भण्डारीले भने, ‘अहिलेसम्म धेरै ठाउँको नगरसम्म सदस्यता फर्म आएको बुझेका छौं । यो महिनाभित्र सकाउन युद्धस्तरमा काम गर्छौ‌ं ।’

सिरहाका सभापति रामचन्द्र यादवले सभापतिलाई नै मान्दैनौं भन्नेले सदस्यता नवीकरणमा बखेडा झिकेको बताए । ‘म त सदस्यता नवीकरणको विषय छिटो टुंग्याउन नियमित बैठक राखिरहेको छु । तर, सभापतिलाई मान्दैनौं । केन्द्रबाटै सदस्यता लिएर आउँछौं भनेर चुनौती दिने पनि छन् । अनुशासनमा कोही बस्नै मान्दैनन्,’ यादवले भने, ‘यो कुरा केन्द्रले बुझ्दैन, उल्टै मनोबल बढाइदिन्छ, अनि समस्या आएका हुन् । तर, पनि हामी पाँच/सात दिनमा सदस्यताको नवीकरण टुंग्याउने प्रयास गर्छौं ।’

पढ्नुहोस्, यो पनि :

जयवीरले गरे क्रियाशील सदस्यता नवीकरण, डडेल्धुरामा देउवा विरासत धान्न खोजेका हुन् ?

महाधिवेशन सार्ने पहिलो बहाना

१५ औं महाधिवेशन गर्ने पहिलो प्रक्रिया स्वरूप सदस्यता नवीकरण र वितरणको काम सकिनुपर्नेछ । तर, पार्टीले व्यवस्थापन समिति बनाएर झण्डै एक वर्ष काम गरे पनि सदस्यता नवीकरण टुंगिने स्थिति नै बनेको छैन । नवीकरण टुंगिएपछि नयाँ सदस्यताको फर्म वितरण बल्ल हुनेछ । यसअघि नवीकरण गरेकैमा गुटगत समस्या झेलेको कांग्रेसमा नयाँ वितरणमा झन् बढी किचलो हुने गरेको छ । जिल्ला सभापतिबाटै आफ्नो गुट नमिल्ने क्षेत्र र पालिकाका सदस्यता फर्ममा मनोमानी हुने गरेको नेताहरू बताउँछन् । 

‘अघिल्लोपटक नवीकरण गरेकोमा यसपटक पुनः गर्न समस्या नहुनुपर्ने हो । तर, मृतक र पार्टी छाडेका बाहेकको हकमा समेत विवाद गरियो,’ कांग्रेसका एक नेता भन्छन्, ‘पार्टी महाधिवेशन सार्ने बहाना यही सदस्यतालाई हिजो पनि मानिन्थ्यो, आज पनि नवीकरण र वितरणमा किचलोको प्रयास भइरहेको छ ।’

कांग्रेसका डा. शेखर कोइरालादेखि संस्थापन पक्षकै धेरै नेताले छिटो सदस्यता टुंग्याउन माग गर्दै आएका छन् । तर, पार्टी नेतृत्वले बाध्यकारी समय तोकेर सदस्यता टुंग्याउन सकेको छैन । बरु ढिलाइ हुँदा महाधिवेशन समयमा नगर्ने बहाना पार्टीलाई मिलेको एक केन्द्रीय सदस्य बताउँछन् । 

‘पार्टी नेतृत्वले समयमा महाधिवेशन गर्न खोजेको छैन । यसैले सदस्यता छिटो टुंगियोस् भन्नेमा नेतृत्व नै उदासीन छ,’ ती सदस्यले भने, ‘यसैले महाधिवेशन समयमा नगर्ने बहानामा हिजो पनि सदस्यताको विवाद थियो । आज पनि अनेक नाममा विवाद निम्त्याएर बहाना बनाइँदैछ ।’

नियमित अवस्थामा कांग्रेसको १५ औं महाधिवेशन २०८२ मंसिरमा गर्नुपर्ने हो । तर, सभापति देउवा प्रधानमन्त्री बन्ने र २०८४ को चुनाव गरेपछि मात्रै १५ औं महाधिवेशन गर्ने मानसिकतामा रहेको दाबी नेताहरू गर्छन् । सदस्यताकै विषय टुंगो नलागेसम्म महाधिवेशनको प्रक्रिया शुरू गर्न पनि नेतृत्वलाई दबाब नपुग्ने देखिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्