
सन् २००७ मा पलेँटीमा पहिलो खेप गीत सुनाएकी संगीता प्रधानले शुक्रबार र शनिबार साँझ फेरि आफ्नो एकल गायन प्रस्तुत गरेकी छन् । झण्डै २ घण्टासम्म चलेको पलेँटीमा संगीताले दर्जनभन्दा बढी सृजना प्रस्तुत गरिन् ।
कार्यक्रमको शुरूआत खयाल गायनबाट भएको थियो । राग ‘रागेश्री’को विलम्वित लयमा संगीता आफैंले सृजना गरेको बन्दिस (गीत) ‘सब सुख दियौ’ प्रस्तुत भएको थियो ।
एकतालबाट शुरू भएको रागले मध्यलय प्रवेश गर्दा दर्शक, श्रोता रोमाञ्चक बनेको अनुभूति हुन्थ्यो । तीनतालमा रहेको मध्यलयको बन्दिस ‘उनी उनी रहिछौ किन हो संगिनी' कविवर माधव घिमिरेको शब्द सृजना थियो ।
कार्यक्रमको दोस्रो चरणमा ठुमरी र दादरा प्रस्तुत भएका थिए । पहिलो ठुमरी राग ‘माझ-खमाज’मा आधारित थियो । यसपालिको पलेँटीको मुख्य आकर्षण ठुमरीलाई नेपाली भाषामा प्रस्तुत गरिनु थियो ।
लामो समयदेखि शास्त्रीय गायनमा क्रियाशील प्रधानलाई ‘ब्रजभाषा’ र हिन्दीमा मात्र होइन आफ्नै भाषामा पनि ठुमरी गाउन पाए हुने भन्ने सोच निक्कै वर्ष अघिदेखि लागेको रहेछ । त्यो इच्छालाई आंशिक रूपमा भए पनि यसपाली पूरा गरेकी छिन् ।
पलेँटी कार्यक्रमको तेस्रो चरणमा भने संगीताले आफ्ना नयाँ पुराना नेपाली आधुनिक गीत प्रस्तुत गरिन् । गीति चरणको शुरूआतमा गीतकार कालीप्रसाद रिजालका दुईवटा गीत प्रस्तुत भए । पहिलो प्रस्तुतिमा ‘कुन पापीले कुन निष्ठुरीले’ रहेको थियो । जसलाई संगीतकार गुरुदेव कामतले धुन भरेका थिए ।
कालीप्रसादको दोस्रो रचना- ‘जाऊ फेरि मन यो मेरो दुखाएर जाऊ’लाई संगीतकार आभासले धुन भरेका थिए । यो गीत पलेँटीबाटै प्रथमपटक सार्वजनिक भएको थियो ।
त्यस्तै, अर्को गीत- ‘जीवन चुपचाप गुजारेँ त के भो ? तिमीले जित्यौ म हारेँ त के भो ?’ शान्ति ठटालको नयाँ धुन संगीताको स्वरमा गुञ्जिएको थियो । शान्ति ठटालको धुनमा रत्नशम्शेर थापाको सृजना ‘तिर्सना छल्किन्छ’ र मन्जित तामाङको ‘मैले प्रीत लाएँ लाएँ, लाजै नमानी लाएँ' गाउँदा संगीतानको मुहारमा आनन्दको लहर फैलिएको अनुभूत हुन्थ्यो ।
पलेँटी कार्यक्रम हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको आरसालामा हुँदै आएको छ ।