२८ जेठ २०८३, बिहीबार

एक अर्ब लगानीमा विराटनगरमा औषधि उद्योग

बैशाख १६, २०८२
विराटनगर
एक अर्ब लगानीमा विराटनगरमा औषधि उद्योग

मोरङको बुढीगंगा–२ मा १ अर्ब रूपैयाँ लगानीमा औषधि उद्योग खुल्ने भएको छ । एलेक्सा लाइफ साइन्स प्रालिले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय औषधि उद्योग खोल्न लागेको कम्पनीका अध्यक्ष दिनेशकुमार ठाकुर स्वर्णकारले जानकारी दिए ।

उद्योगमा ७५ करोड रूपैयाँ लगानी भइसकेको र थप २५ करोड रूपैयाँ लगानी हुँदा उद्योगको निर्माण सकिने बताइएको छ । 

एभरेष्ट बैंकसँगको वित्तीय सहकार्यमा एक अर्बको लगानीमा स्थापना गरिएको उद्योगमा बैंकको ६० करोड र साझेदारहरूको ४० करोड लगानी हुने बताइएको छ । 

उद्योगले पहिलो चरणमा अत्यावश्यक मानिने स्लाइन पानी, दोस्रो चरणमा एसभीपी सिसाको एक एमएलदेखि २० एमएलसम्मका इन्जेक्सन र तेस्रो चरणमा आँखा र कानको ड्रप (औषधि) उत्पादन गर्ने लक्ष्य लिएको छ ।
 
एलेक्सा लाइफ साइन्स प्रालि मोरङको बुढीगंगा गाउँपालिका–२, बाइपास रोडमा सञ्चालनमा आएको छ । यद्यपि, कम्पनीको उत्पादन बजारमा भने साउनबाट मात्र आउनेछ । अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा गरेर स्थापना गरिएको उद्योगका उत्पादन उच्चस्तरीय हुने दाबी सञ्चालकहरुले गरेका छन् । 

उद्योगका उत्पादन परीक्षण अवधिमा रहेका कारण औषधि व्यवस्था विभागले बिक्रीका लागि अनुमति दिइसकेको छैन । साउनसम्ममा यसका उत्पादनको अन्तिम परीक्षणपछि प्रयोगका लागि बजारमा पठाइने कम्पनीले जनाएको छ ।

औषधि उद्योगले विराटनगरमा तत्कालै १५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने जनाइएको छ । दक्ष जनशक्ति, अत्याधुनिक प्रविधि र प्रभावकारी व्यवस्थापन प्रणाली प्रयोग गरेर उच्चस्तरको औषधि उत्पादन हुँदा त्यसले आन्तरिक खपतलाई बढाउन मद्दत माग्ने कम्पनीको दाबी छ । 

अहिले नेपालमा पूर्ण रूपले सञ्चालनमा रहेको एक कम्पनी तथा विदेशी गरी जम्मा ११ कम्पनीको उत्पादन बजारमा आउने गरेको छ । एलेक्सा सञ्चालनमा आएपछि सम्भवतः मुलुककै सबैभन्दा ठूलो तथा स्तरीय कम्पनी हुने स्वर्णकारले दाबी गरे । 

‘वार्षिक करिब ६० अर्बको बजार रहेको औषधि क्षेत्रमा राज्यको कमजोर नीतिका कारण अझै पनि ६५ प्रतिशत हिस्सा विदेशी कम्पनीले ओगटेको छ’, उनले भने, ‘हाल मुलुकमा १ सय भन्दा बढी कम्पनी औषधि व्यवस्था विभागमा दर्ता रहेको भएपनि ७५ जति कम्पनी सञ्चालनमा छन् ।’

राज्यको कमजोर स्वदेशी उत्पादन प्रोत्साहन औषधि नीति र लगभग सबै कम्पनीले एकै खालको औषधि उत्पादन गर्ने भएका कारण २० देखि २५ कम्पनी ठिकठाक चलेको भएपनि अन्य कम्पनीको अवस्था सन्तोषजनक नरहेको एलेक्साका निर्देशक रञ्जित भगतले जानकारी दिए । राज्यले विद्युत् आपूर्ति नियमित गर्न नसकेको, उद्योग स्थापना गर्दा उद्योगमा प्रयोग हुने विभिन्नखाले सामाग्रीमा अनुदानको साटो चर्को भन्सार शुल्क असुल हुने गरेको, औषधि उद्योग प्यानमा कारोबार गर्ने प्रावधान रहेको तर ,सम्पूर्ण सामग्री खरिद गर्दा मूल्य अभिवृद्धि कर तिर्नुपर्दा लागतमा थप भार पर्ने गरेको उनको भनाइ छ ।

नेपालमा एकै खालको औषधि १० भन्दा बढी स्वदेशी कम्पनीले उत्पादन गरेपनि थप २० भन्दा बढी विदेशी कम्पनीको खुला आयात गर्ने अनुमति दिँदा स्वदेशी उद्योगले उत्पादन बजारीकरण गर्न नसकेको बताइन्छ ।

सरकारले स्वास्थ्य बीमाको भुक्तानी समयमा गर्न नसकेका कारण पनि औषधि कम्पनीलाई समस्या रहेको स्वर्णकारले बताए । 

१०–१५ वर्ष अगाडि अधिकतम खुद्रा मूल्य कायम भएको औषधिको मूल्य हालसम्म यथावत् रहेको र समय सापेक्ष मूल्य समायोजन नभएको उनी बताउँछन् । 

नेपालमा उत्पादन भइरहेका औषधिसमेत आयात गरेर खपत हुने गरेको बताउँदै स्वर्णकारले सरकारले नेपालमै उत्पादन हुने औषधिको आयातमा कडाइ गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्