२३ असार २०८३, मंगलबार
आलेख

कांग्रेसमा रमिता– खुद्रे गुटबन्दीले लाग्ला पार ?

बैशाख १९, २०८२
काठमाडौं
कांग्रेसमा रमिता– खुद्रे गुटबन्दीले लाग्ला पार ?

१५ औं महाधिवेशनको समय नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्रको छलफलले नयाँ मोड लिन थालेको छ । भावी नेतृत्व र पार्टीको प्रभावकारी भूमिकाका सन्दर्भमा कुराकानी, भेटघाट, छलफल, आपसी विमर्श तथा समझदारी प्रजातान्त्रिक दलभित्रको नियमित र स्वाभाविक क्रियाकलाप, विषय वा दिनचर्या हो । तर, यसपटक हुन थालेको छलफल निकै साँघुरो, आश्चर्यजनक, आत्मकेन्द्रित, परमुखापेक्षी र परम्परागत देखिनुले पार्टी सदस्यहरूको चिन्ता बढाएको छ, किनभने यो छलफल पूर्णरूपले गुटगत, शास्त्रीय र सनातनी समेत छ । तथापि, विगतमा फरक गुटमा विभक्त पार्टीको विभिन्न जिम्मेवारीमा रहिसकेका नेताहरू जुनसुकै निष्कर्षमा पुगेपनि नयाँ शिराबाट छलफल थाल्नुले पार्टी सदस्यहरूमा कौतुहलता सिर्जना गरेको छ ।

नेपाली कांग्रेसको विभिन्न कालखण्डमा योगदान पुर्‍याएका, राज्य सञ्चालनको जिम्मेवारीमा पुगिसकेका र बलियो राजनीतिक विरासत भएका नेताहरूले शुरू गरेको छलफल आफैंमा महत्त्वपूर्ण त छँदैछ, तर यस गतिविधिले पार्टीभित्र र समग्र प्रजातन्त्रवादी शुभचिन्तकहरूबीच चासो र सरगर्मी पैदा गरेको छ । साथै, एकैसाथ केही गम्भीर प्रश्नहरू पनि खडा गरेको छ । उहाँहरूको प्राथमिकता के हुनुपर्थ्यो ? यतिबेला देश कहाँ छ ? लोकतान्त्रिक प्रणाली कसरी चल्दैछ ? सरकार के गर्दैछ ? पार्टीहरू के गर्दैछन् ? कांग्रेस महाधिवेशन कहिले हुने र जनभावना के छ जस्ता विषयहरूलाई तपशिलमा राखेर महाधिवेशनको टुंगो नलाग्दै एउटा गुटविशेष, त्यो पनि पुनः प्रधानमन्त्री हुन पर्खेर बस्नुभएका कांग्रेस सभापतिको परम्परागत समूहसँग जोडिएका निकै परिपक्व ठानिएका नेताहरूको अग्रसरताको संकीर्णता युक्तिसंगत भने पटक्कै देखिँदैन । यसले लामो अनुभव भएका आदरणीय नेताहरू पनि आफ्नो जीवनको वानप्रस्थाश्रम पार गरेर सन्यासाश्रममा पुगिसक्दा समेत लौकिक लोभबाट माथि उठ्न नसक्दा रहेछन् भन्ने यथार्थलाई स्पष्ट पारेको छ । सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने उमेर, योगदान र हैसियत भएका नेताहरू समेत यस्तो खुद्रा र औसत खेलमा संलग्न हुनुले कांग्रेसको आन्तरिक आयामलाई स्पष्ट पारेको छ ।

अहिले कांग्रेस स्थापनाको ८ दशक पूरा हुन लाग्दैछ । यो समय कुनैपनि राजनीतिक दलका लागि लामो र राष्ट्र निर्माणका निम्ति पर्याप्त समय हो । संसारका धनी देशहरूको अनुभवले प्रस्ट पारेको छ कि दुईदशक भित्रै राष्ट्र निर्माणको बलियो जग बसाल्न सकिन्छ । हामीले त अनुत्पादक राजनीतिक द्वन्द्वमा ८ दशक बितायौं, जसको आजसम्म कसैलाई हेक्का छैन । हुन त संसारमा कांग्रेसभन्दा पुराना र अनुभवी राजनीतिक दलहरू पनि छन् । नेपालकै परिप्रेक्ष्यमा पनि नेपाल प्रजा परिषद कांग्रेसभन्दा पुरानो र जेठो दल हो । यसको स्थापना कांग्रेस जन्मिनुभन्दा १० वर्षअघि नै भइसकेको थियो । तर, आज नेपाली समाजमा यसको सामान्य अस्तित्व समेत छैन । जसले देश र जनताका लागि समयसापेक्ष नीति र कार्यक्रम तर्जुमा गरेर अघि बढ्न र जनभावना अनुकूल काम गर्न सक्दैन, त्यसले आफूलाई असान्दर्भिक बनाउँदै लैजान्छ  । नीति, कार्यक्रम र जनसमर्थन राजनीतिक दलका त्यस्ता सञ्जीवनी हुन्, जसले दललाई सदैव ताजा र निरन्तर तारुण्यता प्रदान गर्छ । यस मानेमा कांग्रेस आजसम्म सफल नै थियो । तर, आजभोलिका गतिविधि हेर्दा यो दल र यसका नेताहरू स्वार्थकेन्द्रित बन्दै गएको प्रतीत हुन थालेको छ ।

दलको नेतृत्वपंक्ति संस्थाका लाखौं सदस्यहरूको भावनाविपरीत मनमौजी गर्न थालेको धेरै भयो । कुनैपनि राजनीतिक दलको नेतृत्व समग्र दल र यसका सदस्यप्रति उत्तरदायी र जिम्मेवार भएन भने त्यस दलको भविष्य उज्ज्वल हुन सक्दैन । अहिलेको आवश्यकता के हो भन्ने नबुझिकन आफ्नो वैयक्तिक स्वार्थका खातिर जसो गर्न पनि नहिच्किचाउने प्रवृत्ति मूलतः संस्थागत प्रवृत्ति होइन र यतिबेला कांग्रेस यस्तै प्रवृत्तिबाट शासित छ । यसले कांग्रेसको ऐतिहासिक व्यक्तित्वलाई धराशायी पार्दै लगेको छ । हिजोआज नेपाली कांग्रेसको परिचय त कांग्रेसइतर व्यक्ति वा समूहले पो दिन थालेका छन् । केही दिनअघि राजधानीमा सम्पन्न एक कार्यक्रममा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले कांग्रेसको राम्रो परिचय दिएर भने, 'वास्तविक कांग्रेस कहाँ छ, खोज्नुपर्ने भएको छ । यसले आफ्नो विराट व्यक्तित्वलाई गैरलोकतान्त्रिक दलहरूको टाङमुनि छिराएर राष्ट्र, जनता र दलका निर्दोष सदस्यहरूलाई अकल्पनीय पीडा दिएको छ ।'

उनको सम्पूर्ण भनाइको भावार्थ यही थियो र उपस्थित जनमानसले जनाएको समर्थन यसको प्रमाण थियो । त्यस कार्यक्रममा डा. दीक्षितले समग्र कांग्रेस नेतृत्वलाई गरेको सालिन आग्रह थियो ।

अब चर्चा गरौं, केही नेताहरूले शुरू गर्नुभएको महाधिवेशनकेन्द्रित गठबन्धनको । माथि नै चर्चा भइसकेको छ कि दिग्गज र पुराना नेताहरूको संलग्नतामा एउटा अभिनव प्रयास थालिएको छ । उहाँहरूको सदिच्छा पूरा होस् भन्नुबाहेक अहिले अर्थोक भन्न र गर्न सकिँदैन । तर, प्रश्न उठ्छ, के हाम्रो जिम्मेवारी दल र सरकारको मूल भूमिकामा पुगेर आफ्नो सदिच्छा पूरा गराउने मात्र हो त ? के अहिले हामीसँग समय र परिस्थितिको यस्तो सहज सुविधा छ त ? साँच्चै भन्ने हो भने यतिबेला कांग्रेस इतिहासकै सर्वाधिक लथालिङ्गको अवस्थामा छ । दलका अधिकांश नेताहरू आफ्नो लागि मात्र काम गर्छन्, दलको लागि गर्दैनन् । नेताको सिको गर्ने सदस्यहरूको संख्या दिनानुदिन बढिरहेको छ । यसले पार्टीलाई कहाँ पुर्‍याउँछ? एउटा जिम्मेवारीमा पुगेको व्यक्तिको प्रभावकारी कार्यसम्पादन नहुनेबित्तिकै अर्को जिम्मेवारीका लागि पूर्वयोग्यता नपुग्नुपर्ने होइन र? कि प्राप्त दर्जा अर्को जिम्मेवारीका लागि पर्याप्त हो? पार्टी र सरकार चलाउँदा प्राप्त जिम्मेवारी अनुरूप काम गर्न नसक्ने नेता वा व्यक्ति साविकभन्दा ठूलो जिम्मेवारीमा जान मिल्छ? वा सुहाउँछ? यस विषयमा बहस किन हुँदैन? सरकार र पार्टी दुवै क्षेत्रमा असफल भएका (सबै होइन) व्यक्ति फेरि अर्को जिम्मेवारीमा जान खोज्नु उपयुक्त हो र? यसले सिङ्गो संस्था, यसका सदस्यहरू र समग्र प्रणालीलाई न्याय गर्छ त? पटक्कै गर्दैन । त्यसो भए बहस के र कुन विषयमा केन्द्रित हुनुपर्ने त? आज गम्भीर प्रश्न उठेको छ । हुन त यस विषयमा बोल्दा र लेख्दा ठूलो मूल्य चुकाउनु पर्ने होला । यसमा पंक्तिकारलाई कुनै भय वा चिन्ता छैन । सत्यको बाटो हिँड्दा जतिसुकै हिसाब बिग्रिए पनि परवाह छैन । पार्टीका सदस्यहरूको अपेक्षा एकातिर र नेतृत्वको रुवाबासी अर्कोतिर देख्दा मौन बस्न नसकेर बोलिएको हो ।

आजको प्रश्न कांग्रेसको नेतृत्वमा को पुग्ने भन्ने होइन, वर्तमान संकटबाट लोकतन्त्रलाई कसरी जोगाउने भन्ने हो । यसका लागि खुद्रे गुटबन्दी गरेर पार लाग्ला त? यसका लागि त वृहत् तयारी पो गर्नु पर्ला त !

पात्र विशेषको वैयक्तिक स्वार्थपूर्ति वा महत्वाकांक्षाको सम्बोधन आजको ऐतिहासिक आवश्यकता होइन । कांग्रेसका सदस्यहरूले धेरै अपेक्षा गरेका र बारम्बार अवसर पाएका नेताहरूको भूमिका कस्तो हुनुपर्थ्यो भन्ने प्रश्न आजको मूल चिन्ता हो । सुझबुझ, अनुभव र योगदानको विशिष्ट पहिचान भएका नेताहरूले औसत क्षमता देखाएर मूल नेता बन्न सकिँदैन भन्ने थाहा पाउनुपर्ने हो । फेरि औसत क्षमताले देशको वर्तमान चुनौतिसँग जुझ्न पनि सकिँदैन । कांग्रेस लथालिङ्ग भएको बेला केही व्यक्ति भेला भएर हामीलाई मूल नेता बनाइदेऊ भनेर याचना गर्नु खासै गतिलो काम होइन । कांग्रेस सभापति देउवा कसैलाई याचना गरेर नेतृत्वमा आएका व्यक्ति होइनन् भन्ने सबैलाई थाहा हुनुपर्ने हो । संघर्ष, उतारचढाव र आफ्नै बुतामा अघि बढेको व्यक्तिलाई यस्तो कुरा मन पनि पर्दैन शायद । तसर्थ आजको आवश्यकता के हो त भन्ने प्रश्नले सम्बोधन खोजेका बेला तदनुरुप काम गर्नु सबैभन्दा ज्यादा बुद्धिमत्ता हो ।

अहिले हामी आफैंले स्थापना गरेको संघीय लोकतान्त्रिक शासन प्रणालीमाथि उठेका र उठाइएका अनगिन्ती प्रश्नहरूको एकैसाथ सामना गरिरहेका छौं । यस्तो प्रश्न उठ्नु र उठाइनुमा हामी समेत जिम्मेवार छौं भन्ने यथार्थ बिर्सनु हुँदैन । आजसम्म पार्टी र सरकार चलाउँदा हामीले गरेका गल्ती र कमीकमजोरीको निकै अग्लो चाङ छ । नत्र खासै ठूलो जनसमर्थन नभएका दल र व्यक्तिले यति गम्भीर प्रश्न उठाउन र हामीमाथि औंला ठड्याउन सक्ने थिएनन् । त्यसैले आजको प्रश्न कांग्रेसको नेतृत्वमा को पुग्ने भन्ने होइन, वर्तमान संकटबाट लोकतन्त्रलाई कसरी जोगाउने भन्ने हो । यसका लागि खुद्रे गुटबन्दी गरेर पार लाग्ला त? यसका लागि त वृहत् तयारी पो गर्नु पर्ला त ! कांग्रेसभित्र निकै ठूलो सकारात्मक तागत र ऊर्जा छ । तर, यो छरपस्ट र थिलथिलो छ । यसका कारण प्रचलित र अस्वस्थ गुटबन्दी हो, जुन फेरि शुरू हुन लागेको छ । यो साँच्चै अदूरदर्शी र आत्मघाती छ । यतिबेला हाम्रा अग्रज नेताहरूले एकै ठाउँमा बसेर कांग्रेसको आन्तरिक शक्तिलाई एकत्रित गर्ने हो । अनि मात्र यसको कुण्डलिनी जाग्रित हुन्छ ।

हामीले थाहा पाउनुपर्ने हो, कांग्रेस ठूलो राजनीतिक घेराबन्दीमा छ र यो कसिँदैछ । हाम्रो घाँटीमा लोकतन्त्र विरोधीहरूको पासो छ । यसलाई कसेर हामीलाई ठहरै पार्ने अन्तिम तयारी देखिँदैछ । यसबाट बच्ने हामीसँग एउटै विकल्प छ, त्यो हो आन्तरिक एकता र कांग्रेसको सुदृढीकरण । यसका लागि एउटा निश्चित समयसम्म सबै नेताबीच हार्दिकता । घर बलियो नभए छिमेकीले हेप्छ भन्ने हाम्रो मान्यता छ । आपसी गुटबन्दी गर्दै गरौंला, अहिलेको आवश्यकता कांग्रेसको आन्तरिक जीवनलाई व्यवस्थित बनाउनु हो । हामीसँग राम्रो सिद्धान्त, गौरवान्वित इतिहास र ठूलो जनसमर्थन छ । यसको हेक्का राखेर देश, जनता, लोकतन्त्र र नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि काम गर्ने कि आफ्नो निजी र तत्कालीन फाइदाका लागि काम गर्ने?

महाधिवेशनकेन्द्रित छलफलमा जुट्नुभएका नेताहरूले १५ औं महाधिवेशन कहिले सम्पन्न गराउँदै हुनुहुन्छ भन्ने आमजिज्ञासा पनि छ । किनभने तपाईंहरूकै एकताबद्ध प्रयासबाट कांग्रेसको वर्तमान नेतृत्व चयन भएको हो भन्ने सबैलाई थाहा छ । यसको अर्थ आगामी महाधिवेशन समयमै सम्पन्न गराउने दायित्व पनि सबैभन्दा ज्यादा तपाईंहरूकै हो । के २०८२ मंसिरभित्र कांग्रेस महाधिवेशन हुँदैछ त? छ भने यस सत्प्रयासका लागि तपाईंहरूप्रति आभार प्रकट गर्नैपर्छ । अन्यथा किन हुँदैछैन, यसको जवाफ पनि दिनुपर्नेछ । तसर्थ, हामीले आजका समग्र समस्या पहिचान गरी प्राथमिकताक्रमका आधारमा काम गर्नुपर्छ र यो एकताबद्ध हुनुपर्छ । नेतृत्वमा को पुग्ने वा कसलाई पुर्‍याउने अहिलेको मुख्य प्राथमिकता होइन । हाम्रो संगठनात्मक व्यवस्थापन प्रमुख प्राथमिकता हो । यसका लागि जसले काममा सबैलाई उछिन्छ, उही नेता हो । हामीले प्राविधिक हिसाब होइन, भावनात्मक र राजनीतिक क्रियाशीलता प्रदर्शन गर्नुपर्छ । समयले खोजेको भूमिका यही हो ।

पार्टीको निर्णय प्रक्रिया, अवसरको वितरण, न्याय पद्धति, मूल्यांकन प्रणाली सबैमा पुनरवलोकन चाहिएको छ । पार्टीमा सम्पूर्ण सदस्यको अपनत्व र स्वामित्व देखिँदैन । यसलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता छ । देशको निर्वाचन प्रणाली र राज्य संरचनामा परिवर्तन आवश्यक भएको छ । न्यायालय, व्यवस्थापिका र कार्यपालिकामा समयोचित सुधार र पुनःसंरचना गर्न आवश्यक छ । कर्मचारीतन्त्रलाई कामकाजी र प्रभावकारी बनाउन जरुरी देखिन्छ । निःशंकोच भन्न सकिन्छ, देशमा कुशासन छ । यसका कारण भ्रष्टाचार मौलाएको छ । यसले राजनीतिक प्रणालीप्रति वितृष्णा बढेको छ । यसलाई रोक्न सकिएन भने लोकतन्त्रको जगेर्ना गर्न सकिँदैन । बेरोजगारी र युवा पलायन भयावह छ । यसको उपचार खोज्नुपर्ने छ । यस्ता अनगिन्ती प्रमुख विषय छाडेर थोत्रो गुटबन्दीको अर्थ छ र ? त्यसैले मूल विषयमा केन्द्रित बन्नु हामी सबैका लागि हितकर छ भन्ने लाग्छ ।

salt training

कमेन्ट गर्नुहोस्