
तल्लो बाटो (डंकी रुट) हुँदै अमेरिका जान पाइने आशामा बसेका रुकुम आठबीसकोट ६ का किरण केसी यतिबेला गुमेको पैसा फिर्ता पाउने आशमा अड्डा अदालत धाइरहेका छन् ।
अमेरिका लैजान्छु भनेर रुकुम पश्चिमको बाँफिकोट– २ का कलबहादुर बस्नेतले किरणसँग पटक-पटक गरेर ५० लाखभन्दा बढी मागे । किरणजस्तै अमेरिका जान खोज्ने अन्यबाट पनि लुटेको करोडौं रकम लिएर कलबहादुर दुबई बस्दै आएका छन् ।
अमेरिका लैजाने भनेर किरणलगायत अन्य युवालाई कलबहादुर बस्नेतले ९ महिना दुबईसमेत लगेर राखेका थिए । त्यहाँ सानो कोठामा धेरै जनालाई भेडाबाख्रा जस्तो राखिएको थियो ।
जब किरणको दुबईको भिजा सकियो, त्यतिबेला दुबईमै रहेका कलबहादुर सम्पर्कमा आएनन् । अनि त्यहाँको अध्यागमनले आफूलाई जबर्जस्ती डिपोर्ट गरिदिएको किरण बताउँछन् ।
नेपाल आएपछि पनि कलबहादुरसँग उनको सम्पर्क भइरहन्थ्यो । जसरी पनि अमेरिका लैजान्छु भनेर कलबहादुरले पछिल्लो समय २०८१ को मङ्सिर २० गते निराजन बुढाथोकीको खातामा १० लाख रुपैयाँ हालिदिन भने ।
त्यतिबेलासम्म अमेरिकामा दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भइसकेका थिए भने शपथ लिन बाँकी थियो । ट्रम्पले शपथ लिएर कार्यकाल शुरू गर्नुभन्दा अघि नै किरणलाई अमेरिका पुर्याइने आश्वासन दिएर निराजनमार्फत कलबहादुरले अन्तिममा १० लाख ठगेका थिए ।
त्यसअघि किरणलाई अमेरिका पठाउन सहयोग गरिरहेका आफन्तले कहिले २० लाख, कहिले १० लाख त कहिले ५ लाख कलबहादुरको खातामा जम्मा गरिदिएका थिए ।
'जम्मा जम्मी ५० लाखभन्दा धेरै बुझाएँ,' किरणले लोकान्तरसँग भने, 'सबै पैसा आफन्तसँग सापटी मागेको हो । कलबहादुरले आफ्नो खातामा पैसा हाल्दा ट्रान्जेक्सन डिटेलमा सापटी लेख्न भन्थे । सापटी लेखेपछि कानूनले त्यसलाई हल्का ढंगले हेर्ने रहेछ ।'
तर, पछिल्लोपटक उनका आफन्त शेरबहादुर वलीले निराजनको खातामा हाल्दिएको १० लाखमा ट्रान्जेक्सन डिटेलमा 'किरण केसी वैदेशिक रोजगार' भनेर लेखे । त्यसपछि मात्र किरणलाई वैदेशिक रोजगार विभागमा आएर आफू ठगीमा परेको भन्दै उजुरी गर्न सजिलो भयो ।
उनले बुधवार वैदेशिक रोजगार विभागमा दिएको उजुरीमा भनेका छन्, 'मलाई वैदेशिक रोजगारमा अमेरिका पठाई काममा लगाइदिन्छु र मासिक ५ लाखभन्दा बढी कमाइ हुन्छ भनेपछि म जान तयार भएँ । मैले निजको विश्वासमा परी रकम बुझाएको तर, अहिलेसम्म पठाउन नसकेकाले रकम फिर्ता गराइदिन हुन अनुरोध छ ।'

अहिले निराजन र कलबहादुर दुवै किरणको सम्पर्कमा छैनन् । अवैध आप्रवासीप्रति अमेरिकी राष्ट्रपति ट्रम्पको कडा नीतिका कारण अमेरिका जाने किरणको आशा मरिसकेको छ ।
२५ वर्षीय किरण वैदेशिक रोजगारीका लागि यसअघि साउदी अरब गएका थिए । सजिलै अमेरिका जान पाइने भनेर आफन्तले घर बोलाएपछि ठीकठाक कमाइ गरिरहेका किरण फर्किए ।
'साउदी अरबमा अलिअलि कमाएको पैसा त गयो–गयो, यहाँ आफन्तले दिएको सापटी पनि फिर्ता आउनेजस्तो देखिएन, न अमेरिका जान नै पाइयो,' किरणले भने ।
कलबहादुरले यसअघि धेरैलाई अमेरिका पठाएकाले विश्वास लागेर पैसा दिएको किरणको भनाइ छ ।
'२/३ वर्षअघि रुकुममा अमेरिका जाने सिजन नै चलेको थियो,' किरणले भने, '२ वर्षअघि एकजना १ महिनामै अमेरिका पुगेको पनि थियो । त्यही देखेर मलाई पनि अमेरिका जाने आश पलाएको थियो ।'
उनका कतिपय आफन्त पनि तल्लो बाटो हुँदै अमेरिका पुगेका छन् ।
५० लाखदेखि १ करोडसम्म लिएर अमेरिकामा मान्छे पठाउने दलालको कनेक्सन रुकुमकै प्रदेश सांसदहरूसम्म पुग्ने कतिपय पीडितको दाबी छ ।
कलबहादुर बस्नेतसँगै रुकुमकै टीकाराम खनाल, मुक्ति केसी, मानव थापा, कलबहादुर बस्नेत, लालवीर बोहरा, मुकन्द जिसी, रुपक गौतम पनि यो धन्दामा सामेल रहेको आरोप छ ।
यो टीमले अर्कैको बैंक खाता प्रयोग गरेर पैसा जम्मा गर्न लगाउँछ । त्यस्तै, भारतमा पनि यिनीहरूको सेटिङ रहेको पीडितको भनाइ छ ।