
ग्लोबल आईएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल)सम्बन्धी 'ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन' कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर वमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकहरूसहित विभिन्न संस्थाको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवाहरू विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो ।
यस प्रतियोगितामा २१ टोलीहरूलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनोट गरिएको थियो । प्रतियोगी टोलीहरू विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, विरगञ्ज, काभ्रे, धरानबाट सहभागी भएका थिए ।
सहभागी टोलीहरूमध्य टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरूप रु १ लाख जित्न सफल भएको छ ।
साथै, डब्लुडिके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरूले क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं पुरस्कारबाट पुरस्कृत भएका छन् ।
दोस्रो हुने टोली डब्लुडिकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौं हुने क्रमशः टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन् । साथै, वेष्ट प्रिजेन्टेसन विधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ ।
प्रतियोगिताका विजेता टोलीहरूलाई उक्त कार्यक्रमका प्रमुख अतिथि, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर वमबहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे ।
नेपालमा पहिलोपटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन सञ्चालन गरेकोमा डेपुटी गभर्नर मिश्रले आयोजक ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिए ।
यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीहरूलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधाहरूमा नवीनतम प्रविधिको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास नेपाल राष्ट्र बैंकले लिएको डेपुटी गभर्नर मिश्रले जानकारी दिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरू र यसको चुनौतिहरूको समाधानको लागि सहयोग पुग्नुका साथै नवीनतम सेवाहरूको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको जानकारी दिए । यस प्रतियोगिताको उत्कृष्ट टोलीहरूलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत जानकारी प्रदान गरे ।
बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरू प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको र डिजिटल बैंकिङ सेवाहरूलाई थप प्रभावकारी बनाउन नवीनतम धारणाहरूलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले बैंकले तोकेका विभिन्न विषयहरूमा केन्द्रित रही आफ्ना धारणाहरू प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीहरूले बैंकको वेबसाइट मार्फत आवेदन दरखास्त गरेका थिए । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा संचालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ्ग र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरूबाट फरक-फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २२१ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।