
नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सम्बन्धित मन्त्रीको उपस्थितिविना बजेटको छलफलमा भाग नलिने अडान लिएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका लागि समय पाएका राईले रोष्ट्रममा गएपछि सबै ९ जना मन्त्री उपस्थित नभई विषय वस्तुमा नबोल्ने अडान लिएका थिए ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले विषयमा बोल्न आग्रह गरेपछि उनले मन्त्री नआई नबोल्ने अडान लिए ।
९ वटा मन्त्रालयको छलफल भइरहेकोमा संसद्मा २ जना मन्त्री मात्र उपस्थित थिए । ‘संसद् बैठक विधिमा चलाऔं, मन्त्रीविना मलाई बोल्नै फुर्दैन,’ राईले भने ।
त्यसपछि सभामुखले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
यसअघि पनि उनले प्रिबजेट छलफलमा अर्थमन्त्री नआई छलफलमा भाग नलिने अडान लिएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो ।