२७ जेठ २०८३, बुधबार

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान​

बैशाख २४, २०८२
खोटाङ
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान​

खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरक-फरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरेको हो । 

दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिए । 'हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौंदेखि जगडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ,' उनले भने, 'हाम्रो पालिकामा फरक-फरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेका छन् । उहाँहरूलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको हो ।'

गाउँपालिकाको कार्यालय खोटेहाङले वडा नम्बर १ लिकुवापोखरीका चार, वडा नम्बर २ वाप्लुखाका एक, वडा नम्बर ३ सावाकटहरेका चार, वडा नम्बर ४ बडकादियालेका चार जोडीलाई सम्मान गरेको छ ।

त्यस्तै, वडा नम्बर ६ इन्द्रणीपोखरीका छ, वडा नम्बर ७ खोटाङबजारका एक, वडा नम्बर ८ सिम्पानीका ११ र वडा नम्बर ९ लिच्कीराम्चेका नौ जोडीलाई सम्मान गरिएको गाउँपालिका उपप्रमुख रुपेश राईले जानकारी दिए । उनका अनुसार वडा नम्बर ५ चिप्रिङमा केही समयपछि अर्को चरणको कार्यक्रम राखेर सम्मान गरिने छ । 

अन्तरजातीय विवाह गरेपछि अदृष्य रूपमा सामाजिक हिंसामा रहेका जोडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उनीहरू हर्षित भएका गाउँपालिकाका अध्यक्ष राईले बताए । उनका अनुसार अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले सचेतनामूलक अभियानसँगै वडा-वडामा विविध कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।

गाउँपालिकाले गरेको सम्मानले सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताए ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । 

सम्मान कार्यक्रमको अवसरमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले वडास्तरीय जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।

सम्मान कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानून, दलितले भोगिरहेका विभेद र छुवाछुतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्