
पब्लिकेसन नेपालयले २० वर्ष पुगेको अवसरमा किताबमा विशेष छुटसहित पुस्तक मेला गर्ने भएको छ । नेपालयले आफ्ना प्रकाशनमा ६० प्रतिशतसम्म छुट दिने बताएको छ ।
यही वैशाख २७ र २८ गते (शनिबार र आइतबार) हुने दुई दिने पुस्तक मेलामा लेखकहरूसित भेटघाट र पुस्तकमा हस्ताक्षर पनि हुनेछ ।
पाठकहरूले आफ्ना प्रकाशन एकै ठाउँ छुट मूल्यमा किन्न सकून्, आफ्ना प्रिय लेखकसित भेटघाटको मौका पाऊन् भन्ने उद्देश्यले पुस्तक मेला आयोजना गर्न लागेको पब्लिकेसन नेपालयले जनाएको छ ।
‘हाम्रो पहिलो पुस्तक पल्पसा क्याफेले धेरै पाठकको माया पायो’, पब्लिकेसन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले भनिन्, ‘२० वर्षदेखि पाएको मायाको सम्मानमा हामी आफ्नै अफिस कालिकास्थानमा पुस्तक मेला आयोजना गरेर पाठकलाई सुखद् अनुभव दिने तयारीमा छौं ।’
पुस्तक मेलामा नेपालयका ३० भन्दा बढी लेखकको उपस्थिति रहने मास्केले बताइन् । ‘हाम्रा लेखक अच्युतकृष्ण खरेल, अरुणा उप्रेती, आनी छोइङ डोल्मा, आभास, कालीप्रसाद रिजाल, किशोर थापा, कुमार नगरकोटी, गणेशप्रसाद लाठ, गिरीश गिरी, जीवनकुमार प्रसाईं, जेबी दर्लामी, तारानिधि भट्टराई, तुलसी भट्टराई, दिनेश अधिकारी, दुर्गा कार्की, नारायण वाग्ले, निमानन्द रिजाल, पद्मसुन्दर जोशी, महेशराज पन्त, लुज माथेमा, विप्लव प्रतीक, श्रवण मुकारुङ, सुदीप श्रेष्ठ लगायतको उपस्थिति रहनेछ’, मास्केले भनिन्, ‘लेखकसित भेटघाट, कुराकानी गर्ने मौकामा सहभागी हुन कुनै शुल्क लाग्दैन, पुस्तक ५० प्रतिशतसम्म छुटमा किन्न सकिन्छ ।’

दुई दिने पुस्तक मेलाको आरम्भ जीवनकुमार प्रसाईंको पाँचौं पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’बाट हुनेछ । शनिबार बिहान ९ बजे पुस्तक मेला स्थलमा उक्त पुस्तक लोकार्पण हुनेछ । १० वर्ष पहिले नेपालयबाटै प्रसाईंको ‘जीवन जिउने काइदा’ प्रकाशन भएको थियो, जो पाठकको अत्यधिक रोजाइमा पर्छ । यो पुस्तक नवौं पटक पुनःमुद्रण भइसकेको छ ।
प्रसाईंको नयाँ पुस्तक इमोसनल इन्टेलिजेन्समा केन्द्रित छ । ‘एआईको जमाना छ तर म इआई अर्थात् इमोसनल इन्टेलिजेन्सतिर लागेको छु’, लेखक प्रसाईं भन्छन्, ‘१० वर्षमा पाँच पुस्तक लेख्ने जाँगर मलाई असीमित पाठकहरूको प्रेमपूर्ण पठनले नै दिएको हो ।’
पुस्तक मेलाको समापन काव्य अनुष्ठानबाट हुनेछ । नेपालयले तीन वर्षदेखि ई–कविता शीर्षकमा हरेक साता एक कविता प्रसारण गर्छ । ई–कविता संयोजन गर्दै आएका कवि मुकारुङले नै काव्य अनुष्ठान संयोजन र सञ्चालन गर्दै छन् ।
‘कवितामा लगानी गर्न धेरै प्रकाशक हिचकिचाइरहेका बेला नेपालयले कविहरूलाई पारिश्रमिकसहित ई–कविता तथा एकै महिनामा दुई कवि कालीप्रसाद रिजाल र दिनेश अधिकारीका काव्य–कृति प्रकाशन गर्नु हामी कविहरूका लागि ठूलो हौसला हो’, संयोजक कवि श्रवण मुकारुङले भने, ‘नेपालयको पुस्तक मेलामा मसहित अग्रज र अनुज पुस्ताका १५ कविले काव्यपाठ गर्नुहुनेछ ।’
नेपालयले सन् २०२५ को नयाँ वर्षका दिन ‘२०२५ मा २५ का २५’ शीर्षकमा नयाँ पुस्ताका कथा, कविता, निबन्ध आह्वान गरेको थियो । ‘हामीलाई धेरै रचना प्राप्त भएका छन् । ती युवा लेखक र केहीबाट पुस्तक लेखन–प्रकाशन प्रक्रियाबारे धेरै जिज्ञासा आउने हुँदा हामीले पुस्तक मेलामा ती जिज्ञासा सम्बोधन गर्ने प्रयास पनि गर्नेछौं’, नेपालयका सम्पादक विमल आचार्यले भने ।
२० वर्षअघि ‘पल्पसा क्याफे’ प्रकाशन गर्दा आफूहरूले पुस्तक प्याकेजिङ र प्रवर्द्धनमा केही नयाँ प्रयास गरेको स्मरण गर्छन्, नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ ।
‘पुस्तक बजारलाई फेरि चलायमान बनाउन हामी फेरि केही सिर्जनशील सक्रियतातिर लागेका छौं । महिनामा एउटा किताब प्रकाशन, कालिकास्थानको आरशालामा पुस्तक पसल सञ्चालन, पुस्तक मेला, युवाहरूबाट खुला रचना आह्वान जस्ता गतिविधि हामी बढाउँछौं’, श्रेष्ठ भन्छन्, ‘देशैभर साहित्य महोत्सव भइरहेका छन्, यो सुखद् कुरा हो । तर त्यहाँ किताब पढ्ने, किताब साटासाट गर्ने, किताब किनबेच गर्ने, लेखक र पाठककै बहुमत पो हुनुपर्ने हो कि ?’
दुई दिने किताब मेलाले लेखक, पाठक, समीक्षकहरूमा नयाँ उत्साह ल्याउने श्रेष्ठको विश्वास छ ।