नर्भिक इन्टरनेशनल अस्पतालले अस्पतालमा कार्यरत उत्कृष्ट १६ नर्सिङ कर्मचारीहरूलाई पुरस्कृत गरेको छ।
विश्व नर्सिङ दिवसका अवसरमा आज आयोजित समारोहमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी, अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले १६ जनालाई ‘बेस्ट नर्सिङ स्टाफ’ अवार्डबाट पुरस्कृत गरेका हुन् ।
पुरस्कृत हुनेहरूमा नेहा ट्वाटी, प्रविना डंगोल, उषा पन्त, अर्डिना गैडा, आयशा डंगौरा, अन्जली गोले, रक्षा थापा, रश्मि थापामगर, सचिना, महर्जन, सिमरन देव, अक्षिता कार्की, अस्मिता सुनारीमगर, लक्ष्मीकेशरी फैंजु, विपिना घले, गोपालबहादुर बिक र कीर्ति श्रेष्ठ छन् ।
पुरस्कृत नर्सिङ कर्मचारीहरूलाई अस्पतालका तर्फबाट प्रमाणपत्र र मिडास डे स्पाको निःशुल्क गिफ्ट भौचर पनि प्रदान गरिएको थियो ।
सो अवसरमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले अस्पतालको मुख्य आधारशिला नै नर्सहरू भएको उल्लेख गर्दै सबै नर्सहरूलाई समान व्यवहार र एक अर्कालाई उत्प्रेरणा जगाउने काम गर्नुपर्ने बताइन् । आगामी दिनमा डेजी फाउन्डेसनको सहकार्यमा उत्कृष्ट नर्सहरूलाई पुरस्कृत गर्दै अघि बढ्ने अवसर दिने उनको भनाइ छ ।
यसअघि अस्पतालले आज बिहान वाकाथन कार्यक्रम आयोजना गरेको थियो । बिहान साढे ७ बजे नर्भिक अस्पतालबाट शुरू भएको वाकाथन कुपण्डोल, कानदेवतास्थान, पुल्चोक, मंगलबजार, कृष्ण मन्दिर पुगेर पाटन ढोका हुँदै सोही रुटबाट फिर्ता भएको थियो ।
त्यस अवसरमा कृष्णमन्दिरको प्रांगणमा अस्पतालका नर्सिङ कर्मचारीहरूद्वारा सीपीआरसम्बन्धी जनचेतनामूलक प्रदर्शनी आयोजना गरिएको थियो । वाकाथनमा अस्पतालमा कार्यरत नर्सहरूका साथै कर्मचारीहरू सहभागी थिए ।
स्वास्थ्य सेवामा नर्सहरूको समर्पण र योगदानलाई अझ बढी उजागर गर्ने उद्देश्यले विश्व नर्सिङ दिवसका अवसरमा वाकाथन आयोजना गरिएको अस्पतालले जनाएको छ ।
आधुनिक नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्स काउन्सिलको आह्वानमा हरेक वर्ष मे १२ का दिन यो दिवस मनाउने गरिन्छ ।