
मकवानपुरको हेटौंडा–१८ स्थित मनोरम पर्यटकीय स्थल गुम्बाडाँडा (मूर्ति बगैंचा)मा अब आगन्तुकलाई थप आकर्षित गर्न नयाँ आकर्षणसहित चियाभट्टी सञ्चालनमा आएको छ ।
स्थानीय युवा सृजन बास्तोलाले स्वदेशमै स्वरोजगार र आत्मानिर्भर बन्न आफ्नै ठाउँमा चियाभट्टी सञ्चालनमा ल्याएका हुन् ।
केहीदिनअघि सञ्चालनमा आएको चियाभट्टीले यहाँ आउने पर्यटक तथा आसपासका स्थानीयलाई विशेष स्वादको अनुभूति प्रदान गर्ने बास्तोलाले बताए । हरेक सेवाग्राहीलाई घरकै जस्तो वातावरण महसुस गराउने प्रयास गर्ने बास्तोलाको भनाइ छ ।
‘मैले यहाँ आउने हरेक पाहुनाले घरजस्तै आत्मीयता अनुभव गर्नुहुन्छ भन्ने चाहेको छु,’ बास्तोलाले भने ।
चियाभट्टीमा विभिन्न प्रकारका स्वादिष्ट चिया, खाजा र नास्ता उपलब्ध हरेको बास्तोलाले बनाए । स्थानीय परिकारलाई समेटेर तयार पारिएको मेनुमा आगन्तुकले घरैमा बनाएजस्तो स्वादको आनन्द लिन पाउने उनले बताए ।
बास्तोलाको चियाभट्टीले आर्थिक मुनाफासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको छ । बास्तोलाले चियाभट्टीमा राखेको डोनेसन बक्समा जम्मा भएको रकमबाट स्थानीय सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएका छन् ।