
सरकारी स्वामित्वमा रहेको दूधकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङले गत सालको साउन महिनाभरि जम्मा १६ मिनेट काम गरेको विवरण लोकान्तरलाई प्राप्त भएको छ ।
उनले साउनमहिनामा कार्यालयमा जम्मा १६ मिनेट मात्र बसेका हुन् । २०८१ सालको साउन महिनाको हाजिरी दस्तावेज अनुसार ३२ दिनको महिनामा उनले केवल एक दिन मात्र आएको र गएको दुवै हाजिरी गरेका छन् ।
वैशाख र असारमा पनिअनियमित
गुरुङको हाजिरी रेकर्ड साउन महिनामा मात्र होइन, वैशाख र असार महिनामा पनि अत्यन्तै अनियमित देखिन्छ ।
वि.सं. २०८१ सालको वैशाखको २ गते आइतवार १०:३४ मा कार्यालय आएर १७:४५ मा फर्किए । तर त्यसपछिका सोमबार र मंगलबार उनी कार्यालय कहिले आएका हुन् भन्ने जानकारी छैन, गएका समय मात्र क्रमशः १४:१९ र १६:३८ उल्लेख छ । वैशाख ६ गते बिहीबार उनी १२:४९ मा कार्यालय पुगेका तर गएका समय उल्लेख छैन ।
वैशाख १० गते सोमबार १३:३० मा आएर १८:०० सम्म बसेका छन् भने वैशाख १२ गते ११:०९ मा आएर १७:२१ मा फर्किएका छन् । उनले वैशाखमा पनि ५० घण्टा काम गरेनन् ।
२०८१ असार महिनाको हाजिरीमा गुरुङ कहिले ११ बजे त कहिले १ बजे मात्र कार्यालय पुगेका छन् । असार १० गतेपछि त उनले गएको समय मात्र हाजिरीमा उल्लेख गरेका छन्, आउँदाको समय लेखिएको छैन ।
हाजिरी रेकर्डका आधारमा उनले असार महिनाभरि जम्मा ४८ घण्टा मात्रै काम गरेका छन् ।
हेर्नुहोस् हाजिरी:



उनले प्रायजसो यस्तै गर्ने गरेको भन्दै अन्य कर्मचारीहरू दूधकोशीका अन्य कर्मचारीहरू रुष्ट देखिन्छन् ।
'दिनभर जसो उहाँ कहाँ जानुहुन्छ थाहा हुन्न । अनि कार्यालय समयको अन्तिमतिर आउने, एउटा थम्ब हान्ने अनि निस्कने उहाँको दिनचर्या नै बनेको छ,' कार्यालयका एक कर्मचारीले भने ।
तलब भत्ता सवा दुई लाख
गुरुङ प्राधिकरणका दशौं तहका कर्मचारी हुन् । उनको आधारभूत तलब जम्मा ५६ हजार ७८७ हो । तर, उनले प्रत्येक महिना २ लाख २७ हजार १४८ तलब भत्ता बुझ्ने गर्छन् ।
उनले आफ्नो तलबको ३ सय प्रतिशतभन्दा बढी भत्ता बुझ्ने गर्छन् ।
हेर्नुहोस्,तलब भत्ताको विवरण:


आफ्नै निर्देशन उल्लंघन
महिनामा १६ मिनेट मात्र काम गर्ने गुरुङले अरूलाई भने कडा निर्देशन दिने गर्छन् ।
गत वैशाखमा उनले कर्मचारीलाई सम्बोधन गर्दै लेखेको एक पत्रमा आफ्नो कार्यालयमा आएको र गएको समय जनिने गरी कर्मचारीले हाजिरी गर्नुपर्ने उल्लेख छ ।
'बिहानको कार्यालय समय शुरू भएपछि १५ मिनेटभित्र आएको हाजिरी गरिसक्नुपर्नेछ भने साँझ कार्यालय समय सकिनुभन्दा ५ मिनेटअघि भित्र मात्र गएको हाजिर गर्नुपर्नेछ,' उक्त निर्देशनमा भनिएको छ ।
त्यस्तै, १ देखि ३ घण्टाअघि नै कार्यालय छाडेको हाजिर गरेमा वा कार्यालय आएको र गएको हाजिर गरेको बीच ४ घण्टाभन्दा कम समयावधि भएमा कर्मचारीले त्यस दिन आधा दिनको बिदा लिनुपर्ने उल्लेख छ ।
उनले निर्देशनमा भनेका छन्, 'निर्धारित कार्यालय समयमा कुनै कर्मचारी विशेष परिस्थिति वा कारणले कार्यालय समयभन्दा ढिलो गरी हाजिर भएमा वा कार्यालय समयभन्दा छिटो कार्यालय छाडी जानु परेमा छुट भएको समयको मासिकरूपमा गणना गरी छुट हाजिर ७ घण्टाभन्दा बढी भएको देखिएमा प्रत्येक ७ घण्टाको १ दिनका दरले सम्बन्धित कर्मचारीको सञ्चित बिदा (क्रमशः पर्व तथा भैपरी, घर बिदा र बिरामी बिदा) बाट कट्टा गरिनेछ ।'
हेर्नुहोस्,निर्देशन:


कुलमानका 'दाहिने हात'
गुरुङलाई प्राधिकरणका कर्मचारीले निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङका दाहिने हात पनि भन्ने गर्छन् ।
आयोजना प्रमुखबाट तत्काल हटाउनु भनेर मन्त्रालयले दिएको निर्देशन अटेरी गरेर घिसिङले उनीमाथि कारबाही गरेका थिएनन् ।
गत फागुन ८ गते ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले दूधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी निर्देशक विमल गुरुङलाई जिम्मेवारीबाट हटाउनू भन्दै विद्युत प्राधिकरणलाई पत्र लेखेको थियो ।
'विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा. मन्त्रीज्यूकाबारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशन समेत भइसकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सोको जानकारी गराउनुहुन मिति २०८१/११/८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ,' पत्रमा भनिएको थियो ।
प्राधिकरणमा नयाँ एमडी बनेर आएका हितेन्द्रदेव शाक्यले केही दिनअघि उपकार्यकारी निर्देशक र निर्देशकहरूको सरुवा गरे तर मन्त्रालयले दुई महिनाअघि नै जिम्मेवारीबाट हटाउन भनेका गुरुङ अहिलेसम्म सोही कुर्सीमा बसिरहेका छन् ।
हेर्नुहोस् पत्र:
पढ्नुहोस्, यो पनि :
प्राधिकरणका कर्मचारीले मन्त्रीलाई 'बिचौलिया' र ऊर्जाविज्ञलाई 'खलपात्र' भनेपछि...