३० जेठ २०८३, शनिबार
सरकार र पतञ्जलीको झेल

पतञ्जली जग्गा प्रकरण: कम्पनीको प्रबन्धपत्रमै व्यवस्था नहुँदा समेत बिक्री र सट्टापट्टाको स्वीकृति [भाग २]

जेठ ७, २०८२
काठमाडौं
पतञ्जली जग्गा प्रकरण: कम्पनीको प्रबन्धपत्रमै व्यवस्था नहुँदा समेत बिक्री र सट्टापट्टाको स्वीकृति [भाग २]

पतञ्जली योगपीठको आफ्नै प्रबन्धपत्रमा समेत हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्ने व्यवस्था नहुँदा पनि माधवकुमार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले बिक्री र सट्टापट्टाको स्वीकृति दिएको पाइएको छ  ।

तत्कालीन मन्त्रिपरिषद्ले २०६६ चैतमा जग्गा बिक्री र सट्टापट्टाको स्वीकृति दिएपछि २०६७ सालमा बल्ल प्रबन्धपत्र संशोधन गरेको पाइएको हो  । भारतीय नागरिक आचार्य बालकृष्ण सञ्चालक अध्यक्ष रहेको उक्त कम्पनीले मन्त्रिपरिषद्को स्वीकृतिपछि प्रबन्धपत्र संशोधन गरेको थियो  ।

कम्पनी दर्ता गर्ने क्रममा कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गरिएको प्रबन्धपत्रमा जग्गा बिक्री गर्न पाउने व्यवस्था नरहेकाले कम्पनीको जग्गा बिक्री गर्नकै लागि पछि प्रबन्धपत्रमा संशोधन गरेको पाइएको हो  ।

२०६४ साल असोज २० गते दर्ता भएको ‘पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल’को विधान, प्रबन्धपत्र तथा नियमावलीमा कम्पनीको जग्गा बिक्री गर्न पाउने प्रावधान राखिएको थिएन  ।

null

हदबन्दीभन्दा बढीको जग्गा किन्न उक्त कम्पनीले २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदबाट स्वीकृति पाएको थियो  ।

मन्त्रिपरिषदको सोही निर्णयका आधारमा काभ्रेपलाञ्चोकमा हदबन्दीभन्दा बढी जग्गा खरिद गरे पनि पछि त्यहाँको जग्गा बिक्री गरी अर्को स्थानमा सट्टापट्टामा खरिद गर्ने अनुमति पनि मन्त्रिपरिषदले दिएको थियो  । तर, कम्पनीको आफ्नै प्रबन्धपत्रमा जग्गा बिक्री गर्न पाउने प्रावधान नभएपछि संशोधन गरेर उक्त प्रावधान थपेको देखिन्छ  ।

null

२०६७ वैशाख १० गते कम्पनीको नाम संशोधन  र जग्गा बिक्री गर्न पाउने प्रावधानलाई कम्पनी रजिस्ट्रार कार्यालयले पनि सहमति दिएको थियो  । पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको कम्पनीको नाम परिवर्तन गरी पतञ्जली योग पीठ कायम गरिएको थियो  ।

कम्पनी दर्ता गर्ने बेलामा पेश गरिएको प्रबन्धपत्रमा पनि फरक नाम राखिएको थियो  । ‘यस कम्पनीको नाम गुरू गोरक्षनाथ पतञ्जली योग पीठ रहनेछ,’ भनेर प्रबन्धपत्रको दफा १ मा प्रस्ताव गरिएको थियो  । तर, कम्पनी दर्ताको प्रमाणपत्र दिँदा कम्पनीको नाम पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल रहेको उल्लेख छ  ।

त्यसैगरी, प्रबन्धपत्रको दफा (५) मा (ज) थप गरी नयाँ प्रावधान राखिएको थियो  । दफा ५ को (ज) मा ‘यो कम्पनी एक संगठित संस्था भएकाले यसले सम्बन्धित निकायको स्वीकृतिमा आफ्नो नाममा भएको सम्पत्ति बेचबिखन गर्न तथा अरूको नाममा रहेको सम्पत्ति खरिद गर्न वा प्राप्त गर्न सक्नेछ,’ संशोधनमा भनिएको छ  ।

त्यसपछि २०६८ पुस २६ गते कम्पनीको रजिस्टार्ड कार्यालय कुन ठाउँमा रहने भन्ने प्रावधान पनि संशोधन गरेको थियो  । कम्पनी दर्ताका क्रममा कम्पनीको प्रबन्धपत्रको दफा (२) मा कम्पनीको रजिस्टर्ड कार्यालय नवलपरासी जिल्लाको गैँडाकोट गाविस वडा नम्बर ७ मा रहने उल्लेख थियो  ।

null

पछि २०६८ पुस २६ गते त्यस प्रावधानलाई संशोधन गरेर ‘कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौंको महांकाल गाविस वडा नम्बर ७ मा रहनेछ  । आवश्यकताअनुसार स्वीकृति लिई अन्य स्थानमा समेत कम्पनीको रजिस्टर्ड कार्यालय स्थानान्तरण गर्न र स्वदेश तथा विदेशमा शाखा कार्यालय खोली कारोबार गर्न सक्नेछ,’ भन्ने बनाइयो  ।

null

दर्ता गर्ने बेला नेपाली संस्थापक सञ्चालक,पछि रामदेव र बालकृष्ण थपिए

कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गर्ने बेला शुरूमा गुरू गोरक्षनाथ पपतञ्जली योगपीठ नेपाल नामक कम्पनीको नामबाट प्रबन्धपत्र र नियमावली पेश भएको पाइएको छ  ।

चितवनका योगी यदुनाथ (यदुनाथ पोखरेल) सञ्चालक अध्यक्ष, नवलपरासीका हिरालाल कँडेल सञ्चालक महासचिव र चितवनका कृष्णबहादुर न्यौपाने, उदयपुरका खेमराज दाहाल, चितवनका अरुणकान्त पोखरेल, नवलपरासीका भक्तमालिक कट्टेल र गुरुप्रसाद कँडेल सदस्य रहेको  प्रबन्धपत्रमा उल्लेख छ  ।

त्यसपछि २०६६ असार ३१ गते कम्पनी रजिस्ट्रार कार्यालयमा सञ्चालकहरूले पेश गरेको लगतमा फरक नामहरू उल्लेख रहेको देखिन्छ  ।

null

भारतको हरिद्वारको बहादरावादस्थित पतञ्जली योग पीठका योग गुरु स्वामी रामदेव, आचार्य बालकृष्ण र पञ्चायती अखडाका महन्त राजेन्द्र दास तथा भारतको कुरूक्षेत्रका राजेन्द्र सिंह सहित चारजना भारतीयहरू नेपालस्थित पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीको संस्थापक रहेको विवरण कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश भएको देखिन्छ  ।   नेपालको कम्पनीमा स्वामी रामदेव संरक्षक सञ्चालक, आचार्य बालकृष्ण अध्यक्ष, महन्थ राजेन्द्र दास  र राजेन्द्र सिंह सञ्चालक रहेको विवरण पेश भएको थियो  ।

null

सञ्चालक लगतमा एकजना मात्र नेपाली नागरिकको नाम छ  । काठमाडौं महानगरपालिका वडा नम्बर ७ बस्ने शालिग्राम सिंह सञ्चालक रहेको उल्लेख छ  । सिंह महोत्तरीका बासिन्दा हुन्  ।

अहिले आएर फेरि सञ्चालक लगत फेरिएको छ  । २०८१ जेठ २ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा सञ्चालक अध्यक्ष आचार्य बालकृष्णले प्रमाणित गरेर पेश गरेको सञ्चालक लगतको विवरणमा एकजना भारतीय महन्त राजेन्द्र दासको ठाउँमा उमेश सर्राफको नाम समावेश गरिएको छ  ।

null

कम्पनीको प्रारम्भिक पूँजी ५० लाख रुपैयाँ

‘कम्पनीको प्रारम्भिक पूँजी ५० लाख रुपैयाँको हुने तथा उक्त पूँजी संस्थापक सदस्यहरूबाट व्यवस्था गरिनेछ,’ भन्ने कुरा कम्पनीको प्रबन्धपत्रमा उल्लेख छ  । मुनाफा वितरण नगर्ने कम्पनी भएकाले यसको स्थापना गर्दा कुनै किसिमको सेयर पूँजी आवश्यक नपर्ने उल्लेख छ  । कम्पनीका सदस्यहरूले सदस्यता शुल्कवापत कम्तीमा एकमुष्ठ ३ हजार रुपैयाँ तिर्नुपर्ने प्रबन्धपत्रमा उल्लेख छ  ।

null

‘कम्पनीको पूँजी, दान दातव्य, आयुर्वेदिक औषधि बिक्री वितरण तथा सदस्यता शुल्क र नयाँ कुनै कानूनी स्रोतबाट प्राप्त वा जम्मा हुन आएको रकम यस संस्थाको पूँजीका रूपमा छुट्टै कोषमा जम्मा गरिनेछ  । यो पूँजी कम्पनीको नियमित कारोबार वा कम्पनीको उद्देश्य प्राप्तिका लागि खर्च गरिनेछ,’ प्रबन्धपत्रमा भनिएको छ  ।

त्यसैगरी, संस्थाको नाममा एउटा अक्षय कोष स्थापना गरिने, कोषमा जम्मा रकम कम्पनीको कुनै वा सबै अपर्झट उद्देश्य प्राप्तिका लागि खर्च गरिने, त्यसरी खर्च भएको रकम पुनः कोषमा भरिभराउ गरिने समेत उल्लेख छ  ।

दर्ता गर्दा कम्पनीको उद्देश्य स्वास्थ्य शिक्षा र योग उपचार,संशोधन गरेर स्याटेलाइट थप

सेवामूलक स्वास्थ्य शिक्षा, योग उपचार गर्ने उद्देश्य लिएर दर्ता भएको उक्त कम्पनीले पछि उद्देश्यमा पनि संशोधन गरेको पाइएको छ  । कम्पनीको उद्देश्यको प्रावधानमा पनि संशोधन गरी स्याटेलाइट, टेरोस्ट्रोरियल, अन्तर्राष्ट्रिय स्तरीय मोबाइल एप, टेलिभिजन, मेट्रो केवल वा डिजिटल प्रविधिमा आधारित वा अन्य कुनै पनि माध्यमबाट टेलिभिजन स्टेसन खडा गरी टेलिभिजन स्थापना र सञ्चालन गर्ने प्रावधान थपिएको थियो  ।

टेलिभिजन स्थापना गरिसकेपछि समाचार, विभिन्न कार्यक्रम तथा विज्ञापन उत्पादन, प्रसारण, बिक्री वितरणको काम गर्ने, देशका विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालन गर्ने,  अनुसन्धान, परामर्श सेवा गर्ने, टेलिभिजन सञ्चालनसम्बन्धी आवश्यक  सामग्री स्वदेशबाट खरिद बिक्री गर्ने, विदेशबाट आयात गरी सो सामग्री खरिद बिक्री गर्ने उद्देश्य राखिएको छ  ।

null

त्यसबाहेक समाचार, साहित्य, मनोरञ्जन, शिक्षा, सूचनामूलक, सन्देशमूलक दैनिक, साप्ताहिक, पाक्षिक पत्रपत्रिकाहरू प्रकाशन गर्ने, बिक्री वितरण गर्ने भन्ने उद्देश्य पनि राखिएको छ  ।

कम्पनी दर्ता गर्दा कम्पनीको उद्देश्यअन्तर्गत आयुर्वेदको अनुसन्धान तथा संस्थागत सामाजिक गतिविधिको सञ्चालन, नि:शुल्क चिकित्सालय र आयुर्वेदिक औषधिको बिक्री वितरण, आधुनिक संसाधनले परिपूर्ण फार्मेसी स्थापना तथा योग र आयुर्वेदसम्बन्धी अनुसन्धानात्मक कार्य सम्पादन गर्ने भनिएको छ  ।

विविध जडिबुटीको संग्रहण र संरक्षण, किसानहरूलाई जडिबुटी रोप्न प्रोत्साहित गर्ने, जडिबुटीको बिक्री वितरणबाट प्राप्त आय आर्थिकरूपले कमजोर वर्ग, गरिबहरूको रोजगारीको व्यवस्था र तिनीहरूको जीवनस्तर अभिबर्धन गर्ने उल्लेख छ  ।

null

शारीरिक आरोग्य, मानसिक शान्ति, आयुर्वेद चिकित्सा, प्रशिक्षण, परीक्षण, अनुसन्धान, नि:शुल्क प्रयोग, आसन, योग प्राणायम आदिको व्यावहारिक प्रयोग प्रशिक्षणद्वारा रोग मुक्त स्वस्थ समाज तथा समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने उद्देश्य रहेको प्रबन्धपत्रमा उल्लेख छ  ।

अनाथ, असहाय, निर्धन तथा उपेक्षित बालक, विद्यार्थीका लागि शिक्षा, वस्त्र, भोजन, आवास आदिको सुविधा उपलब्ध गराउने समेत उद्देश्य लेखिएको छ  । 

गौशालाहरूको स्थापना, विकास र विस्तार गरी गौ सम्वर्द्धन तथा स्थानीय  गौपालनलाई प्रोत्साहन गर्ने, गौ दूध, दही, घिउ, गोबर आदि स्वास्थ्योपयोगी आवश्यक वस्तुको उत्पादन र उपयोगबारे अनुसन्धान गर्नेजस्ता थुप्रै उद्देश्यहरू कम्पनीको प्रबन्धपत्रमा राखिएका छन्  ।

कम्पनीका ती उद्देश्यहरू प्राप्त गर्न संस्थालाई आवश्यक पर्ने जग्गा र भवन प्राप्त गर्ने वा प्राप्त जग्गामा भवन निर्माण गर्ने, सवारी साधन व्यवस्था गर्ने र आवश्यक औजार उपक्रम खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्ने उल्लेख छ  ।

आवश्यक संख्यामा कर्मचारीको नियुक्ति गर्ने, तिनको सेवा सुविधा र सर्त निर्धारण गर्ने, कम्पनीको नाममा नेपालका विभिन्न भागमा वित्तीय संस्थाहरूमा खाता खोली सञ्चालन गर्ने, सबै कारोबारहरू बैंकबाट गर्ने उल्लेख छ  ।

कम्पनीको प्रबन्धपत्रमा ती उद्देश्य प्राप्तिका लागि कम्पनीलाई आवश्यक पर्ने रकम, चन्दा, अनुदान प्राप्त गर्ने कम्पनीले आफ्नो वा कुनै सम्पत्तिमा व्ययभार हुने गरी धितो राखी वा नराखी कर्जा वा ऋण लिने, परोपकारी संघ संस्था, व्यक्तिबाट दान, दातव्य, बकस अनुदान आदि लिने, सदस्यहरूबाट सदस्यता शुल्क उठाउने, नेपालभर शाखा, प्रशाखा खोल्ने, कम्पनीकै स्वामित्वमा रहने गरी चलअचल सम्पत्ति प्राप्त गर्ने तथा प्रबन्ध गर्ने उल्लेख छ  ।

७ वर्षअघिको ब्यालेन्स सीट : कुल सम्पत्ति ३२ करोड ४२ लाख हुँदा पनि ३ लाख १७ हजार घाटा

पतञ्जली योगपीठले कम्पनी रजिस्ट्रार कार्यालयमा पेश गरेको ७ वर्षअघिको ब्यालेन्स सीटमा ३२ करोड बढीको कुल सम्पत्ति हुँदा ३ लाख १७ हजार रुपैयाँ घाटा भएको देखाइएको छ  ।

पतञ्जलीले कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गरेको पछिल्लो (आर्थिक वर्ष २०७४/७५ को) ब्यालेन्स सीटमा उक्त घाटा देखाइएको हो  । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७४/७५ मा उक्त कम्पनीको सम्पत्ति र पुँजीमा ठूलो वृद्धि भएपनि खर्चमा भएको तीव्र वृद्धिका कारण सञ्चालन आयमा कमी आई कम्पनी नाफाबाट घाटामा गएको ब्यालेन्स सीटमा देखाइएको छ  ।

यस्तो थियो कम्पनीको ७ वर्षअघिको आय–व्यय विवरण

आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को तुलनामा पतञ्जली योगपीठको कुल सम्पत्ति ६७ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७३/७४ मा कुल सम्पत्ति १९ करोड ४२ लाख ९९ हजार ९०७ रुपैयाँ रहेकोमा २०७४/७५ मा उक्त रकम ३२ करोड ४२ लाख ३७ हजार ८६२ रुपैयाँ पुगेको कम्पनीको ब्यालेन्स सीटमा उल्लेख छ । अर्थात्, १ वर्षमा कुल सम्पत्तिमा १२ करोड ९९ लाख ३७ हजार ९५४ रुपैयाँले वृद्धि भएको देखिन्छ ।

आर्थिक वर्ष २०७३/७४ मा स्थिर सम्पत्ति १७ करोड ४१ लाख ३३ हजार १४२ रुपैयाँ रहेकोमा २०७४/७५ मा घटेर १७ करोड ३७ लाख ३२ हजार ३४६ रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको तुलनामा ४ लाख ७९५ रुपैयाँ, अर्थात् ०.२ प्रतिशतले स्थिर पूँजी घटेको देखाइएको छ ।

त्यो दुई वर्षको अवधिमा कम्पनीको लगानीमा भने कुनै परिवर्तन देखिँदैन । २०७३/७४ मा ४ करोड ४४ लाख ७१० रुपैयाँ लगानी देखिएकोमा २०७४/७५ मा पनि सोही रकम यथावत् रहेको छ ।

चालू सम्पत्तिको सन्दर्भमा भने नगद तथा बैंक मौज्दातमा अघिल्लो वर्षको तुलनामा २०७४/७५ मा ८०.९ प्रतिशतले, अर्थात् १२ करोड ६७ लाख ७८ हजार २३२ रुपैयाँले वृद्धि भएको देखिन्छ । २०७३/७४ मा यो रकम १ करोड ५६ लाख ५३ हजार ५८० रुपैयाँ थियो भने २०७४/७५ मा १४ करोड २४ लाख ३२ हजार ३१२ रुपैयाँ पुगेको देखिन्छ ।

त्यसैगरी, अन्य सम्पत्तिमा पनि उल्लेख्य वृद्धि देखिएको छ । २०७३/७४ मा ३९ लाख ७८ हजार ४७५ रुपैयाँ रहेको अन्य सम्पत्ति २०७४/७५ मा बढेर १ करोड ५६ लाख २८ हजार ४९३ रुपैयाँ पुगेको छ, जुन २९३ प्रतिशतको वृद्धि हो ।

कम्पनीको कुल दायित्व पनि अघिल्लो वर्षको तुलनामा ६७ प्रतिशतले वृद्धि भएको छ । २०७३/७४ मा कुल दायित्व १९ करोड ४२ लाख ९९ हजार ९०७ रुपैयाँ रहेकोमा २०७४/७५ मा १२ करोड ९९ लाख ३७ हजार ९५४ रुपैयाँले वृद्धि भई ३२ करोड ४२ लाख ३७ हजार ८६२ रुपैयाँ पुगेको छ ।

पूँजी र कोषतर्फ हेर्दा पनि आर्थिक वर्ष २०७४/७५ मा उल्लेख्य वृद्धि देखिन्छ । २०७३/७४ मा ९ करोड ९६ लाख २४ हजार ७० रुपैयाँ रहेको पूँजी र कोष २०७४/७५ मा बढेर २८ करोड ४६ लाख १६ हजार ४०८ रुपैयाँ पुगेको छ ।

तर, चालू दायित्वमा भने ९८ प्रतिशतले गिरावट आएको देखिन्छ । २०७३/७४ मा चालू दायित्व ५ करोड ४ लाख ३३ हजार ७६९ रुपैयाँ रहेकोमा २०७४/७५ मा ४ करोड ९३ लाख ७२ हजार ८५७ रुपैयाँले घटेर १० लाख ६० हजार ९११ रुपैयाँ मात्र बाँकी रहेको उल्लेख छ ।

कम्पनीको सुरक्षित ऋण पनि ११ प्रतिशतले घटेको छ । २०७३/७४ मा सुरक्षित ऋण ४ करोड ४७ लाख ८० हजार ६५ रुपैयाँ थियो भने २०७४/७५ मा घटेर ३ करोड ९६ लाख ६ हजार १०८ रुपैयाँ भएको देखिन्छ ।

२०७३/७४ मा कम्पनीको घाटा ७ लाख २७ हजार ९९९ रुपैयाँ थियो भने २०७४/७५ मा ३ लाख १७ हजार ५६७ रुपैयाँले वृद्धि भई घाटा १० लाख ४५ हजार ५६६ रुपैयाँ पुगेको देखिन्छ ।

कम्पनीको कुल आय २०७३/७४ मा ३ करोड ५१ लाख ६४ हजार ७९७ रुपैयाँ रहेकोमा २०७४/७५ मा १४ प्रतिशतले वृद्धि भई ४ करोड १७ हजार १७४ रुपैयाँ पुगेको देखिन्छ, जुन ४८ लाख ५२ हजार ३७७ रुपैयाँले वृद्धि हो ।

त्यसैगरी, कुल खर्च पनि २१ प्रतिशतले वृद्धि भएको उल्लेख छ । २०७३/७४ मा ३ करोड ८ लाख २० हजार ४०७ रुपैयाँ खर्च भएकोमा २०७४/७५ मा ६३ लाख ९५ हजार ३४९ रुपैयाँले वृद्धि भई ३ करोड ७२ लाख १५ हजार ७५६ रुपैयाँ पुगेको देखिन्छ ।

सञ्चालन आयको कुरा गर्दा भने अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले गिरावट आएको छ ।

२०७३/७४ मा सञ्चालन आय ४३ लाख ४४ हजार ३८९ रुपैयाँ थियो भने २०७४/७५ मा १५ लाख ४२ हजार ९७१ रुपैयाँले घटेर २८ लाख १ हजार ४१८ रुपैयाँ मात्र भएको देखिन्छ ।

ह्रासकट्टीपछि २०७३/७४ मा कम्पनीले १२ लाख ६९ हजार ९९९ रुपैयाँ नाफा गरेको थियो भने २०७४/७५ मा ३ लाख १७ हजार ५६८ रुपैयाँ घाटा व्यहोरेको देखिन्छ । यसअनुसार कम्पनीको नाफाबाट घाटातर्फको अन्तर १५ लाख ८७ हजार ५६७ रुपैयाँको रहेको छ ।

समग्रमा हेर्दा आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा कम्पनीको सम्पत्ति र पूँजीमा उल्लेख्य वृद्धि भए पनि खर्चमा तीव्र वृद्धि भएका कारण सञ्चालन आय घटेको र त्यसले कम्पनीलाई नाफाबाट घाटातर्फ धकेलेको देखिन्छ ।

null

आर्थिक हिसाबकिताब

हेर्नुहोस्, भाग १ :

माधव नेपालसँग अख्तियारले बयान लिएको पतञ्जली जग्गा विवादको नालीबेली [गोप्य कागजातसहित]

salt training

कमेन्ट गर्नुहोस्