२२ असार २०८३, सोमबार
सेटिङमा मानव तस्करी

विमानस्थलमा यसरी हुन्थ्यो भिजिट भिसाको सेटिङ, ३ महिनाअघि नै हेलो सरकारमा परेको थियो उजुरी

जेठ ९, २०८२
काठमाडौं
विमानस्थलमा यसरी हुन्थ्यो भिजिट भिसाको सेटिङ, ३ महिनाअघि नै हेलो सरकारमा परेको थियो उजुरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूले घुस लिएर भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान थालेको छ ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसँग अख्तियारले सोधपुछ गरिरहेको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले उक्त विषयमा विस्तृत अनुसन्धान भइरहेको बताए । अख्तियारको टोलीले बुधबार भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।

भट्टराईको मोबाइलसहित केही डिभाइस समेत जफत गरी बुधबार राति छाडिएको थियो । अख्तियारमा बिहिबार १० बजे आफैं उपस्थित हुने गरी छाडिएका भट्टराई बिहीबार बिहान १० बजे नै बयानका लागि अख्तियार पुगेका थिए ।

यस विषयमा २०८१ फागुन २३ गते हेलो सरकारमा उजुरी परेको थियो । विभिन्न एयरलाइन्स, ट्राभल एजेन्सी र अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा प्रतिव्यक्ति ४० देखि ५० हजार रूपैयाँसम्म असुलउपर गर्ने गरिएको भन्दै छानबिन गर्न उजुरीमा माग गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा दुबई जाने मात्र दैनिक २५० जनाभन्दा बढी हुने गरेको उजुरीमा उल्लेख छ । कुवेत एयरवेज र जजिरा एयरवेजमार्फत मानव तस्करी हुने गरेको उजुरीमा आरोप लगाइएको छ ।

मापदण्डविपरीत दुईतर्फी टिकट हुनुपर्नेमा फर्किने नक्कली टिकट बनाइदिने, होटल बूकिङको कागजात पनि फेक बनाइदिने गरी एयरलाइन्स, ट्राभल एजेन्सी र अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा सेटिङ गरी मानव तस्करी हुने गरेको उजुरीमा दाबी गरिएको छ ।

भिजिट भिसामा पठाउने गरिएका ती नेपालीलाई खाडी मुलुकमा घरेलु कामदारको रूपमा प्रयोग गर्ने गरिएको उजुरीमा उल्लेख छ ।

त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट ओमान हुँदै कुवेत, दुबई, साउदी अरेबिया, कतार, सिरिया, इराक, बहराइनलगायतका मुलुकमा नेपाली महिलाहरूको तस्करी बढ्दै गएको उक्त उजुरीमा दाबी गरिएको छ ।

दुबई सरकारले भिजिट भिसामा कडाई गरेपछि नेपालका विभिन्न ट्राभल एजेन्सीहरूले ओमनलाई ट्रान्जिट प्वाइन्ट बनाएर मानव तस्करी गर्ने गरेको आरोप उजुरीमा लगाइएको छ ।

हेर्नुहोस्, उजुरीको व्यहोरा

नेपालका विभिन्न एयरलाइन्स कम्पनीहरूको संलग्नतामा मानव तस्करी गर्ने गरिएको छ । कुवेत एयरवेज र जजिरा एयरवेजमा विशेष गरी मानव तस्करी हुने गरेको पाइएको छ । काठमाडौंबाट कुवेत, कुवेतबाट कतारको टिकट जारी भएपनि बीचमा कुवेत ट्रान्जिट भएकाले ती महिलाहरू कुवेतमै बाहिर निस्कने गरेका छन् ।

सरकारले २०७३ सालबाट नै खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारको रूपमा जान रोक लगाएपनि दिनप्रतिदिन कामका लागि विभिन्न माध्यम हुँदै खाडी मुलुक जाने महिलाहरूको संख्या बढ्दो छ । सोही कारण महिलाहरू तस्करीको सिकार भइरहेका छन् । विशेष गरेर ग्रामीण क्षेत्रका महिला एवं किशोरीहरूलाई रोजगारीको प्रलोभनमा तस्करी गर्ने गरिएको छ ।

भिजिट भिसामा खाडी मुलुक जानका लागि सरकारले ६ बुँदे मापदण्ड जारी गरेको छ । जारी गरेको उक्त मापदण्ड २०८० माघ १० गतेदेखि लागू हुने गरी भिजिट भिसा तथा पर्यटक भिसामा विदेश यात्रामा आवश्यक कागजपत्रहरूको विवरण तोकेको भएपनि त्यसलाई नै नक्कली बनाउने गरिएको छ ।

नेपाल सरकारले २०८० माघ १० गतेदेखि लागू हुने गरी गरिएको भिजिट भिसाको कार्यविधिमा टेकेर विभिन्न दलाल,ट्राभल एजेन्सीले मानव तस्करी गर्नका लागि नेपाली महिलालाई खाडी मुलुकमा अवैधानिक रूपमा पठाइरहेको छ । मापदण्डबमोजिम दुईतर्फी हवाई टिकट हुनुपर्नेमा उताबाट फर्किने टिकट नक्कली हुने गरेको तथ्य फेला परेको छ ।

यसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरलाइन्सका कर्मचारीहरू, प्रत्यक्षरूपमा विभिन्न ट्राभल एजेन्सीका सञ्चालक, मानव तस्करी गर्न सघाउने दलालसँग प्रत्यक्ष संलग्नता भई एकतर्फी मात्र हवाई टिकटमा बोर्डिङ पास जारी गरी महिलाहरू पठाउने गरिएको छ । उक्त कार्यमा संलग्न भएका विभिन्न ट्राभल एजेन्सीका सञ्चालकसँग एकजना महिला पठाउन एयरलाइन्सका कर्मचारीले १० हजारसम्म रकम असुल्ने गरेका छन् । यसमा दुईतर्फी टिकट नभए पनि एकतर्फी टिकटमा बोर्डिङ पास जारी गर्ने र रिटर्न टिकट नक्कली बनाउने गरिएको पाइएको छ ।

भिजिट भिसामा भ्रमण अवधिभर होटल बूकिङ गरेको प्रमाण वा होटल बूकिङ नभई आफन्तसँग रहने भएका एकाघरका तीन पुस्ते नाता खुल्ने सम्पूर्ण प्रमाणहरू नक्कली हुने गरेको छ । होटल बूकिङको काम विभिन्न अनलाइनबाट नक्कली बनाउने गरिएको छ । यसमा अध्यागमन विभाग, गृह मन्त्रालय, विभिन्न एयरलाइन्सका कर्मचारी सबैको संलग्नता भएको आशंका गर्ने ठाउँ प्रशस्तै छन् ।

भिजिट भिसामा सरकारले लचिलो मापदण्ड बनाएर नेपाली महिलालाई घरेलु कामदारमा पठाइरहेका कारण विभिन्न नेपालीहरूले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा विभिन्न समस्या भोग्नुपरेको छ । श्रम स्वीकृति लिएर पठाउनुपर्नेमा भिजिट भिसामा पठाएकोले ती महिला कति गए, कहाँ गए, के गर्दै छन् भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन ।

खाडी मुलुकमा २०७३ सालदेखि हालसम्म २ लाख नेपाली महिला घरेलु कामदारमा अवैधानिक रूपमा गएको पाइएको छ । अवैधानिकरूपमा ती महिलाहरू जाँदा सरकारसँग यकिन  तथ्यांक समेत छैन । र,ती महिलाले विभिन्न तरिकाले शारीरिक शोषण, यौनशोषण, श्रम शोषण भोग्नुपरेको छ । यसमा गृह मन्त्रालय, श्रम मन्त्रालय समेतको ध्यान जान जरुरी छ ।

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी नेपाली महिलाहरू पहिलो चरणमा नेपालबाट भिजिट भिसामा बाहिर जान्छन् । त्यसपछि एयरपोर्टबाट ओमान, कतार, संयुक्त अरब इमिरेट्स निस्किएपछि तिनीहरूले घरेलु कामदारको भिसा प्राप्त गर्छन् । त्यसपछि ओमान, इराक, दुबई, कुवेत पुगेर घरेलु कामदारको रूपमा काम गर्छन् । एजेन्टहरूले तिनीहरूलाई भिजिट भिसाको नाममा बेचिरहेका छन् । यस प्रक्रियामा नेपालका एयरपोर्टका कर्मचारीलाई प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म अनधिकृतरूपमा दिइन्छ ।

नेपाल सरकारद्वारा २०७३ सालमा घरेलु कामदारलाई खाडी देशमा पठाउन रोकिएको भएता पनि यस्तो प्रकारको मानव तस्करहरूले यी क्रियाकलापलाई दिनहुँ १५० देखि २०० जनाको हाराहारीमा पठाउने गरेका छन् ।

उक्त उजुरीका विषयमा हेलो सरकारले गृह मन्त्रालयलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो । त्यसपछि गृहले २०८१ चैत ३ गते अध्यागमन कार्यालयलाई त्यस विषयमा जवाफ मागेको थियो ।

त्यसपछि अध्यागमन कार्यालयले २०८२ वैशाख १७ गते गृह मन्त्रालयलाई आरोपको खण्डन गर्दै ३ बुँदामा जवाफ पठायो ।

‘यस कार्यालयले अध्यागमन ऐन, नियमावली, कार्यविधि एवं समय–समयमा नेपाल सरकारबाट जारी सूचना, खासगरी अध्यागमन विभागबाट २०८० माघ १० गतेदेखि लागू हुने गरी भिजिट भिसा तथा पर्यटक भिसामा विदेश यात्रा गर्नुपर्दा नेपाली नागरिकहरूका लागि जारी गरिएको यात्रा परामर्शसम्बन्धी सूचनामा उल्लिखित आवश्यक कागजातहरू ६ बुँदेको आधारमा रही भिजिट तथा पर्यटक भिसामा गएको नगारिकहरूलाई प्रस्थान अनुमति दिने गरिएको छ,’ विमानस्थलस्थित अध्यागमन कार्यालयले दिएको जवाफको पहिलो बुँदामा उल्लेख छ ।

त्यसैगरी, दोस्रो बुँदामा ‘कतिपय भिजिट तथा पर्यटक भिसामा जाने व्यक्तिहरूले तोकिएको मापदण्ड पूरा नगरेका, भिजिट भिसामा विदेशमा काम गर्न जान खोज्दा र शंकास्पद व्यवहार प्रदर्शन गर्ने व्यक्तिलाई प्रस्थान अनुमति नदिने (अफलोड) गरिएको,’ उल्लेख छ ।

त्यसैगरी, तेस्रो बुँदामा, ‘कुनै पनि यात्रुले विदेश यात्रा गर्दा जुन उद्देश्य र प्रयोजनका लागि यात्रा गर्ने हो, सो बमोजिमका कागजात पूरा नगरी सम्बन्धित मुलुकको भिसा लिई एयरलाइन्सबाट चेकजाँच सकाई बोर्डिङ पास समेत लिई यात्रा अनुमतिका लागि यस कार्यालयमा उपस्थित हुने हुँदा अन्य निकायले सम्पादन गर्नुपर्ने कार्यका बारेमा यस कार्यालयलाई जानकारी नहुने,’ भनिएको छ ।

अध्यागमन अधिकृत यज्ञराज अर्यालले दिएको उक्त तीन बुँदे जवाफलाई सन्तोषजनक मान्दै हेलो सरकारमा उजुरीकर्ताको गुनासो सम्बोधन भएको भन्दै उजुरीको छानबिन बन्द गरिएको थियो ।

हेर्नुहोस्, उजुरी :

 

salt training

कमेन्ट गर्नुहोस्