
काठमाडौंको गोकर्णेश्वर नगरपालिका– १ सुन्दरीजलमा गएको वैशाख २१ गते बिहान २ बजे स्थानीय कृष्णमाया मगरको खोरमा कुखुरा कराउन थाले ।
मगर हतपत्त उठेर खोरमा पुगिन् । खोरमा थुनेर राखिएका ५ वटा कुखुरा (भालेपोथी) थिएनन् । उनले बाहिर निस्किएर हेरिन् । कुखुरालाई ‘आ..आ..’ भनेर पनि बोलाइन् । रातको समयमा स्याल पो आयो कि भनेर उनी त्यत्तिकै सुतिन् ।
भोलिपल्ट स्थानीय उत्तमकुमार रिजाल र आङ सर्किनी शेर्पाको घरबाट ३ वटा, सुनिता तामाङको घरबाट ३ वटा, सानुमाया नगरकोटीको घरबाट ३ वटा, सुन्तली तामाङको घरबाट २ वटा, अम्बरबहादुर तामाङको घरबाट एउटा, विकास श्रेष्ठको घरबाट २ वटा, अम्बरबहादुर राउतको घरबाट ३ वटा र रमेश तामाङको घरबाट ३ वटा कुखुरा चोरी भएको मगरले थाहा पाइन् ।
एकैदिन १० जनाको घरबाट २५ वटा कुखुरा चोरी भएपछि उनीहरूले प्रहरी गुहारे ।
प्रहरीले चोरहरूको खोजतलास गर्दैजाँदा गोकर्णेश्वर नगारपालिका– ८ स्थित मेडिकल कलेजनजिकै टिनको जस्ताले छाएको टहराभित्र तरकारी राख्ने क्यारेटमा कुखुराको भाले छोपेर राखेको फेला पर्यो ।
उक्त कुखुरा कहाँबाट ल्याएको भनेर सोधपुछ गर्दा परिवर्तित नाम ‘बौद्ध १०२’ ले चित्त बुझ्दो जवाफ नदिएपछि पीडितहरूलाई कुखुरा देखाइयो ।
पीडितमध्ये कृष्णमाया मगरले आफूले पालेको कुखुराको भाले ठम्याइन् । अनि प्रहरीले थप अनुसन्धान थाल्यो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ परेकामध्ये पासाङ शेर्पा २ वर्षदेखि गोकर्णेश्वरमै परिवारसँग बस्दै आएका थिए ।
चिनजानमा रहेका ६ बालक (१८ वर्षमुनिका) ले कुखुरा चोरी गरेर ल्याएपछि आफ्नो कोठामा पकाएर खाएको बयान शेर्पाले दिएका छन् ।
कुखुरा चोरी भएको दिन गत वैशाख २१ गते दिउँसो साढे २ बजे बौद्ध नयाँपाटीमा ६ जना केटाहरूसँग भेट भएर कुखुरा चोरी गरी ल्याउने र केही बेचेर छ्याङ किनेर खाने भनी सल्लाह भएर छुटेको शेर्पाले बयानमा उल्लेख गरेका छन् ।
‘२१ गते राति ८ बजे उनीहरू कुखुरा चोर्न हिँडे । म कोठामै थिएँ । २२ गते बिहान ६ बजे चोरी गरेको कुखुरामध्ये ३ वटा २५ सय रुपैयाँमा बेचेर आएछन्,’ शेर्पाले बयानमा भनेका छन्, ‘अनि हामीले छ्याङ किनेर ल्यायौं । चोरी गरेकै कुखुराको भाले काटेर खाई रमाइलो गर्यौं ।’
पक्राउ परेकामध्ये परिवर्तित नाम ‘बौद्ध १०२’ ले चोरी गरेकै कुखुरा बिक्री गर्न भनेर तरकारी पसलमा क्यारेटमा राखिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
प्रहरी वृत्त बौद्धले पासाङ शेर्पा र प्रवीण तामाङसँग बयान लिएको छ भने कुखुरा चोरीमा संलग्न अन्य ६ जना बालकसँग सोधपुछ गरी कागज गराएको छ ।
कुखुरा चोरीमा संलग्न परिवर्तित नाम ‘बौद्ध १००’ ले सोधपुछ कागजमा गोकर्णेश्वर नगरपालिका– १ सुन्दरीजलका टोल–टोलबाट कुखुरा चोरी ल्याएर काटेर खाएको बताएका छन् ।
उनीहरूले कसकोबाट कति कुखुरा चोरी गरेको यकिन विवरण थाहा नभएको बताएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दुईजना क्रमशः पासाङ शेर्पा र प्रवीण तामाङलाई मात्रै प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा यही जेठ ५ गते अभियोग पत्र दर्ता गरेको थियो ।
चोरीको कुखुरा खरिद गर्ने पनि नाबालक नै !
चोरीको कुखुरा खरिद गर्ने व्यक्ति पनि नाबालक नै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
परिवर्तित नाम ‘बौद्ध १०२’ ले बयान दिएअनुसार वैशाख २२ गते बिहान साढे ६ बजे परिवर्तित नामहरू ‘बौद्ध १०५’ र ‘बौद्ध १०६’ ले तीनवटा कुखुरा लिएर उनको घरमा पुगेका थिए ।
‘तीनवटा कुखुरा देखाएर किन्ने हो भनेर सोधे । कतिमा दिने भन्दा हुण्डीमुण्डी (सालाखाला) २ हजार ५ सयमा दिने भनेपछि मैले किनेको हुँ,’ बौद्ध १०२ को बयानमा उल्लेख छ, ‘कुखुरा किनेर क्यारेटमा छोपेर राखिरहेकै बेला साँझ ५ बजे प्रहरी आएर सोधपुछ गरी कुखुरासहित लिएर गए ।’