
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई मंगलबार रमाना दिइएको हो ।
अध्यागमन कार्यालयका सूचना अधिकारी समेत रहेका वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेका अनुसार सरुवा भएको एक सातापछि भट्टराईलाई बुधबार रमाना बुझाइएको हो ।
‘उहाँ गत बुधबार (जेठ ७ गते) बिहान १० बजे अफिस आउनुभएको थियो । अफिस आएर हाजिरी गरेपछि अध्यागमन विभाग, गृह मन्त्रालयसहितका ठाउँमा मीटिङ छ भन्दै जानुभयो । त्यसपछि आजसम्म पनि उहाँ कार्यालयमा नआउनुभएकाले हामीले आज मंगलबार मात्र रमाना पठाएका छौं,’ न्यौपानेले लोकान्तरसँग भने, ‘गत मंगलबार (जेठ ६ गते )नै उहाँको सरुवा गृह मन्त्रालयमा भएको थियो ।’
गत जेठ ७ गते बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले भट्टराईलाई नियन्त्रणमा लिइएको थियो । अख्तियारले उनका मोबाइल तथा अन्य डिभाइसहरू समेत नियन्त्रणमा लिएको छ । ती डिभाइस फरेन्सिक परीक्षणका लागि पठाइएको छ ।
यता गृहमन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख समेत रहेका सहसचिव छवि रिजालले भट्टराई मंगलबारसम्म गृह मन्त्रालयमा हाजिर नभएको जानकारी दिए ।
भिजिट भिसाका नाममा विदेश जाने नागरिकहरूसँग भट्टराईकै नेतृत्वमा मोटो रकम लेनदेन हुने गरेको आशंकासहित अख्तियारले छानबिन गरिरहेको हो । छानबिनको विषयमा अख्तियारले अहिले औपचारिकरूपमा केही प्रतिक्रिया दिन मानेको छैन ।
भट्टराईको ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको सरुवा भएकोमा उनी गत शुक्रबार जेठ ९ गते हाजिर भएका छन् । सूचना अधिकारी न्यौपानेका अनुसार कोइराला आएपछि डेस्कमा खटिने कर्मचारीलाई ड्युटीबारे सूचना दिने समयमा हेरफेर गरिएको छ ।
तीन शिफ्टमा काम गर्ने अध्यागमनका कर्मचारीहरूलाई पहिले आधा घण्टा अघि कुन डेस्कमा कसलाई ड्युटीमा खटाउने भन्नेबारे जानकारी गराउने गरिएकोमा अब १५ मिनेटअघि मात्र सूचित गराउने व्यवस्था भएको न्यौपानेले बताए ।
‘विमानस्थलमा बिहान ५ देखि १२ बजेसम्मको एउटा शिफ्ट, दिनको १२ बजेदेखि साँझ ७ बजेसम्मको दोस्रो शिफ्ट र साँझको ७ बजेदेखि बिहानको ५ बजेसम्मको अर्को शिफ्ट गरी ३ शिफ्टमा कर्मचारीहरूलाई खटाउने गरिएको छ,’ न्यौपानेले लोकान्तरसँग भने , ‘पहिले कुन शिफ्टको कुन डेस्कमा कुन कर्मचारीलाई खटाइएको हो भन्ने जानकारी ड्युटी समयभन्दा आधा घण्टा पहिले दिने गरिएको थियो । तर, भट्टराई सर आउनुभएपछि १५ मिनेट पहिले मात्र ड्युटीको जानकारी दिने गरिएको छ ।’
विमानस्थल अध्यागमन कार्यालयमा एक शिफ्टमा ४० देखि ४५ जनासम्म अधिकृतहरू खटिने गरेको उनले बताए ।
दुई साताअघि नै सरुवा भइसकेका १९ जना अध्यागमन अधिकृतहरूलाई पनि रमाना दिएर सरुवा भएको ठाउँमा फिर्ता पठाइसकिएको न्यौपानेले जानकारी दिए ।
दरबन्दीभन्दा बढी संख्यामा रहेका नायब सुब्बा र कम्प्युटर अपरेटरहरूलाई पनि रमाना दिइसकिएको उनले खुलाए । उनीहरूको केही दिनअघि मात्र सरुवा भएको थियो ।
पढ्नुहोस्, सम्बन्धित समाचार :
भिजिट भिसा प्रकरण: विमानस्थल अध्यागमनमा जान मरिहत्ते गर्छन् कर्मचारी, यसरी उठाउँछन् पैसा
विमानस्थलमा यसरी हुन्थ्यो भिजिट भिसाको सेटिङ, ३ महिनाअघि नै हेलो सरकारमा परेको थियो उजुरी