२८ जेठ २०८३, बिहीबार
बजेटको पूर्वसन्ध्या

बजेटमार्फत कर्मचारीको तलब बढ्ने, ईभीदेखि शेयरको पुँजीगत लाभकरसम्म वृद्धि हुने चर्चा

जेठ १४, २०८२
काठमाडौं
बजेटमार्फत कर्मचारीको तलब बढ्ने, ईभीदेखि शेयरको पुँजीगत लाभकरसम्म वृद्धि हुने चर्चा

सरकारले जेठ १५ गते बिहीबार आर्थिक वर्ष २०८२/८३ को संघीय बजेट प्रस्तुत गर्न तीव्र तयारी गरिरहेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मंगलबार बिहान नै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे विस्तृत ब्रिफिङ गरिसकेका छन् ।

मंगलबार अर्थमन्त्री पौडेलले संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम विपक्षी सांसदहरूका कारण अवरुद्ध भयो । त्यसलाई बुधवारको बैठकमा पेश गरिने मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।

बजेटबारे सम्पूर्ण तयारी पूरा भइसकेको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । आगामी आर्थिक वर्षका लागि राजस्व र करनीति पनि तय भइसकेको मन्त्रालय स्रोतको दाबी छ ।

यो बजेटले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई साकार पार्ने, आर्थिक सुधारलाई प्राथमिकता दिने र सामाजिक सुरक्षालाई सुदृढ गर्ने लक्ष्य राखेको छ ।

तर, बाहिर चर्चामा आएका शेयर बजारमा पूँजीगत लाभकर वृद्धि, विद्युतीय सवारी (ईभी)को राजस्व वृद्धि, दोहोरो करको निरन्तरता र घरजग्गा व्यवसायमा नीतिगत सुधारको अभावजस्ता विषयले निजी क्षेत्र, लगानीकर्ता र सर्वसाधारण सशंकित देखिन्छन् ।

शेयर लगानीकर्ताका निम्तिपूँजीगत लाभकरमा वृद्धि

मन्त्रालय स्रोतले शेयर लगानीकर्ताका लागि पूँजीगत लाभकारमा वृद्धि हुन सक्ने बताएको छ ।

आन्तरिक राजस्व विभागको प्रस्तावअनुसार शेयर कारोबारको नाफामा लाग्ने पूँजीगत लाभकरलाई १० प्रतिशतसम्म पुर्‍याउने तयारी सरकारको छ ।

हाल अल्पकालीन (१ वर्षभन्दा कम अवधिको) कारोबारमा ७ दशमलव ५ प्रतिशत र दीर्घकालीन (१ वर्षभन्दा बढी अवधिको) कारोबारमा ५ प्रतिशत कर लाग्ने व्यवस्था छ ।

राजस्व विभागले यी दुवैलाई दोहोरो अंकमा पुर्‍याउने र अल्पकालीन तथा दीर्घकालीन कारोबारका लागि फरक–फरक दर कायम गर्ने प्रस्ताव गरेको छ ।

राजस्व संकलन बलियो बनाउने उद्देश्यले लिन लागिएको यो नीतिप्रति शेयर लगानीकर्ताहरू चिन्तित देखिन्छन् । यही कारणले गर्दा राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाअन्तर्गत शेयर धितो कर्जाको जोखिमभार कम गर्दा पनि बजारमा उत्साह देखिएको छैन ।

पछिल्लो समय कोभिड- १९ पछिको आर्थिक मन्दी र विश्वव्यापी बजारको प्रभावले नेप्सेमा लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ ।

पूँजीगत लाभकर वृद्धिले विशेष गरी साना र मझौला लगानीकर्तालाई निरुत्साहित गर्न सक्छ । यसले बजारको तरलता र गतिशीलतामा असर पार्ने जोखिम छ ।

नेपाल उद्योग परिसंघ (सीआईएन)ले यस्तो नीति आए लगानीमैत्री वातावरणविरुद्धको कदम हुने भन्दै आलोचना गरेको छ ।

आयकरको दफा ५७ र ९५

त्यस्तै, आयकर ऐनको दफा ५७ र ९५ ‘क’ मा रहेको दोहोरो करको व्यवस्था हटाउने विषयमा पनि माग उठ्दै आएको छ । वैदेशिक लगानी भित्र्याउन बाधक मानिएका यी दफाहरू हटाउन सरकारलाई निजी क्षेत्रले धेरै पहिलेदेखि सुझाव दिएको थियो ।

दफा ५७ ले कम्पनीको ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन हुँदा कर लाग्ने व्यवस्था गरेको छ । त्यस्तै, दफा ९५ ‘क’ अनुसार शेयर लाभमा कर लाग्छ ।

यो दोहोरो करले लगानीकर्तालाई अनावश्यक बोझ थपेको टिप्पणी भइरहेको छ । यसले लगानीको वातावरणलाई जटिल बनाउने निजी क्षेत्रको भनाइ छ ।

नेपाल उद्योग परिसंघले यी दफाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ ।

बजेटले यो दोहोरो करसम्बन्धी प्रावधानलाई सम्बोधन गर्न नसके शेयर बजारको आकर्षण र अन्य क्षेत्रमा गरिने लगानीको विश्वसनीयता थप कमजोर हुन सक्ने चर्चा भइरहेको छ ।

ईभीमा कर दोब्बरहुने चर्चा

यसपालि सबैभन्दा बढी चर्चामा रहेको विषय विद्युतीय सवारी (ईभी)को कर वृद्धि हो । मन्त्रालय स्रोतका अनुसार भन्सार र अन्तःशुल्क गरेर ईभीमा न्यूनतम् ४० प्रतिशत कर लगाउने तयारी सरकारको छ ।

अहिले ५० किलोवाटसम्मका ईभीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लाग्ने प्रावधान छ भने ५१-१०० किलोवाटसम्मका ईभीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क छ ।

नयाँ प्रस्तावले यी दरहरूलाई न्यूनतम ४० प्रतिशतसम्म पुर्‍याउने भन्दै अटो व्यवसायीहरू चिन्तित बनेका छन् ।

गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम २०८२/८३ मा सरकारले २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको थियो ।

त्यस्तै, सगरमाथा संवाद (जेठ २–४)मार्फत जलवायु परिवर्तन र दिगो विकासको नीति अंगाल्ने सरकारको घोषणा थियो ।

तर, ईभीमा कर वृद्धिको प्रस्ताव यो प्रतिबद्धतासँग बाझिने देखिन्छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)ले ईभी आयातमा सहुलियत बढाउनुपर्ने माग राख्दै आएको छ ।

कर्मचारीको तलब वृद्धि!

आगामी बजेटमा कर्मचारीको तलब वृद्धि हुने कुराले पनि चर्चा पाएको छ । मन्त्रालय स्रोतले पनि तलब वृद्धि हुने सम्भावना रहेको जानकारी दियो ।

सरकारले कर्मचारीको आधारभूत तलब १० प्रतिशत वृद्धि गर्ने र महंगी भत्तालाई निरन्तरता दिने तयारी गरेको हो । यसले निजामती, सुरक्षाकर्मी, शिक्षकसहित करिब ५ लाख बहालवाला कर्मचारीलाई लाभ पुग्नेछ । स्थायी, अस्थायी र करार कर्मचारीका साथै अवकाशप्राप्त कर्मचारीको पेन्सन पनि बढ्नेछ ।

हाल सरकारी ढुकुटीबाट तलबमा वार्षिक १ खर्ब २५ अर्ब र पेन्सनमा ८८ अर्ब खर्च हुन्छ । कर्मचारीले मासिक २ हजार रुपैयाँ महँगी भत्ता र वार्षिक १० हजार रुपैयाँ पोशाक भत्ता पाउँदै आएका छन् ।

तलब सामान्यतः प्रत्येक २–३ वर्षमा समायोजन हुने इतिहास छ । पछिल्लोपटक २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १५ प्रतिशत तलब वृद्धि गरेका थिए । तर, यो वृद्धिले चालु खर्चको बोझ बढाउने र राजस्व सन्तुलनमा दबाब पार्ने जोखिम रहेको विश्लेषकहरूको भनाइ छ ।

पुँजीगत खर्च कार्यान्वयनको चुनौती

अर्थ मन्त्रालयको ८ बुँदे मार्गदर्शनमा उत्पादनमूलक क्षेत्रहरू (कृषि, उद्योग, पर्यटन) मा लगानीलाई प्राथमिकता दिने उल्लेख गरेको छ । कोभिड-१९ पछिको आर्थिक मन्दी र विश्व अर्थतन्त्रको शिथिलताले नेपालको निर्यात र पर्यटन क्षेत्रमा असर परेको छ ।

बजेटले यी क्षेत्रमा रोजगारी सिर्जना र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न विशेष कार्यक्रमहरू समावेश गर्ने अपेक्षा गरिएको छ । तर, विगतका वर्षहरूमा पुँजीगत खर्च ५० प्रतिशतभन्दा कम भएको इतिहास पनि ज्युँदै छ ।

ठूला पूर्वाधार आयोजनाहरू (सडक, ऊर्जा, सिँचाइ)मा ढिलासुस्ती र बजेट दुरुपयोगका घटनाहरू बारम्बार देखिएका छन् ।

नवउद्यमशीलता र सहुलियतपूर्ण कर्जा: अवसर र जोखिम

आगामी बजेटमा सुझाव दिँदै सरकारको प्रमुख घटक नेपाली कांग्रेसले बजेटमा स्टार्टअप र नवउद्यमलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण ऋण, कर छुट र तालिम कार्यक्रमहरू समावेश गर्न माग गरेको छ ।

नीति तथा कार्यक्रममा समेटिएको ‘कमाउँदै–पढ्दै’ नीतिले विद्यार्थीहरूलाई आर्थिक आत्मनिर्भर बनाउने र ‘जेन जी’ पुस्तालाई स्टार्टअपमा प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई परिष्कृत गरी पुनः शुरू गर्ने तयारी गरेको छ, जसले साना तथा मझौला उद्यम (एसएमई) लाई सहयोग पुर्‍याउनेछ ।

तर, महालेखा परीक्षकको प्रतिवेदनले यस्ता कार्यक्रमहरूमा पारदर्शिता र प्रभावकारिताको कमी औंल्याएको छ ।

विगतमा सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको र लक्षित समूहसम्म नपुगेको गुनासो छ । उदाहरणका लागि कोभिड-१९ पछिको पुनरुत्थान कर्जा कार्यक्रममा अनियमितता भेटिएको थियो ।

बजेटले यस्ता कमजोरीहरू हटाउन कडा अनुगमन र पारदर्शी वितरण संयन्त्र स्थापना गर्नुपर्ने महालेखा परीक्षक प्रतिवेदनको निष्कर्ष छ ।

वित्तीय संघीयता र सामाजिक सुरक्षा

बजेटले स्थानीय तह र प्रदेशमा वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन विशेष व्यवस्था गर्ने सम्भावना रहेको अर्थ मन्त्रालय स्रोतको दाबी छ ।

त्यस्तै, पछिल्लो समय संघीय सरकारले स्थानीय तहको बजेट कटौती गरेको छ तर नीति तथा कार्यक्रममा भने सेवा प्रवाह र क्षमता विकासका लागि बजेट वृद्धिको व्यवस्था गरिने बताइएको छ ।

त्यस्तै मन्त्रालय स्रोतले सामाजिक सुरक्षा भत्ताको दायरा र रकम वृद्धि हुने, विशेष गरी ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी नयाँ कार्यक्रम बजेटमा समावेश हुन सक्ने जानकारी दिएको छ ।

यद्यपि, सामाजिक सुरक्षामा ठूलो बजेट विनियोजनले राजस्व सन्तुलनमा दबाब परिरहेको छ ।

पछिल्लो समय नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को तुलनामा सामाजिक सुरक्षा खर्च बढ्दो छ । त्यसको अनुपातमा राजस्व संकलनको वृद्धि सुस्त छ ।

गत वैशाख १९ गते प्रस्तुत नीति तथा कार्यक्रम २०८२/८३ मा ‘कमाउँदै–पढ्दै’ नीति, नेपालको आफ्नै भू-उपग्रहजस्ता नवीन कार्यक्रमहरू समेटिएका छन् ।

तर, यी महत्त्वाकांक्षी योजनाहरू कार्यान्वयन भन्दा पनि पपुलिस्ट नारामा मात्र सीमित हुने सम्भावना बढी छ । यसअघिका नीति तथा कार्यक्रम र बजेटमा आएका कतिपय शीर्षकहरू कार्यान्वयनमै नगएको इतिहास छ ।

salt training

कमेन्ट गर्नुहोस्