
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गृह र रक्षा मन्त्रालयको बजेटमा वृद्धि गरेको छ । आन्तरिक सुरक्षा र प्रतिरक्षालाई प्राथमिकतामा राखेर बजेट बढाएको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सुरक्षा निकायलाई आवश्यक हातहतियार र अन्य सुरक्षा समाग्रीको व्यवस्था गर्ने लक्ष्य लिएको जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८१/८२ मा गृह मन्त्रालयका लागि एक खर्ब ९८ अर्ब ८७ करोड ७० लाख रूपैयाँ छुट्याइएको थियो । आगामी आव २०८२/८३ मा गृहका लागि सरकारले दुई खर्ब ८ अर्ब ६२ करोड ४४ लाख रूपैयाँ छुट्याएको छ । यो चालु आवको भन्दा ९ अर्ब ७४ करोड ७४ रूपैयाँ बढी हो ।
बजेट वक्तव्य अनुसार रक्षा मन्त्रालयको बजेट पनि पहिलेको भन्दा बढाइएको छ । चालु आव २०८१/८२ मा सरकारले रक्षा मन्त्रालयका लागि ५९ अर्ब ८७ करोड १४ लाख रूपैयाँ छुट्याएको थियो । आव २०८२/८३ का लागि सरकारले रक्षा मन्त्रालयलाई ६२ अर्ब एक करोड २१ लाख रूपैयाँ विनियोजन गरेको छ । जुन चालु आवको भन्दा दुई अर्ब १४ करोड ७० लाख रूपैयाँ बढी हो ।

गृहअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरीको आधुनिकीकरण, सुरक्षा सामग्री खरिद, सीमा सुरक्षार्थ बोर्डर आउट पोस्ट (बीओपी)का संरचना निर्माण लगायतमा बजेट विनियोजन गरिएको छ । सीमा क्षेत्रमा प्रविधिमैत्री सुरक्षा व्यवस्थापनको विषय पनि बजेटको प्राथमिकतामा परेको छ ।
अर्थमन्त्री पौडेलले शान्ति सुव्यवस्था कायम गर्न तथा अपराध अनुसन्धान प्रणालीलाई विश्वसनीय र भरपर्दो बनाउन सबै सुरक्षा निकायलाई समयानुकूल, व्यावसायिक, दक्ष, आधुनिक र साधनस्रोत सम्पन्न बनाउँदै लगिने बताएका छन् । यस्तै, नेपाली सेनाका लागि एक दशकअघिबाट जारी ‘बंकर टु ब्यारेक’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
‘सुरक्षा निकायलाई आवश्यक पर्ने सैन्य सामग्रीहरू; हातहतियार तथा सुरक्षा उपकरणको व्यवस्था गरिने छ,’ मन्त्री पौडेलले भने,‘नपाली सेनाको क्षमता अभिवृद्धि गरि राष्ट्रिय सुरक्षा, विकास निर्माण र विपद् व्यवस्थापनमा परिचालन गरिने छ ।’

उनले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न सक्षम तुल्याइने बताए । सशस्त्र प्रहरीलाई सीमा सुरक्षा, विपद् व्यवस्थापन र शान्ति सुरक्षामा परिचालन गरिने अर्थमन्त्री पौडेलले बताए ।
‘नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र राष्ट्रिय हितको रक्षाका लागि सक्षम बनाउने गरी सेनाको क्षमता अभिवृद्धि गरिनेछ’, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमा भनेका छन् ।