
प्रहरी नायब महानिरीक्षक (डीआईजी) र अतिरिक्त महानिरीक्षक (एआईजीमा) बढुवा भएका प्रहरी अधिकृतहरूले शुक्रबार प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिह्न लगाउँदैछन् ।
हाल प्रहरीमा ११ जना एसएसपीको दरबन्दी खाली छ । उक्त दरबन्दीमा बढुवा हुन प्रहरी उपरीक्षकहरूको तछाडमछाड चलिरहेको छ । प्रतिस्पर्धी एसपीहरू ३३ जना जना छन् । दरबन्दी ११ मात्रै छ ।
सूचीअनुसार पहिलो नम्बरमा रहेका एसपी विमल बस्नेत यसअघि नै कारबाहीमा परेका अधिकृत हुन् । ५ वर्षसम्म बढुवा रोकिएकाले बस्नेतको बढुवा हुने सम्भावना छैन ।
दोस्रो, नम्बरमा रहेका प्रकाश रानाभाट २०७८ मा धनुषाको प्रहरी प्रमुख भएर बस्दा विवादमा आएका अधिकृत हुन् । लागूऔषध मुद्दामा मिसिलमा फेरबदल गरेको आरोप उनीमाथि लागेको थियो । प्रहरी प्रधान कार्यालयले त्यतिबेलै नौ महिना कार्यकाल बिताएका रानाभाटलाई जिम्मेवारीबाट हटाएको थियो ।
तेस्रो नम्बरमा रहेका कमल थापा पनि विवादित प्रहरी अधिकृत हुन् । थापा अख्तियारमै रहँदा प्रहरी प्रभाग भैँसीपाटीसँग सम्बन्धित ‘हनिट्रयाप’ घटना जोडिएका थिए ।
२०५६ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकाहरू तुलबहादुर कार्की, राकेश सिंह र राजीवबहादुर बस्नेत पनि बढुवाका प्रतिस्पर्धी हुन् ।
२०५८ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकाहरू क्रमशः दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल, दयानिधि ज्ञवाली, भुवनेश्वर तिवारी, ऋषिराम कंडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदमबहादुर विष्ट, सुवास चन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रमेश पण्डित बढुवाका उत्तिकै प्रतिस्पर्धी हुन् ।
प्रतिस्पर्धीमध्ये विमल बस्नेत, रामप्रकाश शाह र केदार खनाल राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा प्रवेश गरेको प्रहरी अधिकृत हुन् । एसपी दयानिधी ज्ञवाली सर्लाहीको एसपी हुँदा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ३ महिना नबित्दै तानेका थिए । त्यतिबेला गलत सूचनाको पछि लागेर लामिछानेले ज्ञवालीलाई तानेको चर्चा प्रहरी मुख्यालयमा व्याप्त थियो । तर, उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ अपरेसनमा परेर सफाइ पाएका अधिकृत हुन् ।
एसपीको वरीयता सूचीको अन्तिममा रहेका रमेश पण्डित जिल्ला प्रहरी कार्यालय सिराहामा बस्दा प्रहरी मुख्यालय तानिएका थिए । महायज्ञ लगाउन दलित समुदायको घर उठिबास लगाउँदा पनि पण्डितले कुनै ‘एक्सन’ नलिएको आरोप उनीमाथि थियो । तत्कालीन समयमा सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई पनि जिम्मेवारीबाट हटाइएको थियो ।
बढुवा समितिको अध्यक्ष गृह सचिव रहने व्यवस्था छ । त्यस्तै, समितिका सदस्यहरूमा प्रहरी महानिरीक्षक र सदस्य सचिवमा प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक रहने व्यवस्था छ ।
गोकर्णमणि दुवाडीको अध्यक्षतामा गठित बढुवा समितिले एसएसपी हुने योग्यता पूरा गरेका एसपीहरूको कार्यसम्पादन मूल्यांकन अध्ययन थालेसँगै प्रतिस्पर्धी एसपीहरू दौडधुप र भनसुनमा सक्रिय भएका छन् ।
प्रहरी महानिरीक्षक दीपक थापाले ११ जनाको सम्भावित सूचीबारे गृहसचिव दुवाडी छलफल गरिसकेको चर्चा छ ।
समितिको बैठक बस्नेबित्तिकै कार्यसम्पादन र मूल्यांकनका आधारमा नाम ‘फाइनल’ गरेर बढुवा सूची प्रकाशन गरिने मन्त्रालय स्रोतले बतायो ।
गृहसचिव दुवाडीले बढुवा प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाइने बताए । उनले लोकान्तरसँग भने, ‘कार्यक्षमता र कार्यदक्षतामा जो अगाडि छ उसैले बढुवा पाउने हो, यसमा यो वा ऊ हुँदैन ।’