
कर्णाली डेभलपमेन्ट बैंकको करिब २ अर्ब ५० करोड ठगीको आरोप लागेका राजेन्द्रवीर राय भारतको लखनउबाट पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको भने पनि उनी भारतबाट पक्राउ परेको उच्च स्रोतको दाबी छ ।
स्रोतका अनुसार उनी लखनउमा फ्ल्याट भाडामा लिएर श्रीमतीसहित छद्म नाममा बस्दै आएका थिए । उनी अभयचन्द्र गुप्ताको नाममा त्यहाँ बसिरहेको स्रोत बताउँछ ।
राय कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत हुन् ।
बैंकको रकम अपचलनमा पक्राउ पुर्जी जारी हुनुअघि नै उनी फरार भएका थिए । उनी एक वर्षदेखि लखनउमै बसिरहेको पाइएको प्रहरी उच्च स्रोतको दाबी छ ।
सीआईबीका प्रवक्ता, एसपी युवराज खड्काले भने रायलाई शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरिएको जानकारी दिए ।
सल्यान घर भएका ६५ वर्षीय राय पछिल्लो समय बाँकेको नेपालगञ्ज नगरपालिका-२० बस्दै आएका थिए । तर, बैंकको रकम अपचलनको आरोप लागेपछि उनी फरार भएका थिए ।
उनी बैंकको संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत एवं पटक-पटक सञ्चालक समिति अध्यक्ष पदमा रही उक्त बैंकमा संकलन भएको बचतकर्ताहरूको २५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका एसपी खड्काले बताए ।
पक्राउ परेका रायमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य भइरहेको एसपी खड्काले बताए । यो बैंकको केन्द्रीय कार्यालय नेपालगञ्जमा थियो ।
२०६० फागुन ६ गते स्थापना भएको बैंकले तुलसीपुर, घोराही, लमही, भालुवाङ, गढवा, कोहलपुर, खजुरा, बैजापुर, गुलरिया, सानोश्री, बाँसगढी, भुरीगाउँ, राजापुर, ठाकुरद्वारा, बिजौरी, सिसहनिया, शम्शेरगञ्ज र नारायणपुरमा शाखा विस्तार गरेको थियो ।
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो ।
बैंककै उच्च व्यवस्थापन, कर्जा विभागका कर्मचारी, मालपोत कार्यालय र नेपालगञ्जकै व्यवसायीको गिरोहको मिलोमतोमा नक्कली जग्गाधनी र ऋणी खडा गरी रातारात ऋण प्रवाह गर्ने र पैसा आफैंले अपचलन गर्ने गरेको सीआइबीको अनुसन्धानले देखाएको छ ।
बैंकमा कर्जा लिन आउनेको जग्गा हडपेर लेख्न पढ्न नजान्ने, शारीरिक रूपमा अशक्त, बैंकमै काम गर्ने केही सोझासिधा कर्मचारीका नाममा नामसारी गरी महँगो ब्याजमा कर्जा दिने र हडपेको सोही जग्गा बैंकमा राखेर जग्गाको वास्तविक धितो मूल्यभन्दा धेरै ऋण लिने गरेको भेटिएको छ ।
जग्गा नामसारी गरी ऋण बोकाउन डमी जग्गाधनी र ऋणी खडा गरेर बैंकबाट निकालिएको पैसा गिरोहले आफू निकटका पात्रमार्फत् पुनः मिटरब्याजका लागि प्रयोग गर्ने गरेका थिए । मिटरब्याज लगाउने व्यक्ति बैंकको उच्च व्यवस्थापन र सञ्चालकका आफन्तसमेत संलग्न रहेको पाइएको छ ।