
गाजाको दक्षिणी भाग रफाहको राहत वितरण केन्द्रमा सहायता लिन लाइनमा बसेका नागरिकहरूमाथि इजरायलले आक्रमण गरेको छ ।
आक्रमणमा कम्तीमा २७ प्यालेस्टिनीको मृत्यु र दर्जनौं घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसी र अलजजिराले जनाएका छन् ।
उक्त राहत वितरण केन्द्र ‘गाजा ह्युम्यानिटेरियन फाउन्डेसन (जीएचएफ)’ द्वारा सञ्चालित छ, जसलाई इजरायल र अमेरिका दुवैले समर्थन गरेका छन् ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेर्रेसले मे २७ देखि दैनिक रूपमा भइरहेका सहायता माग्ने नागरिकहरूमाथिको गोलीकाण्डको स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गरेका छन् । जीएचएफले सोही मितिबाट राहत वितरण थालेको हो ।
यसैबीच, इजरायलले सेनाले उत्तरी गाजाको जबालिया क्षेत्रमा भएको हमलामा आफ्ना तीन जना सैनिकको ज्यान गएको जनाएको छ ।
हमाससँग युद्धविराम अन्त्य गरेयता इजरायली सेनामाथि भएको यो सबैभन्दा घातक हमला भएको बताइएको छ ।
इजरायलद्वारा गाजामा थालिएको युद्धमा हालसम्म कम्तीमा ५४ हजार ३८१ प्यालेस्टिनी मारिएका र १ लाख २४ हजार ५४ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत वर्ष अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको हमलामा १ हजार १३९ जना मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।