
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित राजावादी समूहले गरेको प्रदर्शनका कारण विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै एक विद्यालयले सीडीओ कार्यालय गुहारेको छ ।
काठमाडौं महानगरपालिका-७, सिफलमा अवस्थित बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै तुरुन्त आन्दोलनको स्थान परिवर्तन गर्न माग गरेको छ ।
निमित्त प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाले लेखेको पत्रमा राजावादीहरूले मंगलबार विद्यालय अगाडिको सिफलचौरमा नारा, जुलस, चर्को आवाजमा साउण्ड आउने गरी विभिन्न गतिविधि गरेको उल्लेख छ ।
‘यसका साथै सुरक्षा चुनौती पनि देखिएको छ । यस सामुदायिक विद्यालयमा विभिन्नखालका समावेशी विद्यार्थीहरू समेत अध्ययन गर्ने भएकोले बढी संवेदनशील हुनुपर्ने अवस्थामा यस्ता खालका गतिविधिहरू भइरहेको हुँदा तुरुन्त आन्दोलनको स्थान परिवर्तन गरी विद्यालय शान्ति क्षेत्र भएकाले विद्यार्थीहरूले शान्तपूर्वक अध्ययन गर्न पाउने बाल अधिकारलाई समेत मनन् गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु’, पत्रमा भनिएको छ ।
