१३ असार २०८३, शनिबार

प्रेमीसँगको अश्लील च्याट पठाएर जब आफ्नै बुवाले छोरीलाई ‘ब्ल्याकमेल’ गरे‍... !

जेठ २१, २०८२
काठमाडौं
प्रेमीसँगको अश्लील च्याट पठाएर जब आफ्नै बुवाले छोरीलाई ‘ब्ल्याकमेल’ गरे‍... !

नेपाल प्रहरीको साइबर ब्यूरोमा एक किशोरी उजुरी लिएर पुगिन् । उजुरीमा किशोरीले आफ्नै बुवाले फेसबूकमा फेक आईडी बनाएर अश्लील भिडियो च्याट पठाएर धम्की दिएको उल्लेख गरेकी थिइन् । 

१७ वर्षीया सम्झना (नाम परिवर्तन) लाई आफ्नै बुवाले किन ‘ब्ल्याकमेलिङ’ गरे त ? भन्दै ब्यूरोका प्रहरीले अनुसन्धान शुरू गरे । अनुसन्धानका क्रममा किशोरी र उनकी आमा झगडा गरेर घर छाडेर गएको र बुवाले रिसइबी साँध्न उक्त हर्कत गरेको तथ्य खुल्यो । 

सम्झनाका बुवाले ‘अर्जुन अर्जुन’ नामको फेसबूक आईडी बनाएका थिए । उक्त आईडीबाट सम्झनालाई अंग्रेजी रोमनमा ‘धेरै भिडियोहरू अपलोड गर्न बाँकी छ, तर म गर्दिनँ । गर्ने भए यस्तो सबै भिडियो अस्ति पुलिसलाई देखाइदिन्थ्येँ,’ भन्नेजस्ता धम्कीपूर्ण म्यासेज पठाएका थिए ।

सम्झनाको अश्लील भिडियो कसरी बुवाले फुत्काए भनेर पनि प्रहरीले खोजतलास गर्‍यो । सम्झनाले मोबाइल ‘लक’ नगरी छाडेको बेलमा उनका बुवाले मोबाइल खोलेर भिडियो र फोटोहरू आफ्नो म्यासेन्जरमा पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

‘मैले मोबाइल छाडेर गएको बेलामा बाबाले मेरो मोबाइलबाट प्रेमीसँग गरेको अश्लील भिडियो च्याट र फोटोहरू आफ्नो म्यासेन्जरमा पठाउनुभएको रहेछ,’ सम्झनाले ब्यूरोमा दिएको उजुरीमा भनेकी छिन्, ‘मैले कयौंपटक किन यस्तो गर्नुभएको भनेर सोधें, तर बाबाले मान्नुभएन ।’ 

प्रहरीले सम्झनाका बुवालाई पक्राउ गरेर बयान लिएको छ । बयानमा उनले घर छाडेर गएको र सम्पर्कमा नआएपछि बदला लिन आफूले उक्त हर्कत गरेको स्वीकार गरेका छन् । उनले उक्त कार्य गर्नु आफ्नो गल्ती भएको समेत बताएका छन् ।

प्रहरीले सम्झनाका बुवालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार कसुर ऐन, २०६३ को दफा ५८ क र दफा ७६ बमोजिम कारबाहीको मागदाबीसहित सरकारी वकिल कार्यालयमा मिसिल बुझाएको थियो ।

सरकारी वकिल कार्यालयले ब्यूरोको अनुसन्धान मिसिलबमोजिम गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्