३१ असार २०८३, बुधबार
जीवनदर्शन

नृवंशको उत्पत्ति : कहाँ, कहिले र कसरी ?

जेठ २४, २०८२
काठमाडौं
नृवंशको उत्पत्ति : कहाँ, कहिले र कसरी ?

पछिल्लो प्रलयपछि सृष्टिको शुरूवात काश्यपसागर आसपासको भूमिबाट भएको देखिन्छ । यो सागर त्यही सागर हो, जसलाई हिन्दूपुराणले क्षीरसागर भनेको छ । मानवजाति, पशुजाति, पक्षीजाति, नागजातिलगायत सारा प्राणीजातिको उत्पत्ति यसै क्षेत्रबाट भएको पाइन्छ । 

प्रलयपछि यस क्षेत्रमा एउटा कश्यपजातिको मानिस जीवित रहेको बुझिन्छ भने अर्को क्षेत्रमा प्राचेतसहरू जीवित रहेको भेटिन्छ । यिनै प्राचेतस दक्षले आफ्नी ६० वटी कन्यामध्ये १३ वटी कश्यपलाई दिएका थिए, जसबाट सारा प्राणी जति उत्पत्ति भएको हिन्दू पुराणमा उल्लेख छ तर, यो प्रतीक हो । मानिसबाट पशुपक्षीको उत्पत्ति सम्भव हुने कुरा होइन । अपितु ती सबै त्यस क्षेत्रमा उत्पत्ति भएका प्राणीहरू हुन्, जसलाई हिन्दूपुराणले कथानकरूपमा सम्झाउने प्रयास गरेको छ ।

प्राचेतस दक्षपुत्री प्रलयपछि जिवीत रहेका कश्यपजातिका पुरुषबाट नृवंशको उत्पत्ति भएको देखिन्छ, जसलाई नृवंशको आदि पुरुष मान्न सकिन्छ । अन्य सबै जाति यसैको आसपासवर्ती उर्वरभूमिमा उत्पत्ति भएका हुन्, जसलाई हिन्दूमिथकले कश्यपपत्नी भनेर चिनाउने काम गरेको हुन सक्छ । क्षीरसागरलाई काश्यपसागर भन्नुको अर्थ पनि यिनै कश्यपसित सम्बन्धित देखिन्छ । 

विस्तारै नृवंशमा सम्पत्ति सञ्चित गर्ने लोभ बढ्दै गयो । यसैको निहुँमा आपसमा झगडा तथा लडभिडको अवस्था सिर्जना हुन थाल्यो । त्यसबाट बच्न घरव्यबहारको परम्परा बसाइयो । नारीजातिलाई घरमूली मानियो । घरगृहस्थी तथा सम्पत्तिको जिम्मा उनैलाई दिन थालियो । 

यौनसम्पर्क खुला भएकाले सन्तानलाई चिनाउन आमाको नाम लिन थालियो । आगो खोजे, पोलेर खान थाले । भाँडावर्तन बनाए, पकाएर खान जाने । जाडो अनुभव गरे कपडाको आविष्कार गरे । सियो बनाए, सिलाएर लगाउन थाले । मासु र फलफूलले पुगेन, कृषि व्यवसाय अप्नाउन लागे ।  

समय बित्दै गयो सम्पत्तिको नाममा हुने झगडा पनि बढ्दै गयो । फलतः मानिस दुई ध्रुवमा बाँडिए । एकथरीले आफूलाई देवजाति भने अर्काथरीले असुरजाति । देवजातिको नेतृत्व विष्णुले गरे, जसलाई वेदवादीहरूले इन्द्र भन्ने गरेका थिए । पुराणवादीले तिनै विष्णुलाई उपेन्द्र नाम दिए । असुरजातिको नेतृत्व भने हिरण्याक्ष र हिरण्यकशिपुले गरेका थिए । 

विस्तारै जसङ्ख्या बढ्दै गयो । त्यस क्षेत्रको उत्पादनले धान्न सकेन । समुद्रपारीतिर आँखा लगाए तर, एकाकी प्रयासबाट त्यो सम्भव थिएन । साधन चाहिन्थ्यो, थप बुद्धि र विवेकको आवश्यकता थियो । त्यसैले देवासुरहरू आपसमा सन्धी गरी विचारविमर्श गर्न लागे । छलफलमा पानीमा सजिलै खेल्न सक्ने नागजाति र कच्छपजातिलाई पनि सहभागी गरायो । बल्ल आपसी छलफलबाट समुद्र पार गर्ने उपाय निस्कियो । 

काठ खोपेर वा जोडेर डुङ्गाहरू बनाइए । समुद्र तर्ने क्रममा कति डुबेर हराए, कति मरे, जसलाई हिन्दूपुराणले समुद्र मन्थनको संज्ञा दिएको छ । जब पारी पुगे यसअघि कहिल्यै नदेखिएको पहेँलो धातुको खानी देखेर छक्क परे, जुन सूर्यकिरणले थप चम्किलो देखिएको थियो । त्यस्तो अद्भूत पदार्थ देख्नु के थियो देवासुर दुवै लोभिए । यसैको कारण उनीहरूबीच घोर सङ्ग्राम भयो, जुन इतिहासमा देवासुर सङ्ग्रामको नामले परिचित छ । यो उनीहरूबीचको पहिलो सङ्ग्राम थियो । इतिहासमा सम्पत्तिकै नाममा यस्ता सङ्ग्राम १४ पटकसम्म भएका छन्, जहाँ ३०० वर्षभन्दा बढी समय व्यतीत भएको अनुमान गरिएको छ । जे होस् युद्धमा देवजातिको हार हुने सङ्केत देखियो । त्यसपछि उनीहरू खजानाको लोभ छाडी पर्वतीय इलाकातिर लागे भने हिरण्यकशिपु हिरण्यपुर बसाइ त्यतै रहन लागे । जब हिरण्यकशिपु हिरण्यपुरको मालिक भए तब उनमा सम्पत्ति जम्मा गर्ने लोभ बढ्दै गयो । 

उनको हिरण्यकशिपु नाम रहनुको एउटा कारण यो  पनि थियो । जसले धनमात्र देख्छ वा खोज्छ ऊ हिरण्याक्ष हो, जसले सम्पत्ति जम्मा गर्नेमात्र सपना देख्छ ऊ हिरण्यकशिपु हो । सम्पत्तिकै निम्ति हिरण्यकशिपुले उत्तरपश्चिम फारसदेखि अफगानिस्तानसम्मको भूभागमा कब्जा जमाए । उता बेबिलोलोन तथा त्यस आसपासको क्षेत्रलाई उनका भाइ हिरण्याक्षले अधीनमा राखेका थिए । 

हाल युरोपको उत्तरपश्चिम प्रदेशमा अवस्थित एउटा स्थानलाई त्यतिबेला केतुमालखण्ड भनिन्थ्यो । यसैको अर्को नाम कोलवराह थियो । हाल यसलाई कोला प्यानिन्सुलाद्वीप पनि भनिन्छ । त्यतिबेला त्यहाँ कोलावराह नामका जाति बस्दथे । हिजोआज यस जातिलाई कोल–कोल्ट आदि भन्ने गरिएको पाइन्छ । प्रलयपछि वरुणलाई यिनै जातिले सघाएका थिए । त्यसैले यहाँ पनि वरुणले यिनै जातिको सहयोगमा हिरण्याक्षाको वध गराए । त्यसपछि बेविलोनमा मनुपौत्र नृग आएर बस्न लागे । कोलावराह जातिको एउटा शाखा पनि यतै आएर बस्न लागे । पछि यसै वंशका व्यक्ति इरानको समेत राजा हुन पुगेका थिए, जो वराहलाई इष्टदेव मान्ने गर्थे । यिनै सूर्यवंशी नृगलाई नृसिंहदेव पनि भन्ने गरिन्थ्यो । यिनै नृसिंहदेवले भाइ हिरण्याक्षको मृत्युपछि विक्षिप्तावस्थामा पुगेको हिरण्यकशिपुलाई मारेका थिए । यिनका वंशजलाई इरानमा हिजोआज नृगृटो जाति भनिन्छ । इरानी इतिहासकार नृगवंशीको मूलपुरुषलाई नरमसिन भन्ने गर्दछन् । त्यहाँ नरमसिनको अर्धसिंहको मूर्ति अहिलेसम्म पनि रहेको बताइन्छ । भनिन्छ यसै नामबाट त्यहाँ एउटा प्रान्तको समेत नाम रहेको छ, जो नृसिंहदेव शब्दकै अपभ्रंशरू रहेको बुझिन्छ । 

हिरण्यकशिपुको मृत्युपछि हिरण्यपुर देवजातिको अधीनमा गएको भए पनि केही समयपछि हिरण्यकशिपुपुत्र प्रह्लादले मैत्रीसन्धी गरी आफ्नो पैतृकभूमिलाई आफ्नै कुलमा सुरक्षितगरी  संरक्षकको जिम्मा नाति बलिलाई दिए । त्यसपछि बलि पैतृकभूमि छाडी पर कतै बलासुरा नामक नगरी बसाई रहन लागे । यो भूमि हाल वसराको नामले परिचित छ, जुन इराकमा पर्छ । उनले त्यहाँ बसेर यति ठूलो प्रगति गरे कि, जसलाई देवजातिले पचाउन सकेनन् । त्यसैले विष्णुले छलगरी उनको सम्पत्ति हडप्ने काम मात्र गरेनन् उनलाई देश निकालागरी पातातिर पठाए । त्यति बेला उनी बसेको पाता भूमिपछि गएर अविसिनियाको नामले परिचित हुन पुग्यो ।  हाल त्यस क्षेत्रका निवासीलाई उनकै वंशज मानिन्छन् । 

जति बेला विष्णुले छल गर्दै थिए त्यतिबेला गुरु शुक्राचार्यले बलिलाई निकै सम्झाका थिए तर, बलिले सुन्ने कान लगाएनन् । फलतः शुक्राचार्य रिसाएर आफ्नै कुलवंश और्वलाई लिएर मक्कातिर लागे । पछि गएर सो स्थान उनै शुक्र र और्वको नामबाट अरबको नामले परिचित हुन पुग्यो । हाल सो क्षेत्रमा जुन जातिले बसोबास गर्दै आएका छन् ती सबै उनै शुक्र र और्वको वंशज मानिन्छन् । 

त्यसपछि देवजाति विभिन्न शाखामा विभक्त भई पर्वतीय इलाकामा रहन लागे । यीमध्ये केही ऐलभूमि हुँदै भारतीय उपमहाद्वीपमा प्रवेश गरे, जसले आर्यसभ्यताको विकास गरेका थिए । केही जाति हिमालयतिर गएर बस्न लागे । जसलाई हाल यक्ष, नाग, गन्धर्व, किन्नर, किम्पुरुष आदि भन्ने गरिएको छ । वैकुण्ठभूमि बसाउने पनि यिनैजातिहरू हुन्, सुषा नगरी अमरावती बसाउने पनि यिनै जाति हुन् ।  

यसरी क्षीरसागरको आसपासको क्षेत्रमा सृष्टि भएका नृवंशहरू नै हाल विश्वका विभिन्न स्थानमा छरिएर रहँदै आएका छन् । यस क्रममा उनीहरूले जहाँजहाँ पुगेका थिए सोही स्थानअनुसारको रहनसहन अपनाउने काम मात्र गरेका थिएनन् आफैं अनुकुलको दर्शन र सिद्धान्त प्रतिपादन गर्ने कामसमेत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्