
घरीघरी हाँसेर आमालाई अंगालोमा बेर्छिन् । एकैछिनमा बाहिर निस्केर घर वरिपरि फन्को मार्छिन् । फेरि घरभित्र आएर सानो बच्चाजस्तो इसारामा सांकेतिक गफ गर्छिन् । भनेजस्तो भएन भने रिसाउँछिन् । आमा/बाबादेखि घरमा आएका पाहुनालाई समेत हिर्काउन (हान्न) बेर लगाउँदिनन् अस्मिता । आमा सीताले फकाएपछि पुनः शान्त हुन्छिन् । यसरी नै बितिरहेका छन् बुटवल उपमहानगरपालिका–८ सुख्खानगर निवासी सीता पराजुलीका दिनहरू । घरायसी अनेक काम, तनाव र आफ्ना व्यथा भुलेर मायालु स्वभावले छोरी अस्मिताको सेवामा सीता सधैं तल्लीन छिन् सीता । २४ वर्षदेखि उनले यसैगरी छोरीको स्याहार गरिरहेकी छन् ।
उमेर र शरीरको वृद्धिसँगै अस्मिताको बौद्धिक चेतनाको विकास हुन सकेन । उनी बौद्धिक अपाङ्गताको सिकार भइन् । वातावरणसापेक्ष क्रियाकलाप गर्न नसक्नु बौद्धिक अपाङ्गता हो ।
अस्मिताको हेरचाहसँगै सीताले घरको काममा पनि समय निकाल्नुपर्छ । छोरीकै कारण २४ वर्षदेखि सीताले घरबाहिर गएर रात बिताएकी छैनन् । ‘अचेल त उनीजस्ता बच्चा स्कूलमा धेरै देख्दा त्यति धेरै अप्ठ्यारो लाग्दैन,’ सीता भन्छिन्, ‘उनलाई मैले रेखदेख र माया नगर्ने हो भने अरू कसले गर्छ ?, ऊ २४ पुगेर २५ वर्षमा टेकी, अहिलेसम्म उसलाई छाडेर म कही बाहिर रात बिताएर बसेको याद छैन । उसको मायाले एक रात पनि छाडेर जान सक्दिनँ ।’
सीताको मनभित्र ठूलो गाँठो परेको जेठ ८ गते २४ वर्ष पूरा भयो । गुल्मीको साविक फोक्सिङ गाविस–७ (हाल कालीगण्डकी गाउँपालिका)मा जन्मे/हुर्किएकी सीताका दुई छोरापछि छोरी अस्मिता जन्मिएकी हुन् । छोरामा कुनै स्वास्थ्य समस्या थिएन । उनका अनुसार सीता र श्रीमान शंकरले परिवार नियोजन गरेपछि अस्मिता जन्मिएकी हुन् ।
सीताको घरमा बाह्रैमास कामको चाप हुन्थ्यो । अस्मिता पेटमा हुँदा पाँच महिनासम्म केही थाहा थिएन । पछि पेटमा बच्चा चल्न थालेपछि बल्ल गर्भ रहेको थाहा भयो । दुई छोराहरू थिए, एउटा छोरी भए परिवार भरिपूर्ण हुन्छ भन्ने ठानेर परिवार बच्चा जन्माउने निर्णय परिवारमा भयो । नभन्दै सीताले छोरी जन्माइन् । पराजुली परिवारमा खुसी पनि छायो ।
जन्मिएको एक हप्तापछि अस्मिता जन्डिस भएजस्तो पहेँलो देखिइन् । त्यो बेला गाउँमा डाक्टर थिएनन् । घरभन्दा केही पर रहेको मेडिकलमा गएर देखाउँदा धुलो औषधि पानीमा घोलेर खुवाउन भने । सीतालाई त्यो औषधिले अहिलेसम्म पनि झस्काउँछ ! केही दिन खुवाइन्, तर, मेडिकलवालाले भनेअनुसार नखुवाएको उनलाई सम्झना छ ।

६ महिना हुँदा अरू बच्चा कोल्टे फर्किने गरे पनि अस्मिताले त्यो स्वभाव देखाइनन् । दश महिनासम्म पनि छोरीले शरीर मात्र चलाउने तर, टाउको यताउता समेत नगर्ने भएपछि अस्मिता अरूभन्दा फरक छन् भन्ने लाग्न थाल्यो । उनले छोरीलाई जाFचको लागि चितवनको भरतपुर अस्पतालमा पुर्याइन् । त्यहाँ लगेर जाँच गर्दा डक्टरले छोरी अन्य बच्चाजस्तो सामान्य छैनन् भनेपछि सीता छाँगाबाट खसेजस्तै भइन् । त्यहीँ पनि अझै निको हुने आशा छ कि भनेर काठमाडौंको टिचिङ र टेकु अस्पतालसम्म पुगिन् ।
बच्चा निको हुँदैन, ठूलो भएर दिसापिसाब आफैं तर्काउन सक्ने हुन्छिन् भनेर सामान्य औषधि दिए । आफ्नो सन्तान हुर्काउनुको विकल्प सीतासँग थिएन । त्यो बेला सीताको परिवारले भरतपुरमा घर बनाएका थिए । केही वर्ष उनी त्यहाँ बसिन् । पछि परिवार फेरि बुटवल बसाइसराइँगरी फर्किए । जस्तै भए पनि छोरी अस्मिताको माया र स्याहारलाई कुनै कमी हुन दिइनन् सीताले । आठ वर्षसम्म अस्मिताले खुट्टाले टेकिनन्, घिस्रेर मात्र हिँडिन् ।
आठ वर्षमा बल्लबल्ल खुट्टाले टेकिन् । पछि छोरीलाई बौद्धिक अपाङ्गता भएको पुष्टि भयो । अस्मिता पनि अरू बच्चा जसरी खेलिदिए, व्यवहार गरिदिए कस्तो हुन्थ्यो भन्ने कल्पनामा सीता डुब्थिन् । छोरीको उमेरका बालबालिका र दाइहरू विष्णु र गणेश झोला बोकेर स्कूल जाँदा उनको मन कटक्क खान्थ्यो । सीताका श्रीमान् शंकर पराजुली व्यापार गर्ने भएकाले छोरीको सम्पूर्ण जिम्मेवारी उनको टाउकोमा थियो । छोरीको अवस्था देख्दा उनी बेला–बेला पिरोलिन्थिन् । त्यो बेला बुटवल झरेर भिडियो एक्सरे गरेको भए बच्चाको अवस्था थाहा हुने रहेछ भनेर अहिले सीता चुकचुकाउँछिन् । घरमा पाहुना, ठूलो परिवार र होहल्लामा छोरी आक्रामक हुन्छिन् । आवेगमा आउँदा छोरी एकोहोरो हिँडेको हिँड्यै गर्छिन् । अस्मिता एक ठाउँमा बस्न सक्दिनन् ।
अस्मिता विस्तारै अलिअलि हिँड्न थालिन् । नभन्दै डाक्टरले भनेअनुसार दिसापिसाब लागेको संकेत गर्न थालिन् । विस्तारै हिँडाइमा अझै सुधार भएपछि दिसापिसाब तर्काउन थालिन् ।
यसले पनि सीतालाई धेरै राहत भएको महशुस गरायो । पछि २०६८ सालतिर बुटवलमा अपाङ्गता भएका बालबालिका पढाउन सुस्तमनस्थिति बाल विद्या मन्दिर स्कूल सञ्चालनमा आयो । त्यहाँ अस्मितालाई पनि भर्ना गरियो । दश बजेदेखि तीन बजेसम्म स्कूलमा भुलाउन पठाउँदा पनि सीताले धेरै राहत महशुस गरिन् । स्कूल पठाएपछि अस्मिताका बानी व्यवहारमा केही सुधार देखिए ।
‘कुनै बेला थियो छोरीको स्वास्थ्य केही सुधार होला भन्ने आश नै मारिसकेकी थिएँ,’ उनी भन्छिन्, ‘तर, पछिल्लो समय छोरीमा केही सुधार आइरहेको छ ।’ उनको महिनावारी स्याहार्न पनि गाह्रो हुन्छ । महिनावारी प्राकृतिक चक्र हो, सफासुग्घर हुनुपर्छ भन्ने अस्मितालाई थाहा छैन । अपाङ्गता भएका बालबालिकाको पनि अन्यकोजस्तै भावना र आवश्यकता हुन्छ । अन्य बालबालिकाभन्दा पनि यस्ता बालबालिकालाई बढी समय, माया ममता र अवसरहरू दिनुपर्ने सीताले अहिले सिकेकी छन् । कहिले स्कूल जान मान्छिन् भने उनलाई जान मन लागेन भने लैजान सकिँदैन ।

उनी स्कूल जान लागेपछि शौचालय जान, साबुन पानीले हात धुन, चप्पल सुल्टोगरी लगाउन र मिलाएर लगाउनेजस्ता व्यवहारिक कुरा सिकेकी छन् । अस्मिताको सानासाना गतिविधिले उनका लागि खास अर्थ राख्छन् । छोरीकै कारण अपाङ्गता भएका बच्चाका अभिभावकसँग भेट्दा र अनुभव साट्न पाउँदा उनी खुशी छिन् ।
शुरूमा आफ्नी छोरी देखेर मैले केही गल्ती गरेकाले यस्तो जन्मी कि भनेर सोच्ने सीता अचेल आफूलाई सामान्य ठान्छिन् । बोल्न नसके पनि अस्मिता सुन्न सक्छिन् । उनलाई गीत–संगीत मन पर्छ । गीत सुनेर र मोबाइलमा टिकटक हेरेर खुब रमाउँछिन् ।
उमेरले ५० वर्ष पुगेकी सीतालाई छोरीको भविष्यबारे अहिले ठूलो पीर छ । आफूले काम गर्न सक्दासम्म रेखदेख र हेरचाह गरे पनि आफ्नो अनुपस्थितिमा छोरीको हालत के होला भनेर पिरोलिन्छिन् सीता, ‘म बाँचुन्जेल त हेरौंला, पछि यसको रेखदेख कसले गर्न सक्ला ? अहिले यहीँ पीर मनमा आइरहन्छ,’ उनी भन्छिन् ।
यस्ता बालबच्चाको लागि होस्टेलजस्तो सरकारी तहबाट स्याहार केन्द्र स्थापना गरिनुपर्ने उनी बताउँछिन् । जहाँ अभिभावकले नसक्दा र वृद्ध अवस्थामा उनीहरूको हेरचाह हुन सक्ने व्यवस्था होस् भन्ने उनको चाहना छ ।
अस्मिताले नेपाल सरकारबाट पूर्ण अपाङ्गगताको रातो कार्ड पाएकी छन् रातो कार्ड हुनेले भत्तास्वरूप मासिक चार हजार रूपैयाँ पाउँछन् । तर, यस्ता बच्चा भएकालाई सहयोगी पनि चाहिन्छ । आफूजस्ता अभिभावकका लागि रोजगारीको व्यवस्था राज्यले गर्न सके धेरै राम्रो हुने उनको भनाइ छ ।