
झोलामा किताब, कापी, हातमा पानीको बोतल । झट्ट हेर्दा नातिनातिना विद्यालय पुर्याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफैं कखरा सिक्दै छन् ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेर न्यून भएपछि आमालाई विद्यालयमा भर्ना गरिएको हो । सरकारले २०७० सालमा ‘साक्षर हाम्रो अधिकार’ भन्ने नाराका साथ सञ्चालित ‘साक्षरता नेपाल अभियान’अन्तर्गत प्रौढ शिक्षा कार्यक्रम सञ्चालन गरेर बागलुङ जिल्लालाई निरक्षरमुक्त जिल्ला घोषणा गरेको छ ।
बागलुङ सदरमुकामबाट १० मिनेटको दूरीमा पुगिने बागलुङ नगरपालिका– ३ खहरेका १० जना आमा भर्खर कखरा सिक्दै छन् । उनीहरू आफ्नो नाम लेख्न सक्षम भएका छन् ।
खहरेको वसुन्धरा प्राथमिक विद्यालयले व्यवस्थापन समिति र प्रधानाध्यापकसमेतको संयोजनमा ‘आमा शिक्षा कार्यक्रम’ सञ्चालन गरेको छ । सोही कार्यक्रमअनुसार पहिले अक्षर चिनेका तीन जना आमा कक्षा २ र अक्षर नै नचिनेका सात जना आमा कक्षा १ मा भर्ना भएका छन् ।
कक्षा ३ सम्म अध्यापन हुने विद्यालयमा अहिले जम्मा १६ जनामात्रै विद्यार्थी छन् । १० जना आमा थपिएपछि २६ जना पुगेका छन् । विद्यालय जाने उमेरका यो गाउँका बालबालिका सदरमुकामका निजी विद्यालयमा जान थालेपछि विद्यालय जोगाउन आमा साक्षरता कार्यक्रम चलाइएको विद्यालयको प्रधानाध्यापक सरिता उप्रेती पाण्डेले जानकारी दिइन् ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून नभएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेर अभिभावक पढाउन शुरू गरेको हो । घरधन्दा सकेर किताब र कापी बोकी विद्यालय पुग्ने उनीहरू साँझ बिहान नातिनातिनासँगै गृहकार्य गर्ने गरेको बताउँछन् ।
५६ वर्षमा कक्षा १ मा भर्ना भएकी खिमकुमारी कार्कीले गाउँमा प्रौढ कक्षामा आफूले पढ्न नपाएको भए पनि ‘आमा शिक्षा कार्यक्रम’ले पढ्ने चाहना पूरा गरिदिएको बताइन् । 'अहिले फोटो हेरेर फोन गर्छु,' उनले भनिन्, 'अक्षर चिनेपछि विदेशमा भएका छोरालाई आफैंले अक्षर चिनेर फोन गर्ने इच्छा छ ।'
किताब र कापी च्यापेर विद्यालय जाँदा फुरुङ्ग उनी धुलोमैलो र माटाको स्कूल अहिले सिमेन्ट र कार्पेट बिछ्याउँदा विद्यार्थी घटेर विद्यालय बन्द हुने अवस्थामा पुगेकामा चिन्तित छन् ।
विद्यालय जोगाउन आफैंले पढ्न शुरू गरेको ६० वर्षीया मीनाकुमारी खत्रीले बताइन् ।
अक्षर नचिनेका आमाहरूलाई पढ्ने लेख्ने बनाउनु राम्रो काम भए पनि पढ्ने उमेरका बालबालिका विद्यालयमा थोरै हुनु दुःखद भएको विद्यालयका प्रधानाध्यापक सरिता उप्रेती पाण्डे बताइन् ।
बाल शिक्षामा बर्सेनि १२ जनाभन्दा बढी बालबालिका भर्ना भए पनि १ कक्षा पुग्ने बेलामा विद्यार्थी सङ्ख्या शून्य हुने गरेको उनले जानकारी दिइन् ।