
एमजीले आफ्नो पिकअप गाडीको पहिलो लुक्स सार्वजनिक गरेको छ । विश्व बजारमा चर्चित ब्राण्डहरूलाई चुनौती दिनेगरी एमजीले आफ्नो पिकअप गाडी ‘एमजी यू ९’ को पहिलो लुक्स सार्वजनिक गरेको हो ।
एमजी यू ९ ले बजारमा स्थापित फोर्ड रेन्जर र टोयोटा हाइक्सजस्ता शक्तिशाली प्रतिस्पर्धीलाई सोझै टक्कर दिने बताइएको छ । यसको पहिलो लुक्सबाटै ठूला-ठूला ब्रान्डहरूलाई मात दिएको उपभोक्ताहरूले प्रतिक्रिया दिएका छन् ।
एमजीले यो मोडलबाट अस्ट्रेलियाको आकर्षक डुअल-क्याब युट बजारमा प्रत्यक्ष प्रतिस्पर्धा गर्न तयारी गरिरहेको छ । भर्खरै सार्वजनिक गरिएको यू ९ को स्पेसिफिकेसन्सले प्रिमियम सेगमेन्टका सबैभन्दा बढी बिक्री हुने गाडीलाई चुनौती दिने देखाएको छ ।

पीडीएचएलको प्यारेन्ट कम्पनी एसएआइसी को नयाँ-जेनेरेशन प्लेटफर्ममा आधारित एमजी यू ९ को युट सन् २०२५ भित्रै अस्ट्रेलियामा लन्च हुने कारएक्सपर्टले सार्वजनिक गरेको रिपोर्टले बताउँछ ।
रिपोर्टअनुसार, एमजी यू ९ मा २ लिटर ट्विन-टर्बो चार-सिलिन्डर डिजेल इन्जिनले १६० किलोवाट पावर र ५०० एनएम टर्क उत्पादन गर्छ । यसले फोर्ड रेन्जरलाई समेत प्रतिस्पर्धा दिनेछ ।
रिपोर्टले जनाएअनुसार गाडीको कुल वजन ३३०० किलोग्राम हुनेछ । कम्पनीले यसको भारवहन क्षमता (सामान बोक्ने क्षमता) १००० किलोग्रामभन्दा बढी राख्ने जनाएको छ, जुन व्यावसायिक प्रयोजनका गाडीहरूका लागि एक महत्त्वपूर्ण मापदण्ड हो ।
यसका साथै आफ्नो वर्गको मानक बराबर ३५०० किलोग्रामको ब्रेक सहितको तान्ने क्षमता प्रदान गर्नेछ, जुन गह्रुँगो सर–सामान वा ट्रली तान्नका लागि उत्कृष्ट मानिन्छ ।

एमजीले पिकअप गाडीको वर्गमा आफ्नो उपस्थिति जनाउने भएको छ ।
एमजीको मातृ कम्पनी ‘एसएआईसी’ को ‘म्याक्सस’ नामक व्यापारिक चिन्हको अर्को पुस्ताको आधार (प्लेटफर्म)मा यो नयाँ मोडल बन्ने जनाइएको छ । अष्ट्रेलियामा ‘म्याक्सस’लाई ‘एलडीभी’ नामले चिनिन्छ ।
यसको अर्थ, यो गाडी हालको ‘एलडीभी टी ६०’ को एक परिष्कृत स्वरूप हुनेछ । तर यसलाई एमजीको आफ्नै व्यापारिक चिन्ह र पहिचानमा विश्व बजारमा बिक्री गरिनेछ ।
यसको पूर्ण विद्युतीय सँस्करण पनि सार्वजनिक हुने पक्का भएको छ । यसले गर्दा यो गाडी बजारमा आउनासाथ विद्युतीय विकल्पमा उपलब्ध हुने पहिलो पिकअप मध्ये एक बन्नेछ ।

नेपाली बजारमा सम्भावना
एमजीले अष्ट्रेलियामा यो गाडी ल्याउने निश्चित गरिसकेको छ । नेपालमा एमजीको बढ्दो लोकप्रियता र एसयूभी वर्गमा बलियो उपस्थिति हेर्ने हो भने, भविष्यमा यो शक्तिशाली पिकअप नेपाली बजारमा चाँडै भित्रिने बताइएको छ ।
यदि यो गाडी नेपाल भित्रियो भने यसले यहाँको पिकअप गाडीको बजारमा प्रतिस्पर्धा बढाउनेछ ।

