२५ असार २०८३, बिहीबार
विपत्ति पूर्वको तयारी

मञ्जुश्रीले काटेको चोभारको गल्छी फराकिलो बनाउने तयारी, समाधान होला राजधानीको बाढी ?

जेठ २६, २०८२
काठमाडौं

प्राचीन कालमा मन्जुश्रीले काठमाडौं उपत्यकाको पानी निकास गरी बस्नयोग्य बनाउन खड्गले काटेको भनिएको चोभारको गल्छीलाई फराकिलो बनाउने गृहकार्य शुरू भएको छ ।

विशेषगरी गत वर्ष उपत्यकामा आएको औसतभन्दा बढी वर्षाले बढेको बागमती नदी र नख्खु खोलाको मिश्रित पानीको बहाव रोकिएपछि चोभार क्षेत्रमा ठूलो भौतिक क्षति भएको थियो । 

मौसम पूर्वानुमान महाशाखाले यसपालि ३० वर्षयताकै औसत भन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । गत वर्ष बाढीको प्रकोपमा परेका चोभार आसपासका बासिन्दा यही विषयलाई लिएर चिन्तित देखिन्छन् ।

सरकारले पनि धनजनको क्षति रोक्न चोभारको गल्छीलाई केही चौडा बनाउने तयारी थालेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गत जेठ १४ गते बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औं बैठकले चोभार गल्छीमा हुन सक्ने नदी प्रवाह अवरोध रोक्न नेपाली सेनासँग समन्वय गरी काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

उक्त निर्णयमा भनिएको छ, 'अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरको क्षेत्रमा डुबान हुने गरेकाले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकताअनुसार नेपाली सेनासँग समेत समन्वय गरी विपद जोखिम न्यूनीकरण गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिने ।'

null

बागमती र नख्खु खोलाको निकासविन्दुका रूपमा रहेको चोभारको गल्छी साँघुरो छ ।

त्यसलाई अलि ठूलो बनाएर पानी निकासी गर्ने विषयमा आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायतको टोलीले फिल्ड अनुगमन गरेको थियो ।

उक्त टोलीमा रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्राविधिक उपसचिव राजेन्द्र शर्माले लोकान्तरसँग भने, 'गल्छीको दायाँ–बायाँ रहेको वालमा लाइमस्टोन रहेको र तुलनात्मकरूपमा कच्चा हुने भएकाले पहिरो झरेर थप पानी रोकिने सम्भावना पनि देखिन्छ ।'

दायाँ-बाँया केही रूख पनि भएकाले विपदको समयमा ती रूखहरू ढलेर त्यहाँ बाँधजस्तो संरचना बन्न सक्ने सम्भावना रहेकाले त्यसो हुन नदिन काम भइरहेको उनको भनाइ थियो । त्यसका लागि नेपाली सेनालाई निर्णयको कपी उपलब्ध गराइसकिएको छ । सेना उक्त निर्णय अध्ययनकै क्रममा छ ।

नेपाली सेनाका सूचना अधिकारी राजाराम बस्नेतले लोकान्तरसँग भने, 'निर्णय यहाँ आइसकेको छ । काम कसरी गर्ने भन्ने अध्ययन गरिरहेका छौं । अन्य निकायसँग पनि समन्वय गर्ने काम जारी छ ।

अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका उप–आयोजना निर्देशक उद्धव नेपालले पनि नेपाली सेनाको निर्णय कुरेको बताए ।

'चोभारको गल्छी चौडा गर्नेबारे छलफल चलिरहेको छ । नेपाली सेनाले त्यसको अध्ययन गरिरहेको छ । विस्फोट गरेर चौडा गर्ने कि अन्य कुनै उपाय अपनाउने भन्नेबारे सेनाले निर्णय गरेपछि काम अघि बढ्ला,' नेपालले भने ।

जल तथा मौसम विज्ञान विभागको चेतावनी र स्थानीयको डर

जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशैभर औसतभन्दा बढी वर्षा हुने चेतावनी दिएको छ । यो वर्ष विगत ३० वर्षयताकै धेरै पानी पर्ने चेतावनीसँगै औसत तापक्रम पनि बढ्ने विभागको भनाइ छ । सरकारले बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढीजस्ता मनसुनजन्य विपदको जोखिम बढी भएको आकलन गरेको छ ।

null

गृह मन्त्रालय अन्तर्गतको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो मनसुनमा करिब २० लाख मानिस प्रभावित हुने आकलन गरेको छ, त्यसमध्ये १० प्रतिशत अर्थात् २ लाख मानिस प्रत्यक्ष प्रभावित हुने सरकारको आकलन छ ।

यससँगै गत वर्ष बाढीको उच्च प्रभावमा परेर पीडित भएकाहरू चिन्तित देखिन्छन् । लोकान्तर टीमले गत वर्ष डुबानमा परेको चोभार क्षेत्रका बासिन्दालाई यसबारे सोधेको थियो ।

स्थानीय पुष्पा अधिकारीले भनिन्, 'गत वर्षको बाढी मेरो घरको दोस्रो तल्लासम्म पुगेको थियो । अहिले पनि हामीले भुईँ तलामा केही समान राखेका छैनौं । अलिकति आकाश अँध्यारो हुनेबित्तिकै डर लाग्छ ।'

उनले चोभारको गल्छीलाई चौडा गरेर पानीको सहज निकास गरिदिन सरकारसँग आग्रह गरिन् ।

अर्की स्थानीय विमला श्रेष्ठको पनि त्यस्तै पीडा छ । गत वर्षको बाढीले डुबानमा परेको आफ्नो घर अगाडिको बाटोसमेत ग्राभेल नगरिदिएको भन्दै उनले स्थानीय सरकारसँग गुनासो पोखिन ।

'पोहोर बाढी घरमा पसेर तहसनहस भयो । त्यसको पीडा एकातिर छँदैछ, अहिले फेरि मनसुन आउन थालिसक्यो । यो घर अगाडिको बाटो पनि अहिलेसम्म जस्ताको त्यस्तै छोडेको छ । यसपालि अझ धेरै वर्षा हुने भनेर समाचारमा आइरहेको छ । त्यसले चिन्ता थपिएको छ,' श्रेष्ठले भनिन् ।

यसबारे लोकान्तरले गरेको भिडियो रिपोर्टिङ हेर्नुहोस्:

 

salt training

कमेन्ट गर्नुहोस्