२९ असार २०८३, सोमबार

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’मा ईकोलुपले जित्यो प्रथम उपाधि

जेठ २६, २०८२
काठमाडौं
एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’मा ईकोलुपले जित्यो प्रथम उपाधि

विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसी र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रियस्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ । 

फोहरमैला व्यवस्थापनमा केन्द्रित यस किसिमको यो पहिलो ह्याकाथनमा सहभागिताका लागि ४०० भन्दा बढी आवेदक रहेका थिए  । अन्तिममा १३ उत्कृष्ट टोली छनोटमा परेका थिए । यसरी छानिएका टोलीले प्रविधिमा आधारित समाधान प्रस्तुत गर्दै नेपालको फोहोर व्यवस्थापन समस्याको समाधानतर्फ नवीन पहल प्रस्तुत गरेका थिए ।

थापाथली क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूको टिम ईकोलुपले ट्र्यास डिजिटाइज शीर्षकअन्तर्गतको आफ्नो नवीन सोलुसन्स/समाधान प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । 

यो टिमले फोहोर वर्गीकरण गर्ने, ट्र्याक गर्ने र उत्तरदायी बन्दै व्यवस्थापन गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने डिजिटल प्लेटफर्मको प्रोटोटाइपको विकास गरेका छ । टिमका सदस्यहरूमा नितेश कुमार साह, धर्मेन्द्र सिंह चौधरी, रमेश कठायत र विपिन कुमार मरासिनी रहेका छन्।

त्यसैगरी, किङ्स कलेज नेपालका विद्यार्थीहरूको फुलस्ट्याकजिरोवेस्ट टिमले ल्यान्डफिल टु सरकुलेटरी शीर्षकअन्तर्गत उत्कृष्टता प्रदर्शन गर्दै फस्ट रनर अफ अर्थात दोश्रो स्थान प्राप्त गर्‍यो । सो टिममा कजेलका अंशु रेग्मी, रोजन श्रेष्ठ र कबिश पोख्रेल रहेका थिए  ।

null

सेकेन्ड रनर अफ अर्थात तेस्रो स्थान काठमाडौं विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स विभागका विद्यार्थीहरूको टिम सोर्स कोडले हासिल गरेको थियो । यो टिममा अमन कुमार झा, अंशु पटेल, भवुक थापा र आयुष गौतम थिए र उनीहरुले वेस्ट विथआउट स्मोक शीर्षक अन्तर्गत डेटा र एआईमा आधारित समाधान विकास गरेका थिए । यो समाधानले नगरपालिकालाई फोहोर व्यवस्थापन अनुकूलन र कार्बन उत्सर्जन ट्र्याक गर्न सहयोग पुऱ्याउँछ। 

कार्यक्रमको समापन समारोहमा उपस्थित वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘नेपाललाई यस्तै स्थानीयस्तरमा आधारित नवीन सोलुसन्सहरू आवश्यक छ । फोहोर केवल वातावरणीय मुद्दा मात्र होइन, सामाजिक तथा आर्थिक विषय पनि हो र यस कार्यक्रममा सहभागी युवाहरूले समाधानको सम्भावना देखाएका छन् ।’

यस कार्यक्रमले सर्कुलर इनोभेसनतर्फ नेपालको साहसी यात्रा प्रारम्भ गरेको संकेत गरेको छ । युवावर्ग, प्रविधिविद् तथा वातावरणमा सकारात्मक परिवर्तन ल्याउने ईच्छाशक्ति भएका युवाहरूको सहभागितामा आयोजना गरिएको ह्याकाथनले सहकार्य र सृजनशिलता उजागर गरेको फाउन्डेसनले जनाएको छ । सहभागी टिमहरूले स्मार्ट फोहोर वर्गीकरण प्रणाली, पुनःप्रयोग प्रविधि, सामुदायिक कम्पोस्टिङ समाधान तथा डेटा–सञ्चालित ट्र्याकिङ् प्रणालीजस्ता विषयमा प्रोटोटाइप प्रस्तुत गरेका थिए ।

‘यो कार्यक्रम केवल प्रतियोगिता थिएन, सिभिक इनोभेसनकोलागि एक प्लेटफर्म पनि थियो जहाँ युवाहरूले प्रविधि र उद्देश्यको माध्यमबाट हरित भविष्य निर्माण गर्ने दिशामा योगदान दिए । एनसेल फाउन्डेसन सधैं यस्ता परिवर्तनकर्ताहरूलाई सशक्त बनाउन प्रतिबद्ध छ’, एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् । 

खालिसिसीकी संस्थापक तथा अध्यक्ष आयुषी केसीले भनिन्, ‘हाम्रो उद्देश्य जनचेतना मात्र फैलाउने होइन, व्यवहारिक समाधान पहिचान गर्दै विद्यार्थी, प्रविधिविद् र विशेषगरी महिला नवप्रवर्तनकर्ताहरूलाई सशक्त बनाउनु पनि हो।’

null

अन्तिम तीन विजेता टोलीहरूले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ)बाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्नेछन्, साथै खालिसिसी, बूढानीलकण्ठ नगरपालिका र सीएनआईवाईइएफको सहकार्यमा पाइलट योजना कार्यान्वयनको अवसर प्राप्त गर्नेछन् ।

यस ह्याकाथनमा ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म, धुवाँविनाको फोहर, फोहरमा महिलाको उद्यमशीलता र डिजिटाइज ट्र्यास गरी चार मुख्य विषयगत क्षेत्रहरूमा केन्द्रित रहेर युवाहरूले आफ्नो प्रस्तुती गरेका थिए । अन्तिम चरणमा पुगेका टोलीहरूमध्ये ४० प्रतिशत भन्दा बढी टोली महिला नेतृत्व वा सह–नेतृत्वका थिए, जसले समावेशी सहभागिता बढ्दै गएको संकेत गर्दछ ।

यस ह्याकाथनले निजी क्षेत्र, सरकारी निकाय र सिभिक इनोभेटर्सहरूबीचको प्रभावकारी सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्‍यो । कार्यक्रमको सह–आयोजकमा गोल्यन समूह रहेको थियो । यस कार्यक्रमलाई प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सीएनआईवाईईएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट र व्यापार पाठशालाले सहयोग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्