
अमेरिकाको दोस्रो ठूलो शहर लस एन्जलसमा हिंसात्मक प्रदर्शनपछि ठूलो संख्यामा मानिसहरूलाई पक्राउ गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शहरमा २ हजार १०० राष्ट्रिय गार्डसँगै ७०० मरीन सिपाहीहरू तैनाथ गरेका छन् । यसले राजनीतिक विवाद पनि निम्त्याएको छ ।
हिंसात्मक प्रदर्शनका क्रममा लस एन्जलसमा धेरै सवारी साधनहरूमा आगजनी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । धेरै ठाउँमा लुटपाटसमेत भएको रिपोर्ट आएको छ।
आइतबार सान फ्रान्सिस्कोमा पनि विरोध प्रदर्शन भएको थियो। विरोधमा संलग्न १०० भन्दा बढी व्यक्तिहरूलाई हिरासतमा लिइएर रिहा गरिएको थियो।
मे १९९२ मा भएको दंगाको समयमा लस एन्जलसमा लगभग १५०० मरीन सैनिकहरू तैनाथ गरिएका थिए। तत्कालीन राष्ट्रपति जर्ज एच. डब्लु. बुशले मरीन सैनिकहरू तैनाथ गर्न विद्रोह ऐन प्रयोग गरेका थिए।
यो कानूनले राष्ट्रपतिलाई घरेलु स्तरमा नागरिक अधिकारीहरूलाई सहयोग गर्न अमेरिकी सैन्य कर्मचारीहरू प्रयोग गर्ने शक्ति दिन्छ।
क्यालिफोर्नियाका गभर्नर गेभिन नुसमले यो अत्यन्त गम्भीर विषय भएको बताएका छन् । लस एन्जलसमा ट्रम्पको निर्वासन नीतिअन्तर्गत शुक्रबार अवैध आप्रवासीहरूविरुद्ध छापा मारिएको थियो।
छापाको विरोधमा त्यहाँ विरोध प्रदर्शन शुरू भएको हो । जुन हिंसात्मक झडपमा परिणत भएको हो ।
अमेरिकाको अध्यागमन विभागले धेरै अवैध आप्रवासीहरूलाई हिरासतमा लिएको थियो। यो घटनापछि लस एन्जलसको अवस्था धेरै तनावपूर्ण छ। धेरै दिनको हिंसात्मक झडपपछि प्रहरीले सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
यहाँ ८२ प्रतिशतभन्दा बढी जनसंख्या हिस्पैनिक (मध्य र दक्षिण अमेरिकी देशका मानिसहरू) छन्।
राष्ट्रपति ट्रम्पको प्रशासनले आप्रवासन छापा मार्ने कार्यलाई तीव्र बनाएको छ, जसमा गत महिना संघीय एजेन्टहरूलाई प्रतिदिन ३ हजार मानिसहरूलाई पक्राउ गर्न आदेश दिइएको थियो।
१९६५ पछि यो पहिलो पटक हो कि राज्य गभर्नरको अनुरोध बिना नै राष्ट्रिय गार्डलाई कुनै राज्यमा तैनाथ गरिएको छ।
क्यालिफोर्नियाका गभर्नर गेभिन नुसमले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्। मुद्दामा उनले राष्ट्रपति ट्रम्पलाई १० औं संशोधनअन्तर्गत राज्य सरकारको अधिकारमा अतिक्रमण गरेको आरोप लगाएका छन् ।