
न्युट्रास्युटिकल (खाद्यपूरक) वस्तुको आयातमा ठूलो अनियमितता गरेको आरोपमा पक्राउ परेका न्युट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष विपिन झा १ करोड ५० लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
राजस्व अनुसन्धान कार्यालय इटहरीले झालाई धरौटीमा रिहा गरेको पुष्टि गरेको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीले झालाई लामो समयको निगरानीपछि पक्राउ गरेको थियो । उनीमाथि भारतबाट खाद्यपूरक सामग्री तथा भिटामिन तस्करी गरेर नयाँ मिति टाँसी पुनः बजारमा पठाउनेजस्ता गम्भीर आरोप लागेको थियो । उनले म्याद सकिएका उत्पादनमा केमिकल प्रयोग गरेर उत्पादन तथा म्याद मेटाउने गरेको समेत अनुसन्धानमा खुलेको छ ।
राजस्व छली प्रकरणको शुरूआत २०८१ साल पुस २८ गते भएको थियो । विराटनगर–६ स्थित बीएफईम पूर्व भूमि मार्गमा रहेको झाको तीनतले निजी घरमा प्रदेश प्रहरी कार्यालय, मोरङ प्रहरी र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो । उक्त घरको भूइँतला र दोस्रो तलाका तीनवटा कोठा गोदामका रूपमा प्रयोग गरिएको पाइएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरू बताउँछन् ।
छापाको क्रममा १४ भन्दा बढी ब्रान्डका न्युट्रास्युटिकल र मल्टिभिटामिनहरू बरामद गरिएका थिए । बरामद भएका अधिकांश सामाग्रीको म्याद सकिएको अवस्थामा भेटिएको थियो । ती उत्पादनहरूमा पुनः नयाँ मिति टाँसिएको फेला परेको थियो ।
राजस्व अनुसन्धान कार्यालयले प्रारम्भिक प्रमाण संकलन गरी झामाथि छानबिन अघि बढाएको थियो । तर, प्रारम्भिक अनुसन्धानमै उनलाई धरौटीमा छाडिएको विषयले भने प्रश्न उठाएको सरोकारवालाहरू बताउँछन् ।
कार्यालयले मुख्य अभियुक्तलाई धरौटीमा छाडेर उनका गाडी चालकलाई मात्र पक्राउ गरेको थियो । यही कमजोरीको फाइदा उठाउँदै झा भारत फरार भएका थिए । उनी त्यहाँ तीन–चार महिनासम्म लुकेर बसेपछि मात्रै पुनः विराटनगर फर्किएका थिए । पुनः फर्किएपछि झालाई गत जेठ ८ गते पक्राउ गरेर उच्च अदालत विराटनगरमार्फत् म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा झाले भारतबाट न्युट्रास्युटिकल सामाग्री ल्याएर नेपालमा बजार मूल्यको दश गुणासम्म मूल्य तोकेर बिक्री गरेको पुष्टि भएको अनुसन्धानमा खटिने अधिकृतहरू बताउँछन् । झाले भारतबाट न्युट्रास्युटिकल आयात गर्ने सप्लायर्सको व्यवसाय विगत एक दशकदेखि सञ्चालन गर्दै आएका थिए । उनले भारतबाट न्युट्रास्युटिकल सस्तो मूल्यमा ल्याएर नेपालमा स्वनिर्धारित मूल्यमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार, झाले भारतमा ५० रूपैयाँ पर्ने न्युट्रास्युटिकल नेपाल ल्याएर पाँच सयसम्मको दरमा बिक्री गर्ने गर्थे । उनले बिक्रीका लागि भ्याट बिल प्रयोग नगरी ‘प्यान बिल’ दिने गरेका थिए ।
यस घोटालामा केही चिकित्सकहरूको समेत संलग्नता रहेको अनुसन्धानमा खुलेको छ । झाले म्याद सकिएका उत्पादनमा केमिकल प्रयोग गरेर पुरानो मिति मेटाउने र त्यसमा नयाँ मिति टाँस्ने काम व्यवस्थित रूपमा गर्दै आएको पुष्टि भएको छ । उक्त गोदामबाट उत्पादन मिति, म्याद सकिने मिति र मूल्य टाँस्न प्रयोग गरिने स्टिकरहरू समेत बरामद गरिएको छ । म्याद सकिएको खाद्यपूरक पदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने डा. उमेश साह बताउँछन् ।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख उत्तम कुमार घिमिरेले झालाई अनुसन्धानपश्चात धरौटीमा छाडिएको जानकारी दिए । ‘अनुसन्धान अझैं जारी छ । छिट्टै घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा छौं,’ घिमिरेले भने ।
राजस्व अनुसन्धान कार्यालयले घटनाको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । न्युट्रास्युटिकल बजारमा नियमनको अभावका कारण यसप्रकारको ठगी बढेको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।
सस्तोमा आयात गरेर म्याद फेरबदल गरेर महँगोमा बिक्री गर्ने प्रवृत्तिले स्वास्थ्य क्षेत्रप्रति जनताको विश्वास कमजोर भएको छ । साथै, गैरकानूनी रूपमा चिकित्सकसँग मिलेर सिफारिस गराउने प्रवृत्तिले चिकित्सकको नैतिकतामाथि पनि प्रश्न खडा भएको छ ।